चुनावमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

नेपालभ्युज

चुनावमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।

३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि सरकारीस्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको जानकारी दिँदै मतदातालाई संयमित भएर मतदान गर्न सरकारले आग्रह गरेको हो।

एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर निर्वाचनका लागि चुस्त, दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए।

प्रवक्ता पोखरेलले भने, ‘‘अहिलेको परिस्थिति हेर्दा सरकारीस्तरबाट सम्पूर्ण श्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ। सबै राजनीतिक दलहरु, नागरिक, नागरिक समाज पनि सुरक्षा व्यवस्थापनमा लाग्नुभएकाले निर्वाचन शन्तिपूर्ण रुपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौँ।’’

प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे। विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन उनले अनुरोध गरे।

प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिए। उनले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे।

प्रवक्ता पोखरेलले भने, ‘‘निर्वाचन भीड जम्मा हुने ठाउँ हो। छिमेकी देशमा कोरोना संक्रमण बढेको छ, खुला सीमाना छ। निर्वाचनमा भाग लिनका लागि देश, विदेशबाट नेपाली नागरिकहरु आउनुहुन्छ। हामीले उहाँहरुलाई बोर्डर क्षेत्रमा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा हेल्थ डेस्कहरु राखेका छौँ। भारतबाट आउने नागरिकहरु पनि संवेदनशील हुन जरुरी छ।’’

उनले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । सबै नागरिक संवेदनशील भएमा सम्भावित जोखिमलाई टार्न सकिने उनले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि कोरोनाको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको बताए। स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न उनले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved