उम्मेदवार भाेट माग्छन्, मतदाता खानेपानी

सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन्।

नेपालभ्युज

उम्मेदवार भाेट माग्छन्, मतदाता खानेपानी

ललितपुर। टीकाथलीका कृष्णमान श्रेष्ठको घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन्।

घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उनले बताए। सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन्। पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उनको गुनासो छ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताए। मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासका पालिकामा पानी पर्याप्त हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा भने पानीको समस्या छ।

नगरपालिकाका अधिकांश वडा हुँदै जाने ग्वार्खो–लामाटार सडक निर्माण भए पनि भित्री सडक निर्माण हुन बाँकी छ। उनले भने, “मुख्य सडकका भित्र भित्रसम्म बाक्लो बस्ती भएकाले सडक ढलान वा पिच गर्नुपर्छ।”

इमाडोलकी सरिता केसीले विगतका निर्वाचनमा भोट माग्न जानेले आफूले जितेपछि खानेपानीको समस्या हटाउने भनेको र यो पटक पनि दोहोराएको बताइन्। नगरका मुख्य सडकको अवस्था राम्रो भए पनि सहायक सडकमा ध्यान दिनुपर्ने उनले उम्मेदवारलाई सम्झाउने गरेकी छिन्। उनले भनिन्, “यो पटक काम गर्ने हेरेर मात्रै भोट हाल्छु।’’

स्थानीय तहको निर्वाचन हुन दुई दिनबाँकी हुँदा महालक्ष्मी नगरपालिकामा सबै दलका उम्मेदवारले विभिन्न माध्यममार्फत मत मागिसकेका छन्। नगरवासीको घरघरमा पुग्ने उम्मेदवारसँग उनीहरूले व्यवस्थित शहरीकरणको माग गरेका छन्। सडक सुधार, खानेपानीको उपलब्धतता, ढल निर्माण, फोहर व्यवस्थापनमा ध्यान दिन उनीहरूले उम्मेदवारलाई भनेका छन्। सबै उम्मेदवारले पनि यिनै कुरालाई मुख्य चुनावी एजेण्डा बनाएको पाइन्छ। अहिले यहाँको सडक कतै निर्माणको क्रममा छ भने कतै विस्तारको क्रममा रहेको छ।

महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन्। सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved