माधव नेपालको आशंका : गलत मनसायले निजगढ विमानस्थलको निर्माण रोकियो !

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

नेपाल भ्युज

माधव नेपालको आशंका : गलत मनसायले निजगढ विमानस्थलको निर्माण रोकियो !
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गलत मनसायले निजगढ विमानस्थलको निर्माण रोकिएको आशंका व्यक्त गरे। उनले यसकाे सुक्ष्म अध्ययन हुनुपर्ने बताए।

‘‘निर्माणाधिन निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडि गलत मनसाय बोकेका तत्वको भूमिका हुन सक्छ! खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो त ?’’  संसदमा उनले भने, ‘‘रोक्नुपर्ने कुनै कारण नै छैन। यो रोकिनुमा पक्कै कुनै तत्वले काम गरेको छ। सरकारले यसको सुक्ष्म अध्ययन गर्न आवश्यक छ।’’

सर्वोच्च अदालतले बिहीबार निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको थियो।

सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरी निजगढको विकल्प खोज्न आदेश दिएको हो।

सरकारको नीति तथा कार्यक्रममा समेत निजगढ विमानस्थल बनाउने प्रस्ताव समेटेको थियो। तर अब सर्वोच्चको यो आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव सधैँका लागि सकिएको छ।

निजगढ विवादकाे विषय १७ मंसिर, २०७६ मा सर्वोच्चमा प्रवेश भएको थियो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved