शहरी क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गरिने

नेपालभ्युज

शहरी क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गरिने

काठमाडौं। निर्वाचन आयोगले शहरी क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गरिने बताएको छ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सर्वदलीय छलफलपछि शहरी क्षेत्रमा आज रातिदेखि नै मतगणना कार्य शुरू हुने जानकारी दिए। मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको थियाे।

प्रवक्ता शर्माले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचनमा केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन्।

उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved