नेपालको उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास (भिडिओ)

नेपालभ्युज

नेपालको उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास (भिडिओ)

काठमाडौं। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ। बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण भएको हो।

काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ‘डेमोस्ट्रेसन फ्लाइट’ नाम दिइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो।

यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताए।

उनले भने, “बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना हो। काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज ल्याण्ड गरेको छ। बिहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्ट्रेसन फलाइट भनेर नाम दिएका छौं। नेपालको नागरिक उड्डयन क्षेत्रमा ७४ वर्षपछि दोस्रो विमानस्थल हाम्रो भूमिमा निर्माण सम्पन्न गरेका छौं। भगवान गौतमबुद्धको जन्मदिन बुद्ध पूर्णिमा जेठ २ गते मे १६ देखि विमानस्थलबाट व्यवसायी उडान सञ्चालन हुने छ। उक्त दिन यो विमानस्थलको औपचारिक रुपमा उद्घाटन हुनेछ।”

७४ वर्षीय नागरिक उड्डयन प्राधिकरणको इतिहासमा यो कोषेढुङ्गा हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजले आफ्नो पहिलो उडान भरे पनि नियमित रुपमा भने २ जेठमा बुद्ध जयन्तीबाट उडान शुरु हुनेछ।

पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने प्राधिकरणले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने महा निर्देशक ज्ञवालीले बताए।

भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाई उड्डयनको इतिहासमा नयाँ फड्को भएको निर्देशक अधिकारीले बताए।

अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउने उनले बताए। सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरुवातमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यवसायिक रुपमा सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुने प्राधिकरणको विश्वास लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved