बाजुराको बुढीगंगामा फेरि चुनाव गर्ने निर्णयको चर्को विरोध

नेपाल भ्युज

बाजुराको बुढीगंगामा फेरि चुनाव गर्ने निर्णयको चर्को विरोध

धनगढी। बाजुराको बुढीगंगा नगरपालिकाका १० ओटै वडामा फेरि चुनाव गर्ने निर्णयको बाजुरामा चर्को विरोध भएको छ। बिहीबार निर्वाचन आयोग नेपालले बुढीगंगामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो।

सो निर्णयको विरोधमा सदरमुकाम मार्तडी र बुढीगंगा नगरपालिकाका डाव, फालासैन, ताप्रिसेरा लगायतका आधा दर्जन स्थानमा विरोध जुलुस, चक्काजाम र प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले वैशाख ३० गते भएको मतदानको मत गणनाको माग राख्दै सरकार, जिल्ला प्रशासन, प्रहरी र निर्वाचन आयोगको विरोध गरेका छन्।

बुढीगंगाका २,३, ५ र ९ नम्बर वडामा एमालेले धाँदली गरेको आरोप लगाउदै कांग्रेसले फेरि चुनावको माग गरेको थियो। भने कांग्रेसले पनि ४ र ७ नम्बर वडामा धाँधली गरेको जिकिर एमालेको छ। तर एमालेका तर्फबाट बुढीगंगाका मेयरका उम्मेदवार रामबहादुर बानियाँले आफू चुनाव हार्ने भएपछि सत्ताको दुरुपयोग गरेर कांग्रेसले अनेकौं तिकडम गरिरहेको बताउँछन्।

बानियाँले वैशाख ३० गतेकै मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालतमा रिट दिइएको बताए। उनले उच्च अदालतले निर्णयमा ढिलाइ गरेकोले सर्वोच्च अदालतमा पनि रिट दिइएको बताए। वैशाख ३० गतेको चुनावका दिन कांग्रेसले अनेक हतकण्डा अपनाएका एमालेको बुझाइ छ। त्यही हतकण्डा अनुसार वडा नम्बर २, ३ र ९ को मतपेटिकासमेत छोडेर सुरक्षाकर्मी हिँडेका थिए। पछि दबाब थेग्न नसकेपछि मतपेटिका लगिएको थियो।

यसैका कारण निर्वाचन आयोगले अहिलेका सीडीओ, डीएसपी, सशस्त्रका प्रमुखलाई तुरुन्तै परिवर्तन गर्न पनि भनेको छ। निर्वाचनमा उनीहरू जिम्मेवार नदेखिएको आयोगको ठहर छ।

वैशाख ३० गतेको निर्वाचनमा बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले निर्वाचनमा गम्भीर लापरबाही गरेर निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ।

निर्वाचन आयोगले फेरि चुनावको मितिका लागि वातावरण बनाउन गृह मन्त्रालय र बाजुराको निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ।

एमालेले कांग्रेसलाई अनेक हतकण्डा अपनाएको आरोप लगाएको भए पनि कांग्रेस पक्षले भने एमालेले २,३, ५ र ९ मा बुथ कब्जा गरेका कारण समस्या सिर्जना भएको आरोप लगाउने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved