किस्सा

मजाजका केही व्यंग्य–प्रसंग

नेपालभ्युज

मजाजका केही व्यंग्य–प्रसंग

असरारुल हक मजाज ऊर्दूका प्रख्यात कवि हुन्। बेला–बेलामा आफ्ना समकालीन कवि/गजलकारहरू फिराक गोरखपुरी, सागर निजामी, जोश मलाहावादीसँग उनको ठट्टामजाक चल्थ्यो। तिनैमध्येका केही व्यंग्य–प्रसंग हुन् यी। यी व्यंग्य–प्रसंग ‘कादम्बिनी’ को अक्टोबर २०११ को अंकबाट भावानुवाद गरिएको हो।

एक

सुविख्यात कवि मजाजलाई कसैले भने, ‘शासकहरूले साहित्य–सर्जकहरूका सुविधाका निम्ति एउटा बेग्लै कोलोनी बनाइरहेका छन् नि।’

मजाजले चिन्तित हुँदै भने, ‘जिल्ला तहको जेलमा कि केन्द्रीय तहको जेलमा ?’

 

दुई

जोश मलाहावादी, फिराक गोरखपुरी र मजाज तीनै जना मदिराप्रेमी थिए।

जोशले तेस्रो पेग पिएपछि आफ्नो विशिष्ट अफगानी जोशमा उत्रिँदै भने, ‘अल्लाहको इच्छा, हामी अझैसम्म युवा नै छौँ, हाम्रो उमेर पच्चीस–तीसको हाराहारी छ, होइन त फिराक ?’

‘अवश्य,’ फिराकले जोडदार ढंगले समर्थन गर्दै भने, ‘साँच्चै हेर्ने हो भने म पनि अठार–बीस वर्षभन्दा बढीको देख्दिनँ आफूलाई।’

‘हो, हो,’ जोशले मुस्कुराउँदो नजरले फिराकको जाँच–पड्ताल लिँदै जवाफ दिए।

‘यो हिसाबले त…,’ मजाजले धेरै नै निर्दोष अनुहार देखाउँदै, जोश र फिराकलाई सम्बोधन गर्दै भने, ‘यो हिसाबले त म अझै पनि जन्मिएकै छुइनँ।’

 

तीन

मजाज र फिराक (गोरखपुरी) बीच धेरै नै गम्भीर वार्तालाप चलिरहेको थियो। केही क्षणमा नै फिराकको बोल्ने ढंग बदलियो र उनले हाँस्दै सोधे, ‘मजाज, तिमीले कबाव बेच्न किन बन्द गर्‍यौ ?’

‘जब तिमीले मासु पठाउन बन्द गर्‍यौ,’ मजाजले आफ्नो शिष्टतालाई कायम राख्दै भने।

 

चार

राजासाहेब महमूदाबादले धेरै नै माया गर्दै मजाजसँग भने, ‘मजाज, यदि तिमी मान्छौ भने एउटा कुरा भनूँ?’

मजाजले शीरदेखि पाउसम्मै विनम्र भाव देखाउँदै भने, ‘तपाईको आदेश शीर र आँखामा राख्छु, बताउनुस् राजासाहेब, के हो त्यस्तो आदेश ?’

‘म चाहन्छु कि, तिम्रो लागि दुई सय रुपियाँ महीनावारी वृत्तिस्वरूप निश्चय गरिदिन्छु।’

‘महान् कार्य हुनेछ, हजुरको…,’ मजाजले फेरि विनम्र हुँदै भने।

‘तर…,’ राजा साहेबले केही समझदार हुँदै भने, ‘तर तिमीले ईश्वरका निम्ति शराब पिउन छाड्नु पर्नेछ।’

‘शराब पिउन छाडूँ ?’ मजाजले धेरै हैरानी र उदास हुँदै राजा साहेबतिर हेर्दै भने, ‘त्यसो भए हजुरले हरेक महीना दिने दुई सय रुपियाँ मैले कहाँ खर्च गर्न सक्छु र ?’

 

पाँच

एक कवि सम्मेलनको समाप्तिपछि जब सागर निजामीलाई कबुल गरेकोभन्दा कम रकम दिइयो र उसको रसिद उनको सामुन्ने राखियो। त्यो देखेर उनी एकदमै रिसाए र भने, ‘म यो रसिदमा हस्ताक्षर गर्न सक्दिनँ।’

त्यही बेला मजाज त्यहाँ आए। उनले जब यो कुरा सुने, तब धेरै निर्दोष पाराले प्रबन्धकलाई सल्लाह दिँदै भने, ‘यदि हस्ताक्षर गर्न सक्दैनन् भने सागर साहेबको ल्याप्चे लगाउनुस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved