वीरबाहेक आइतबार पनि खुले सरकारी अस्पताल, मन्त्रालय भने अझै निर्णयविहीन

सरकारले तोके अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिँदा अस्पतालको सेवा प्रवाहमा पर्ने प्रभावलाई ध्याद राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक-पटक छलफल गरे पनि अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन।

वीरबाहेक आइतबार पनि खुले सरकारी अस्पताल, मन्त्रालय भने अझै निर्णयविहीन

काठमाडौं। सरकारले हप्ताको एक दिने साप्ताहिक बिदालाई दुई दिन गर्ने निर्णय  गरे पनि आज (८ जेठ) काठमाडौं उपत्यकाको वीर अस्पतालबाहेक अन्य सबैजसो अस्पताल सञ्चालनमा आएका छन्।

त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगायतका ठूला अस्पताल सञ्चालनमा आएका हुन्।

“सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि हामीले कुनै सेवा बन्द नगरि काम गरिरहेका छौं, मन्त्रालय र हाम्रो समितीले के भन्छ त्यहि अनुसार गर्छौ”, शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले भने, “सकभर हामी बन्द गर्दैनौँ होला। के कति सुविधा दिएर हुन्छ हामी सेवालाई निरन्तरता दिन्छौं।”

दुई दिने साप्ताहिक बिदा कार्यान्वयन गर्ने, नगर्ने विषयमा स्वास्थ्य मन्त्रालय र केन्द्रको सञ्चालक समितिले गर्ने निर्णयको पर्खाईमा आफूहरू रहेको उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले अत्यावश्यक सेवामा बाधा पुग्ने भएकाले दुई दिन अस्पताल बन्द गर्न नमिल्ने बताए। “कुकुरले टोकेका बिरामीलाई तत्कालै सुई दिनुपर्ने भएकाले दुई-दुई दिन बन्द गर्न मिल्दैन”, उनले भने।

दैनिक १५ सय देखि दुई हजारका हाराहारीमा बिरामी आउने देशकै जेठो वीर अस्पतालले भने दुई दिने साप्ताहिक बिदा कार्यान्वयन गर्‍यो।

अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णय अनुसार नै बिदा गरेको बताए।

“ओपीडीमा आज आउने बिरामी भोली आउँदा फरक पर्दैन, हाम्रो इमरजेन्सी त सातै दिन, २४ घण्टा चलिहाल्छ”, डा. बस्नेतले भने, “त्यसैले धेरै नै असुविधा पर्छ जस्तो लाग्दैन तर शुरु-शुरुमा पाइरहेको सुविधा कटौती भएको जस्तो लाग्नु स्वाभाविक हो।”

‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले वर्षौंदेखि दुई दिने साप्ताहिक बिदा दिँदा केही असुविधा नभएको र बिरामीले सेवा पाइरहेको उदाहरण दिँदै डा. बस्नेतले यसरी साप्ताहिक बिदा दिने वीर पहिलो अस्पताल नभएको जिकिर गरे। अरू सरकारी संस्थाको काम गर्ने समय बढेजस्तै वीर अस्पतालले पनि हप्ताका बाँकी पाँच दिनमा एक घण्टा समय बढाइएको जानकारी दिए।

“अस्पताल हामीले बन्द गरेका होइनौँ, यो त सरकारले बिदा गरेको सम्झिनुपर्छ, हामीले त सरकारको नियम मानेको मात्रै हो। जसले अहिले अस्पताल खोलिरहेका छन् उनीहरूले सरकारको निर्णयलाई अवज्ञा गरेका हुन्”, डा. बस्नेतले भने।

मन्त्रालयले अस्पतालको हकमा बेग्लै निर्णय नगरेकाले सरकारको आदेश पालना गरेको उनले दाबी गरे।

सरकारले तोके अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिँदा अस्पतालको सेवा प्रवाहमा पर्ने प्रभावलाई ध्याद राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक-पटक छलफल गरे पनि अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समितकुमार अधिकारी भन्छन्, “अस्पतालले आकस्मिक सेवा सञ्चालन गर्ने, ड्युटी लगाउने कुरा पहिलोकै अनुसार गरिहाल्नुहुन्छ। बहिरंग सेवा के गर्ने भन्ने विषयमा छलफल भइरहेको तर के गर्ने भन्ने बारे निर्णय भने आइसकेको छैन्।”

पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी भने स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा दुई दिन बहिरंग सेवा बन्दा गर्दा बिरामीलाई निकै मर्का पर्ने धारणा राख्छिन्।

“दुरदराजबाट बल्ल बल्ल उपचार गराउन गएका बिरामीहरूलाई त शनिबार, आइतबार भने नै हेक्का हुँदैन। उनीहरू जहिले सुविधा मिल्छ त्यति बेला नै उपचार गराउन जाने हो तर यसरी दुई दिन बिदा भइदिँदा के हुन्छ होला ?”,  उनले प्रश्न गरिन्।

वीर अस्पतालले दुई दिन सार्वजनिक बिदा नगरेर अन्य व्यवस्था गर्न उनले सुझाव दिइन्।

जनस्वास्थ्यविद् डा. शरद वन्त पनि बिना योजना दुई दिनको बिदा लागू गर्दा स्वास्थ्य सेवा प्रवाह अझै कष्टकर बन्ने ठान्छन्।

“शहरी क्षेत्रमा भन्दा पनि आकस्मिक सेवा सञ्चालन नभएका क्षेत्रमा दुई दिन साप्ताहिक बिदा हुँदा अझै बढी गाह्रो हुन्छ”, डा. वन्त भन्छन्, “स्वास्थ्य सेवालाई छिटोछरितो बनाउँदै लैजानुपर्न बेलामा यस्तो निर्णय गर्दा बिरामीलाई मर्का पर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved