स्थानीय निर्वाचन २०७९

घरको कुशल व्यवस्थापन गरेकी महिला हुँ, महानगरपालिका नेतृत्व गर्न सक्षम छुः सिर्जना सिंह

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल महिला संघले काठमाडौंको मेयरका रुपमा मलाई प्रस्ताव गर्दा भने म अचम्मित परेको थिएँ। त्यसैले मेरो उम्मेदवारीमा मेरो श्रीमानको भूमिका थियो भन्नु गलत हुन्छ।

नेपालभ्युज

घरको कुशल व्यवस्थापन गरेकी महिला हुँ, महानगरपालिका नेतृत्व गर्न सक्षम छुः सिर्जना सिंह

नेपाली कांग्रेसका चर्चित नेता गणेशमान सिंहको बुहारी भए पनि आफ्नै राजनीतिक विगत भएकी महिला उम्मेदवार हुन्, सिर्जना सिंह। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघको राजनीति गरेर शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्ष समेत भएकी सिंह वैवाहिक जीवनपछि भने नेपथ्यमा परिन्।
काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनले नेपाली कांग्रेसको तर्फबाट सिंहलाई मेयर पदको उम्मेदवार उठाएपछि उनी सतहको राजनीतिमा आउने तरखरमा छिन्। उनीसँग पुरुषोत्तम पौडेल र भागीरथी पण्डितले गरेको कुराकानीः

तपाईंको उम्मेदवारी किन?

मेरो उम्मेदवारी काठमाडौंलाई सफा गर्नका लागि हो। अस्तव्यस्त काठमाडौंलाई व्यवस्थित गर्नकै लागि मेरो उम्मेदवारी हो।

काठमाडौं सफा नै गर्नका लागि तपाईंको उम्मेदवारी किन आवश्यक पर्यो, यो त अन्य उम्मेदवारले गर्न नसक्ने काम हो र?

म नेपाली कांग्रेसको एक कार्यकर्ता हो। २०३३ सालबाट नै म कांग्रेसको राजनीतिमा संलग्न व्यक्ति हो। मेरो युवावस्था यो देशको प्रजातन्त्र स्थापनाका लागि समर्पित थियो। पञ्चायतकालमा मैले हनुमानढोकाको चिसो छिंडीमा बिताएको छु। विवाहपछि मेरो परिवार सबै राजनीतिमा संलग्न भएका कारण म घर व्यवहारमा लागेँ। यो अवधिमा पनि म कुनै पदमा नबसे पनि राजनीतिमा भने रहँदै आएको थिए। त्यसैले म काठमाडौंको मेयरका लागि फुत्त आएको होइन। म सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुँ। मेरो सामाजिक सञ्जाल हेर्ने हो भने पनि म राजनीति र समाजिक कार्यमा कत्तिको सक्रिय छु भन्ने देख्न सकिन्छ। पार्टीको राजनीतिमा मेरो योगदान पार्टीका नेता र समाजिक अभियन्ता रहेको सबैलाई थाहा छ। त्यसैले पनि मेरो योगदानकै कारण पार्टीले मलाई काठमाडौंको मेयर पदको उम्मेदवार बनाएको हो।

राजनीतिक नेपथ्यबाट सम्मुखतर्फको यात्रा

सामाजिक सञ्जालको चर्चा गर्नु भयो। तर, ट्वीटरमा तपाईंले आफ्नो परिचय नेपाल महिला संघको सल्लाकार, समाजसेवीदेखि दुई सन्तानको आमाका रुपमा दिनुभएको छ। तपाईं राजनीतिमा नै हुनुहुन्थ्यो भने एक नेताको रुपमा आफ्नो परिचय किन नदिनुभएको ?

मेरो आफ्नो समाजिक सञ्जालमा समाजसेवीका रुपमा र नेपाल महिला संघको सल्लाकारका रुपमा आफ्नो परिचय दिएको छु। मैले कुनै राजनीतिक पद नलिएका कारण नेताको रुपमा आफ्नो परिचय नदिएको हो। आफू जे होइन त्यो परिचय दिन मन नलागेका कारण मैले आफूले आफूलाई नेताका रुपमा परिचय नगराएको हो। नेता त म भर्खर बन्न लागेको छु। विद्यार्थी राजनीति गर्दा म विद्यार्थीको नेता थिएँ तर विवाहपछि कुनै राजनीतिक पद नलिएका कारण नेताका रुपमा आफ्नो परिचय नदिएको हो।

कांग्रेसभित्र लामो समयदेखि राजनीतिमा सक्रिय रहेका व्यक्ति छन्। उनीहरूलाई पछि पार्दै तपाईं अगाडी आउँदै गर्दा कांग्रेसको महाधिवेशनको समयमा तपाईंका श्रीमान र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको सहमति प्रमुख कारण हो भनिन्छ नि?

म काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार हुँदै गरेको कुरा मेरो श्रीमानलाई थाहा थिएन। त्यसैले महाधिवेशनमा मेरो श्रीमानले प्रधानमन्त्री देउवालाई सहयोग गरेका कारण मैले टिकट पाएको भन्ने विषय झुटो हो। म राजनीतिमा थिइनँ भन्नुको मतलव पद लिएको थिइनँ भनेको हो। नेपाल महिला संघको प्रमुख सल्लाहकारका रुपमा म सक्रिय नै थिएँ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल महिला संघले काठमाडौंको मेयरका रुपमा मलाई प्रस्ताव गर्दा भने म अचम्मित परेको थिएँ। त्यसैले मेरो उम्मेदवारीमा मेरो श्रीमानको भूमिका थियो भन्नु गलत हुन्छ। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा मेरा २०३६ सालका समकालीन साथीहरू बढी हुनुहुन्छ। सबैको सल्लाहमा नै मैले टिकट प्राप्त गरेको हो। २०७२ को भूकम्पको समयमा होस् वा कोभिड महामारीका समयमा म निरन्तर सक्रिय रुपमा लागेको थिएँ। महिला सशक्तिकरणका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु। मेरा सबै योगदानलाई मूल्यांकन गर्दै पार्टीले मलाई मेयर पदको उम्मेदवार बनाएको हो।

तपाईंले गर्नुभएको प्रतिबद्धता पूरा हुने आधार के छन् ? यी नारामै सिमित हुने हुन् कि?

म राजनीतिक परिवारबाट आएको व्यक्ति हुँ। राजनीतिक परिवारको सदस्य हुनुपूर्व म विद्यार्थी राजनीतिमा थिएँ। मैले यो देशको दुःख नजिकबाट देखेको छु। म काठमाडौंको मात्रै होइन देशभरको समस्या बुझ्न सक्छु। काठमाडौंको महानगरपालिका चलाउने सपना देख्नु पूर्व मैले घर चलाएको अनुभव छ। त्यसैले महानगरपालिकाभित्र सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने आधार मसँग छ। यहाँको फोहर व्यवस्थापनका लागि मसँग योजना छ। फोहोरलाई घरबाटै व्यवस्थापन गर्न सकियो भने बाटोसम्म आउँदै आउँदैन।

‘कन्ट्रोभर्सी किङ’को अग्निपरीक्षा बन्दैछ निर्वाचन

सुशासन, फोहर व्यवस्थापन र भ्रष्टाचार न्यूनीकरणका लागि तपाईंका योजना के छन्?

महानगरपालिकाभित्रका कर्मचारीदेखि निर्वाचित व्यक्तिहरूलाई अनुशासनमा राख्न सकेको अवस्थामा मात्रै पनि यहाँको भ्रष्टाचारलाई कम गर्न सकिन्छ। यसका लागि महत्त्वपूर्ण भनेको मेयरको व्यवस्थापन क्षमता हो। म ठूलो परिवारलाई व्यवस्थापन गरेर आएको व्यक्ति हुुँ। त्यसैले म काठमाडौंलाई राम्रोसँग व्यवस्थित गर्न सक्छु भन्नेमा विश्वस्त छु।

अहिलेको समय भनेका प्रविधिको समय हो। प्रविधिको सहयोगले धेरै काम घरबाटै गर्न सकिन्छ। अफिससम्म आउनुपर्ने झन्झट गर्नु पर्दैन। हामी काठमाडौं महानगरपालिकाका काम सेवाग्राहीले घरमै बसेर गर्नसक्ने व्यवस्था मिलाउँछौँ।

तपाईंले प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने स्रोत कहाँबाट जुटाउनुहुन्छ ?

महानगरसँग आफ्नै आर्थिक स्रोत छ। व्यवस्थापनको कम्जोरीका कारण मात्रै यहाँ समस्या देखिएको हो। काठमाडौं महानगरपालिकाको स्वच्छताका लागि ठूलो आर्थिक स्रोतको आवश्यकता नै पर्दैन।

काठमाडौं महानगरपालिकामा प्रमुख समस्या के हो जस्तो लाग्छ ?

सुशासन नहुनु, भ्रष्टाचार र फोहर मैलाको समस्या नै काठमाडौं महानगरपालिकाको प्रमुख समस्या हुन्। काठमाडौं महानगरपालिकामा पिएल सिंह मेयर हुँदा काठमाडौं महानगरपालिका जस्तो स्वच्छ थियो, अहिले त्यो छैन। काठमाडौंको मुहार फेर्न उहाँको नेतृत्वको महानगरपालिकाले ठूलो भूमिका खेलेको छ। उहाँको नेतृत्वपछिको काठमाडौंको अवस्था बिग्रिँदै गएको छ। यहाँका नदीनालादेखि सम्पदासम्म सबै अस्तव्यस्त छन्।

कोभिडका कारण शिक्षाको स्तर नै खस्केको छ। शिक्षाबारे तपाईंका केही योजना छन् कि?

कोभिडको असर अहिले धेरै कम भएको छ। म मेयरमा विजयी भएर आउँदासम्म कोभिडको समस्या झनै कम भएको हुने मेरो अपेक्षा छ। कोभिडका कारण शैक्षिक क्षेत्रमा मनोवैज्ञानिक असर पुगेको छ। कोभिड महामारीका कारण घरमै बस्नुपर्दा कति विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ। कतिपय अभिभावकको रोजगारी खोसिदा बालबालिकाको शिक्षामा असर पुगेको छ। यो समस्या बालबालिकामा मात्रै होइन अभिभावमा समेत समस्या देखिन्छ। यी समस्या समाधानका लागि म विशेषज्ञहरूसँग सल्लाह गरेर विशेष कार्यक्रम ल्याउनेछु।

स्वास्थ्य सेवालाई बलियो बनाउने कुनै योजना छन् कि ?

स्वास्थ्य सेवाका विषयमा मैले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नै उल्लेख गरेको छु। कोभिड संक्रमण भएका व्यक्तिलाई पहिलाको अवस्थामै फर्काउन सहयोग पुग्ने कार्यक्रम ल्याउनेछु। यस्तै प्रत्येक वडामा जेष्ठ नागरिकालाई सेवा प्रदान गर्ने हिसाबले स्वास्थ्य केन्द्र खोल्ने मेरो योजना रहेको छ। महानगरमा अहिले एउटा जनस्वास्थ्य केन्द्र मात्रै रहेको छ। त्यहाँ केही स्वास्थ्यकर्मी छन् जसले महानगरपालिकाको चापलाई सम्बोधन गर्न सक्दैन। यस्तो केन्द्र प्रत्येक वडामा आवश्यक पर्छ। यसरी जेष्ठ नागरिक र असहाय व्यक्तिलाई घर–घरमै सेवा पुर्याउने मेरो योजना रहन्छ। यस्तै महानगरभित्र सुविधा सम्पन्न महानगरीय अस्पतालको निर्माण गर्ने मेरो प्रतिबद्धता छ।

निर्वाचन प्रचारका लागि तपाईंले खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ?

निर्वाचन प्रचारका क्रममा मेरो व्यक्तिगत हिसाबमा केही खर्च नै भएको छैन। सबै वडाबासीहरूको सहयोगमा मेरो घरदैलो कार्यक्रम सञ्चालन भएको छ। हाम्रो निर्वाचन प्रचार अभियानमा टोल घुम्ने कार्यक्रम भएको छ। हाम्रो अभियानमा जोडिएर आ–आफ्नो टोल घुम्ने र घरमा जाने गर्नुभएको छ। निर्वाचन अभियानमा मेरो व्यक्तिगत खर्च भनेको निर्वाचन केन्द्रित कार्यालय सञ्चालनका लागि हो। त्यो मेरो पारिवारिक स्रोतबाट व्यवस्थापन भएको छ।

तपाईंको प्रचार शैली हेर्दा तपाईंले भने अनुसार खर्च धानिने देखिँदैन। तपाईंले भनेभन्दा बाहेकका स्रोत पनि छन् कि ?

हाम्रो निर्वाचन अभियान खर्च हुने प्रकारको छैन। अभियानका क्रममा हामीसँग जोडिन आउने व्यक्तिहरूलाई चियापानको व्यवस्था भएको छ। त्यो पनि सम्बन्धित वडाका हाम्रो शुभेच्छुकहरूले व्यवस्थापन गर्नुभएको छ।

म मेयर हुनासाथ काठमाडौं उपत्यका विकास प्राधिकरण कब्जा गर्छु : केशव स्थापित 

तपाईंलाई अहिले निर्वाचन अभियानमा सहयोग गर्ने साथीहरूलाई निर्वाचनपछि केही व्यवस्थापन गर्छु भनेर वाचा गर्नुभएको होला। तपाईंले नगरे पनि उहाँहरूको त्यस्तो अपेक्षा हुनसक्छ। तपाईं मेयर भएको खण्डमा उहाँहरूको यस्तो अपेक्षा तपाईं सामु आउँदैन भनेर कसरी विश्वस्त हुने?

मैले कसैलाई केही गर्छु भनेर वाचा गरेको छैन। म शंकरदेव क्याम्पसको पूर्व विद्यार्थी हुँ। मेरा पूर्व सहकर्मी साथीहरूको आग्रहमा आज (२० वैशाख) मा निर्वाचन कार्यक्रम भएको छ। यस्ता अन्य कार्यक्रम भएका छन् जुन कार्यक्रमका लागि मैले केही गर्नुपरेको छैन। सबैले आफ्नो शुभेच्छाका कारण मलाई सहयोग गर्नुभएको छ। भविष्यमा केही पाउँला भन्ने अपेक्षाले मलाई सहयोग गर्नुभएको जस्तो मलाई लाग्दैन।

निर्वाचनपछि खर्च विवरण निर्वाचन आयोगलाई बुझाउने गरी तपाईंको तयारी छ?

म निर्वाचन आयोगलाई मेरो निर्वाचन खर्च बुझाउन तयार छु। मेरो निर्वाचन अभियानमा खास खर्च छैन। कार्यालय व्यवस्थापनको खर्च मात्रै हो, त्यो खर्चको विवतरण बुझाउन मलाई कुनै समस्या छैन।

तपाईंले मेयर पद जित्नु भयो भने तपाईंको कार्यकालपछिको महानगरपालिका कस्तो होला?

काठमाडौं महानगरपालिका भनेको विश्व सम्पदा सूचीमा परेको देश हो। मैले पाँच वर्षपछि पद छोड्दै गर्दा विश्वमा घुम्न जानुपर्ने प्रमुख पर्यटकीय शहरको सूचीमा काठमार्डौं पनि पर्ने गरी काम गर्छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved