स्थानीय निर्वाचन २०७९

राजनीतिक नेपथ्यबाट सम्मुखतर्फको यात्रा

देशैभर नगरपालिका प्रमुख उम्मेदवारमध्ये सयमा सात जनामात्रै महिला छन्। तीमध्ये एक हुनु नै उनको सबैभन्दा ठूलो पूँजी हो। तर राजनीतिक परिवारको सदस्य हुनु नै सिंहका लागि सबैभन्दा ठूलो चुनौती हो।

नेपालभ्युज

राजनीतिक नेपथ्यबाट सम्मुखतर्फको यात्रा

काठमाडौं। त्यसो त उनले आफैँले आफूलाई नेता भनिसकेकी छैनन्। यो सामग्री प्रकाशित हुँदासम्म उनको ट्‌वीटर अकाउन्टको बायोमा लेखिएको छ– ‘सोसल वर्क। एड्भाइजर एनडब्ल्यूए। होममेकर। मदर अफ् प्रभास एन्ड भास्कर।’ (सामाजिक कार्य, नेपाल महिला संघकी सल्लाहकार। गृहणी। प्रभास र भास्करकी आमा।)

३० वैशाखको चुनावी मैदानमा उनले जीत हासिल गरिन् भने बायोमा थपिनेछ– काठमाडौं महानगरपालिकाको मेयर।

काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार सिर्जना सिंहको ट्‌वीटर परिचयले नै यो उम्मेदवारी उनको राजनीतिक यात्राको नयाँ शुरुवात हो भन्ने देखाउँछ। यो शुरुवात हो, नेपथ्यको जीवनबाट सम्मुखतर्फको।

राजनीतिक रूपमा नेपथ्यमा रहे पनि सिर्जना सिंह राजनीतिबाट टाढा भने होइनन्। उनको विगत एक सक्रिय राजनीतिक कार्यकर्ताको हो।

गोरखा जन्मघर भएकी सिंह २०३३ सालमा नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन्। एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आएकी उनी २०३५ देखि ०३८ सालसम्म महाबौद्ध क्याम्पसको नेपाल विद्यार्थी संघ इकाइ सभापतिका रुपमा राजनीतिक गतिविधिमा संलग्न थिइन्।

२०३९ सालमा अहिलेकी माओवादी नेता पम्फा भुसाललाई पराजित गर्दै शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी सिंहको पहिलो परिचय राजनीतिक थियो। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सिंहको राजनीतिक विगत ओजपूर्ण रहेको बताउँछन्। उनले सिंहको चुनावी संकल्प घोषणा कार्यक्रममा भने, “पञ्चायती व्यवस्था उत्कर्षमा भएका बेला शंकरदेव क्याम्पसमा नेविसंघका तर्फबाट कोषाध्यक्षमा निर्वाचित हुनुले पनि सिर्जनजीको राजनीतिक पृष्ठभूमि बताउँछ। त्यो सामान्य कुरा थिएन।”

२०४२ सालमा प्रकाशमान सिंहसँग बिहे भएपछि उनको दोस्रो परिचय शुरु भयो। नेपाली काँग्रेसका अग्रणी नेता गणेशमान सिहंको बुहारी बन्न पुगिन्, उनी। नेपाली काँग्रेसको नेतृत्वमा प्रकाशमान सिँहको उदयसँगै उनको परिचय प्रकाशमानकी पत्नीको रुपमा भयो। २०५४ सालदेखि नेपाल महिला संघ काठमाडौ जिल्ला समितिको सल्लाहकारका रुपमा राजनीतिमा जोडिए पनि उनको परिचय दुई नेता गणेशमान र प्रकाशमानको छायामा परिरह्यो।

सामाजिक गतिविधि र सामाजिक सञ्जालमा सक्रिय सिर्जना सिंहलाई आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवारी दिएपछि उनी नेपथ्यबाट सम्मुखतर्फको यात्रामा लागेकी छन्। उनका लागि यो चुनौतीपूर्ण यात्राको शुरुवात हो। उनी तमाम अनुकूलता र प्रतिकुलताले घेरिएकी छन्। सत्ता गठबन्धनको साथ, चुनावी रणनीतिको प्रभावकारिता र उनको आफ्नै व्यक्तित्वले उनको भविष्य तय हुनेछ।

अनुकुलता

देशैभर नगरपालिका प्रमुख उम्मेदवारमध्ये सयमा सात जनामात्रै महिला छन्। तीमध्ये एक सिर्जना सिंह हुन्। यो नै उनको सबैभन्दा ठूलो पुँजी हो। काठमाडौं महानगरपालिकाको मेयर एक जना महिला हुँदैछिन् भन्ने सन्देश प्रवाह गर्न सक्दा उनले जित्ने सम्भावना प्रबल हुन्छ। सायद त्यसैले हो, उनले गृहणी भत्ताजस्ता महिलाबीच लोकप्रिय नारा लिएकी छन्।

विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकाले र वंशजले बनाइदिएको परिचयले काठमाडौं महानगरपालिकामा रहेको नेवार समुदायको भोट तान्ने सम्भावना पनि उत्तिकै छ।

सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार हुनु उनका निम्ति अर्को अनुकूलता हो। उनी नेपाली काँग्रेसलाई मात्र खस्ने भोटमा निर्भर छैनन्। सत्ता गठबन्धनका सबै दलको इमान्दार भोट ल्याउन सके उनले जित्ने सम्भावना बढ्ने छ।

त्यस्तै उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका केशव स्थापितका भनाईहरु पछिल्लो समय विवादित बनिरहेका छन्। त्यो पनि सिंहका लागि अर्को अनुकूलता हो।

प्रतिकुलता

राजनीतिक परिवारको सदस्य हुनु नै सिंहका लागि सबैभन्दा ठूलो चुनौती र प्रतिकुलता हो। काँग्रेस महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा प्रकाशमान सिंहले सघाएको प्रसंगसँग जोडिने गरेको उनको उम्मेदवारीलाई स्वतन्त्र र सक्षम स्थापित गर्न उनलाई हम्मेहम्मे नै परेको छ। पक्कै पनि काँग्रेस महामन्त्री गगन थापाले भनेजस्तै उनको पहिलो परिचय राजनीतिक कार्यकर्ताको नै हो। तर त्यो विगत हो। उनको वर्तमानमा भने गणेशमानकी बुहारी र प्रकाशमानको पत्नी परिचय हावी भएको यथार्थ हो।

जतिसुकै विवादमा आए पनि स्थापित उनका कमजोर प्रतिद्वन्द्वी भने होइनन्। पहिलोपटक मेयर हुँदा आफूले गरेका केही प्रशसंनीय काम स्थापितका लागि ठूलो पूँजी हुन्। यस्तो सुविधा सिंहसँग छैन।

त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाह पनि उनका लागि अर्को चुनौती वा प्रतिकुलता हुन्। बालेन शाहले युवा भोट पाउने अनुमान गरिएको छ। त्यो भोट काँग्रेसका लागि पनि निर्णायक हो। त्यसैले बालेनलाई दिने भोट आफ्नो चुनाव चिन्हमा पार्न सिर्जना सिंहले गर्नुपर्ने तयारी र मेहनत भने धेरै नै छ।

राजनीतिको नेपथ्यमा रहेकी सिर्जना सिंहको सम्मुख तर्फको यात्रा उनको राजनीतिक करिअर फेरि शुरु गर्ने विन्दु बन्नपुग्छ वा अर्को विश्राम, निर्वाचनकै परिणामले बताउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved