म मेयर हुनासाथ काठमाडौं उपत्यका विकास प्राधिकरण कब्जा गर्छु : केशव स्थापित (भिडिओ)

शहर बनाउनका लागि त इञ्जिनियर छन्, विभिन्न विज्ञहरू छन्। मेरो ध्यान शहरी पूर्वाधारमा होइन, काठमाडौंबासीलाई खुशी बनाउनेमा हुन्छ। मानिसलाई साना–साना विषयले खुशी बनाउँछ । त्यही साना विषयमा मेरो ध्यान हुनेछ। खुशीको सूचाकांकमा काठमाडौंलाई विश्वको पहिलो शहर बनाउने हो।

म मेयर हुनासाथ काठमाडौं उपत्यका विकास प्राधिकरण कब्जा गर्छु : केशव स्थापित (भिडिओ)

नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार हुन्- केशव स्थापित (६३)। उनी ०५४ सालको स्थानीय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए।  एमालेले दुई दशकअघिका काठमाडौंका चर्चित मेयर स्थापितलाई ‘हेभिवेट उम्मेदवार’ का रूपमा मैदानमा उतारेको छ।

मेयर निर्वाचित भएमा “म पाँच वर्षभित्र काठमाडौंलाई संसारकै सबैभन्दा खुशी शहरमा रूपान्तरण गर्नेछु’’ भन्ने बाचा गरेका केशव स्थापितसँग चुनावी अभियानको व्यस्तताबीच  नेपालभ्यूजका लागि माधव ढुङ्गेल पुरुषोत्तम पौडेलले लिएको अन्तर्वार्ता :

मेयर पूरा गरेको २० वर्षपछि फेरि काठमाडौं महानगरपालिकाको उम्मेदवार बन्नुभएको छ। फेरि यो आकांक्षा किन देखाउनुभएको ?

हीराको आवश्यकता महत्वपूर्ण समयमा हुन्छ। पाँचदलीय गठबन्धनबाट काठमाडौं महानगरपालिकामा मेयरको प्रत्यासीले प्रतिस्पर्धा गर्ने भएपछि पार्टीले मेरो आवश्यकता देख्यो। काठमाडौंको मेयर पद जित्नसक्ने व्यक्ति भएका कारण मलाई यो अवसर दिएको हो।

अहिलेका नेकपा (माओवादी केन्द्र) का नेतादेखि नेकपा (एकीकृत समाजवादी) कासबै मैले हुर्काएका नेता हुन्। मलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दा मेरो सम्भावना अरूको तुलनामा धेरै हुन्छ। त्यसैले पार्टीले मलाई फेरि उम्मेदवार बनाएको हो।

तपाईंका चुनावी एजेण्डाचाहिँ के छन्?

मेरा चुनावी एजेण्डा खास केही छैनन्। समाजवादका आधारशीलालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा म केन्द्रित हुन्छु। समाजवादको आधारशीला सम्बोधन गर्न धेरै फोरमको आवश्यकता हुन्छ। त्यो खोल्ने मेरो प्रयास हुनेछ। शिक्षा,स्वास्थ्य, रोजगारी सबै विषयलाई एक ठाउँमा ल्याएपछि यी विषय आफैँ बोल्न थाल्छन्।

हो, म आफूलाई संगीत बजाउन आउँदैन तर मिठो संगीत निकाल्ने ‘सिम्फोनी’ सिर्जना गर्न सक्छु।

हिजो युवा संघ गठन गर्दा, खेलाडीका रूपमा हुँदा र मेयरका रूपमा मैले यसअघि नै कार्यक्षमता देखाएको छु। मेरो पार्टीले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो आफैँ समाजवादको आधार हो।

त्यसैले मेरा लागि एजेण्डा के भन्ने छैन। समाजवादको लक्ष्य पूरा गर्न आवश्यक पर्ने सबै विषय गर्ने मेरो संकल्प छ।

तपाईंले मेयर जित्नुभयो भने पाँच वर्षपछिको काठमाडौं महानगरपालिका कस्तो हुन्छ ? तपाईंले कल्पना गर्नुभएको पाँच वर्षपछिको काठमाडौं उपत्यका कस्तो हुन्छ ?

पाँच वर्षपछि काठमाडौं ‘डान्सिङ काठमाडौं’ हुन्छ। विभिन्न भाव-मुद्रामा खुशी काठमाडौं देख्न सकिनेछ। खुशीको सूचाकांकमा काठमाडौंलाई विश्वको पहिलो शहर बनाउने हो। मेरो ध्यान शहरी पूर्वाधारमा होइन, काठमाडौंबासीलाई खुशी बनाउनेमा हुन्छ। शहर बनाउनका लागि त इञ्जिनियर छन्, विभिन्न विज्ञहरू छन्।

मानिसलाई साना-साना विषयले खुशी बनाउँछ। त्यही साना विषयमा मेरो ध्यान हुनेछ। मुलुकको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नागरिकको आत्मपरिचय हो।

मोटरसाइकलमा ‘साइलेन्सर’ थप राखेर मानिसले ठूलो अवाज किन निकाल्छन्? उनीहरू आफ्नो आत्मपरिचय खोजिरहेका छन्, त्यसैले त्यस्तो काम गरिरहेका छन्। आफ्नो अस्तित्वको मान्छेले स्वतः खोज्छ। त्यसैले मानिसको अभिव्यक्तिका लागि हामी ‘फोरम’ बनाउँछौँ।

त्यसका लागि तपाईंसँग केही योजना पनि छन् कि ? 

उदाहरणका लागि, नारायणहिटीको पर्खाल भत्काएर त्यसलाई खुला बनाउन सक्छौँ। त्यहाँ घुम्न आउने बालबालिकाका लागि बच्चाहरूले खाने समान्य खानाको व्यवस्था गर्न सकिन्छ। फर्किने समयमा मेयरको उपहार बनेर बालबच्चालाई बेलुन उपहार दिन सकिन्छ। यस्तो गर्दा बालबच्चामा मेयरप्रति राम्रो छाप पर्नेछ भन्ने त्यसको प्रभाव हाम्रो पार्टीमा पर्नेछ।

साना बच्चादेखि ठूला मानिसको मुहारमा हासो ल्याउन के गर्न सकिन्छ, हामी त्यो काम गर्नेछौँ। खुशी मानिसले जीवनलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। जीवनप्रतिको दृष्टिकोणमा परिवर्तन आएपछि मानिसले झुसिल किरा देख्दै गर्दा त्यहाँभित्र अर्को सुन्दर जीवन छ भनेर बुझ्छ।

‘कन्ट्रोभर्सी किङ’को अग्निपरीक्षा बन्दैछ निर्वाचन

मैले शिक्षा क्षेत्रको विकासका लागि पनि यही प्रक्रिया अपनाउने हो। समाजको एक समुदायलाई दलितका नाममा वर्गीकरण गर्दा समाज नै विभाजित भएको छ। त्यसैले शिक्षामा मेरो पहिलो प्राथमिकता दलित समुदायलाई हुनेछ।

स्वास्थ्यका क्षेत्रमा पनि शहरी क्षेत्रका गरीब, जसलाई म अन्तर्राष्ट्रिय रूपमा पिछडिएको वर्ग (आरबी) भन्छु, उनीहरूको जीवन उकास्ने काम गर्ने मेरो योजना छ।

विकास निर्माणको हामीलाई आवश्यकता छ तर त्योभन्दा बढी मानिसको हृदय परितर्वन गर्ने शिक्षाको आवश्यकता छ।

तपाईंले प्रतिबद्धता त व्यक्त गर्नुभयो तर त्यसलाई पूरा गर्नु फरक विषय हो। पूरा गर्ने आधार के छ तपाईंसँग ?

काठमाडौं महानगरपालिकाको मेयर हुनासाथ म दुई ओटा काम गर्छु।

एउटा, काठमाडौं विकास प्राधिकरण भन्ने छ, त्यो कब्जा गर्छु। मेरो शब्द दोहोर्‍याएर सुन्नुहोस्, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई कब्जा गर्ने हो। काठमाडौं उपत्यकाका हामी सबै मेयर मिल्ने हो र विकास प्राधिकरणलाई कब्जा गर्ने हो।

काठमाडौं उपत्यका विकासको योजना यहाँका मेयरहरूले बनाउने हो  तर हामीलाई सञ्चालन विकास प्राधिकरणले गर्ने? हामीले प्रयोग गर्न पाउने सबै अधिकार विकास प्राधिकरणमा सञ्चित भएपछि उपत्यकाका मेयरले काम कसरी गर्ने? स्थानीय सरकारको अधिकार कमजोर पार्ने प्राधिकरणको अधिकार खोस्नुपर्छ।

अर्को, संघीय सरकार काठमाडौं महानगरपालिकाको आन्दोलनका लागि तयार भए हुन्छ। कि काठमाडौं महानगरपालिकाका लागि ४ अर्बबाट बढाएर ४० अर्ब रुपैयाँ बजेट हुनुपर्‍यो होइन भने आन्दोलनको सामना गर्नुपर्‍यो।

यहाँको सडक निर्माणको अधिकार महानगरपालिकालाई दिनुपर्‍यो। पशुपति विकास कोषदेखि स्वयम्भुनाथ संरक्षणको अधिकार महानगरपालिकालाई दिनुपर्‍यो। हामी काठमाडौं उपत्यकाको विकासका लागि संघीय सरकारको निर्णय कुर्दैनौँ। उपत्यकाका सबै मेयर एक ठाउँमा बसेर यहाँको आवश्यकता सम्बोधन हुने किसिमले हामी आफैँ योजना बनाउँछौँ।

काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणसँग एकमुष्ठ हिसाबमा विद्युत् खरीद गर्छ। अनि आफ्नो हिसाबमा वितरण गर्छ। विद्युत् चोरीलाई कमी गर्न ‘प्रि-पेड’ व्यवस्था लागू गछौँ।

राजनीतिक नेपथ्यबाट सम्मुखतर्फको यात्रा

विद्युत् महानगरपालिकाको मातहतमा हुँदा महानगरबासी कसैले राजश्व नतिरेको अवस्थामा विद्युत् आपूर्ति बन्द गर्न सक्छौँ। यसरी विद्युत् आपूर्ति बन्द हुँदा टोलभरिका मानिसले सरकारलाई राजश्व नतिर्ने व्यक्तिका रूपमा उनीहरूलाई चिन्छन्।

यस्तो व्यवस्था गर्न सकेको खण्डमा सामूहिक रूपमा हुने बेइज्जतका कारण पनि महानगरपालिकालाई राजश्व तिर्न मानिस तम्सिन्छन्।

दरबार हाई स्कूलजस्ता सरकारी विद्यालयको शिक्षालाई निजीसँग प्रतिस्पर्धा गर्ने गरी स्तरीय बनाउन सकिन्छ ? के छ तपाईंको योजना ?

मैले अघि पनि भनिसकेँ- काठमाडौं महानगरपालिकाको शिक्षामा हामी ‘आईबी प्रविधि’ अपनाउँछौँ। यहाँ रहेका ९० वटा सरकारी स्कूललाई ‘मर्ज’ गरेर २५-३० ओटा बनाउने हो।

एक वर्ष हामी स्कूलको भौतिक पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँ लगानी गछौँ। अर्को वर्ष निर्माण भएका स्कूललाई आवश्यक पर्ने सामानका लागि थप ५० करोडको व्यवस्था गछौँ। पुराना शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ को विधिबाट बिदा गछौँ। नयाँ पुस्ताका शिक्षकलाई विद्यालयमा राख्छौँ।

यसरी हामी सरकारी विद्यालयलाई अर्ध-सरकारी विद्यालयका रूपमा सञ्चालन गर्न सक्छौँ। यस्तो अर्ध-सरकारी विद्यालय निजी विद्यालयको तुलनामा सस्तो हुन्छ तर ५० हजार तिरेर पढेका विद्यार्थीका लागि ४० हजार तिर्नुपर्ने व्यवस्था हुन्छ भने आय स्रोतको मूल्यांकन गरेर शुल्क तिर्न नसक्ने अभिभावका छोरा-छोरीलाई निःशुल्क पढाउने व्यवस्था पनि गछौँ।

यो तरिकाले हामी शहरमा बस्ने हुनेखाने वर्ग र नहुने वर्गका सन्तानलाई समान प्रकारको शिक्षा दिने प्रयास गछौँ।

शरीर स्नान गर्ने भन्दै गर्दा आँखा मात्रै धुने होइन, सबै शरीर नै नुहाउने हो तर हामी अहिले शरीरको एउटा अंगमा मात्रै पानी खनाउनुलाई स्नान गर्नु भनिरहेका छौँ। यो रोक्ने मेरो प्रयास हुनेछ।

स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ। अस्पताल व्यवस्थित बनाउन तपाईंका योजना के छन्?

स्वास्थ्य क्षेत्रका लागि मसँग पाँच-सात ओटा योजना छन्। ती सबै भन्ने हो भने म मेयरको उम्मेदवार हो वा स्वास्थ्यमन्त्रीको भन्ने द्विविधा हुन्छ। म अहिलेसम्म कहीँ नसुनिएको स्वास्थ्य बीमा ल्याउने छु।

अर्को कार्यक्रम भनेको ‘मेयर स्वास्थ्य सेवा’ नाम राखेर घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउने व्यवस्था मिलाउनेछु। यो योजनाअन्तर्गत हेरक हप्ता घरमा स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गर्छन्। रोग लाग्नुअघि उपचार गर्नुपर्छ तर हाम्रोमा रोग लागेपछि मात्रै उपचार गर्ने चलन छ। त्यो गलत छ।

काठमाडौंका बासिन्दाको स्वास्थ्यमा समस्या आउनुको एउटा कारण वायु प्रदूषण पनि हो। जिल्लाबाट काठमाडौं आउने यात्रुवाहक साधनको चक्कामा टनका टन माटो आउँछ। त्यसका कारण काठमाडौंमा अत्यधिक धुलो जम्मा भएको छ। त्यसैले काठमाडौं भित्रिने सवारी साधनलाई नाकाहरूमा नै पानीले पखाल्ने व्यवस्था गर्नेछौँ।

हामी त्यसका लागि आवश्यक पर्ने आर्थिक सहयोग सम्बन्धित पालिकाबाट व्यवस्था गर्नेछौँ। गाडी पाखालेर कमाएको पैसा हामीलाई चाहिँदैन तर धुलोसहितका गाडी काठमाडौं छिराउन पाइँदैन।

कोभिड महामारीका कारण देश प्रभावित हुँदा काठमाडौं महानगरपालिकाको अर्थतन्त्रमा निकै प्रभावित भएको छ। तपाईं मेयर भएमा महानगरपालिकाको अर्थतन्त्रलाई उकास्ने तपाईंका योजना के छन्?

काठमाडौंमा २ सय ४८ भन्दा बढी सरकारी भवन छन्। यी भवनका पर्खाल भत्काइयो भने खुला काठमाडौं हेर्न मानिस नआउँलान् र? काठमाडौं कस्तो परिवर्तन भएछ भनेर मानिस काठमाडौं हेर्न आउँछन्।

काठमाडौं सुरक्षित भएपछि यहाँको अर्थतन्त्रमा वृद्धि हुन्छ। सुरक्षित काठमाडौंमा पर्यटनको आकर्षण हुन्छ। रसुवाको एउटा भेगमा ‘जेम स्टोन’ को खानी छ। हामीसँग ‘रुभी’ त छैन तर ‘रुभी भ्याली’ वरिपरि ‘जेम स्टोन’ छन्। ‘जेम स्टोन’प्रति मानिसको क्रेज छ। काठमाडौं आउने पर्यटकलाई हामीले ‘जेम स्टोन’ खन्ने प्रशिक्षण दिन सक्छौँ भने प्रशिक्षणपछि रुभी भ्याली लैजान सक्छौँ।

खन्ने सबैले ‘जेम स्टोन’ पाउँदैन तर पर्यटकलाई यस्तो विषयमा आकर्षण गर्न सकियो भने यसले काठमाडौं महानगरपालिकाको मात्रै होइन, पूरा देशको अर्थतन्त्रमा नै टेवा पुर्‍याउने छ। अहिलेसम्म हाम्रा मेयरहरूले मेयरले गर्नुपर्ने काम गर्न नै सकेका छैनन्।

तपाईं यसअघि पनि एक कार्यकाल मेयर भइसकेको व्यक्ति हो। यसअघि मेयरका रूपमा के-के काम गरेँ भनेर सम्झिनुपर्‍यो भने के-के सम्झिन्नुहुन्छ?

मैले खास केही गरेको छैन। मैले यसअघि मेयरका रूपमा जे जति काम गरेँ, त्यो अत्यन्तै थोरै काम थिए।

मान्छेहरूले माइतीघर निर्माण भएको देखेका छन्। बाटो फराकिलो भएको देखेका छन् तर अब यी सबै कथा भएका छन्। ती कामले मानिसको जीवनमा धेरै रूपान्तरण ल्याउन सकेनन्।

म मेयर भएर महानगरपालिकामा जाँदा फोहर मैला हेर्ने एउटा इकाई मात्रै थियो। त्यो बेला महानगरपालिकाभित्र साधन स्रोत केही थिएन। त्यस समय जम्मा ३६ करोड राजश्व उठ्ने अवस्था थियो। भन्नलाई महानगरपालिका भने पनि वास्तवमा त्यो महानगरपालिका थिएन।

अहिले काठमाडौं महानगरपालिकाले गर्न सक्ने धेरै काम छन्। १६ खर्ब बजेट भएको देशमा काठमाडौं महानगरपालिका आफैँले १ खर्बको काम गर्न पाउने अवस्था छ। यस्तो महानगरपालिकाको नेतृत्व गर्दा मैले गर्नसक्ने धेरै काम हुन्छन्। त्यसैले त्यो समय र अहिलेको समयलाई तुलना गर्न नै मिल्दैन।

घरको कुशल व्यवस्थापन गरेकी महिला हुँ, महानगरपालिका नेतृत्व गर्न सक्षम छुः सिर्जना सिंह

निर्वाचन प्रचारका लागि खर्च व्यवस्थापन कसरी गर्नुभएको छ? तपाईंको प्रचार शैली हेर्दा थोरै खर्चले त यो सम्भव लाग्दैन?

मैले व्यक्तिगत रूपमा निर्वाचन प्रचारका लागि तीन लाख छुट्ट्याएको छु। त्योभन्दा अरू मैले निर्वाचनका लागि केही गरेको छैन। अन्य प्रचारमा साथीहरूको प्रायोजन छ।

मैले व्यक्तिगत रूपमा छुट्याएको तीन लाख रूपौँयामा पनि दुई लाखको मैले नेपाली कागज किनेको छु। त्यो दुई लाखको नेपाली कागजमा मैले आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बाचासहित प्रतिबद्धता जाहेर गरेको छु।

तपाईंले मेयर पदमा प्रतिस्पर्धा गर्दैगर्दा केही महिलाले तपाईंलाई ‘यौन हिंसा गरेको’ आरोप लगाएका छन् नि?

काठमाडौंबासी सम्पूर्ण महिलाले मलाई चिनेका छन्। कसैले आरोप लगाएका कारण उहाँहरूले फरक दृष्टिकोण राख्नुहुन्छ जस्तो मलाई लाग्दैन। जसले मलाई प्रेम गर्नुहुन्छ, उहाँहरूले ममाथि लागेको आरोप विश्वास गर्नु हुँदैन।

जसले मलाई आरोप लगाएको छ, उनले ममाथि जागिरबाट हटाएको आरोपसमेत लगाएकी छन्। मैले उहाँलाई जागिरबाट निकालेको होइन, त्यो प्रमाणकै रूपमा छ। उनले गरेको भ्रष्टाचारका कारण मन्त्रालयका कर्मचारीलगायत अन्य सम्बन्धित व्यक्ति बसेर उनलाई जागिरबाट निष्काशित गरेका हुन्।

म गतिशील व्यक्ति हो। मेरो नामसँग जोडिँदा चर्चा पाइन्छ भनेर यस्ता व्यक्तिले आरोप मात्रै लगाएका हुन्। म त कसैलाई निर्देशन दिन्नँ, तर भोलि त्यो व्यक्तिलाई समाजले बहिष्कार गर्न सक्छ।

काठमाडौं महानगरपालिकाको मेयरका रूपमा तपाईंले काठमाडौं उपत्यकाका अन्य मेयरसँग संयुक्त रूपमा काम गर्ने अवसर पाउनुभयो भने पाँच वर्षपछि काठमाडौंलाई हामीले कस्तो देख्न पाउँछौँ?

जनताले सहजता देख्न पाउनेछन्। हाम्रा जति पनि अशक्त साथीहरू हुनुहुन्छ, उहाँहरूमैत्री काठमाडौं बनाउने हाम्रो प्रयास हुनेछ। आफू पनि सहज रूपमा हिँड्न सक्ने शहरका रूपमा उहाँहरू काठमाडौंलाई देख्नु हुनेछ।

काठमाडौंमा भएका १५-१६ हजार सुकुम्बासी ढुक्कले बस्न सक्ने शहरका रूपमा काठमाडौं हुनेछ। विभिन्न देशबाट अमेरिका गएका व्यक्तिलाई त्यहाँ हेपियो भने असमानता भयो भनेर आन्दोलन हुन्छ। अवसरको खोजीमा काठमाडौंबाहिरबाट यहाँ आएकाको सुविधाका लागि हामीले केही गर्नुपर्दैन? पर्छ। काठमाडौंका मूल मान्छेबाट मात्रै यो शहर चलेको छैन। उहाँहरू काठमाडौंका श्रमशक्ति हो, उहाँहरूको सम्मान हुनपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved