विराटनगर पुगेर प्रधानमन्त्रीले मागे गठबन्धनका उम्मेदवारहरूलाई भोट

विराटनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका जसपा अमरेन्द्र यादवलाई भोट मागे।

नेपालभ्युज

विराटनगर पुगेर प्रधानमन्त्रीले मागे गठबन्धनका उम्मेदवारहरूलाई भोट

विराटनगर। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन्।

बुधबार नेपाली कांग्रेस मोरङद्वारा विराटनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका जसपा अमरेन्द्र यादवलाई भोट मागे। उनले भने, “कांग्रेसले धोका दिँदैन भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ। उचाल्ने पछार्ने धेरै हुन्छन्, यस्ताको पछि नलाग्नुस्।”

प्रजातन्त्रलाई सुदृढ बनाउन गठबन्धनको आवश्यकता परेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे। निर्वाचनले आउँदो ५ वर्षको भविष्य निर्धारण गर्ने भएकाले संवेदनशील भएर मतदान गर्न उनले आग्रह गरे।

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए। परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको नेता पौडेलको भनाइ छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा अस्थिरता ल्याएको उनले बताए।

कांग्रेसले जितेका स्थानीय तहमा राम्रो काम भएको नेता पौडेलको दाबी छ। विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे।

कांग्रेस नेता डा शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले जनतालाई दुःख दिने मात्रै काम गरेको बताए। एमालेले संविधान मास्ने काम गरेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनले संघ र प्रदेशको निर्वाचनलाई इंगित गर्ने उनले बताए। गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर लोकतन्त्रको संरक्षण गर्न उनले आग्रह गरे।

महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन जनताका लागि अवसर भएको बताए। आफ्नो गाउँ-नगर कस्तो बनाउने भन्ने जनताको हक भएकाले निर्वाचनमा सहभागी भएर अवसर नगुमाउन उनले आग्रह गरे। कांग्रेसले कमजोर भएर तालमेल नगरेको उनले प्रस्ट पारे। तालमेल संविधानलाई ठिक ठाउँमा ल्याउन भएको महामन्त्री शर्माले बताए।

चुनावी सभालाई नेताहरू महेश आचार्य, डा मीनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved