च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिड र म्यान्चेष्टर सिटी भिड्दै

नेपालभ्युज

च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिड र म्यान्चेष्टर सिटी भिड्दै

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आज राति स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीबीच भिडन्त हुँदैछ।

इंग्लिस प्रिमियर लिग लिडर म्यान सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा हाल उत्कृष्ट फर्ममा रहेको रियलको सामना गर्नेछ। यी दुवै क्लब आ-आफ्नो घरेलु लिगका लिडर हुन्। स्पेनिस लिगमा रियलको उपाधि लगभग पक्का छ। दोस्रो स्थानमा रहेको चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग १५ अंकको अग्रता कायम गरेको रियललाई अब बाँकी पाँच खेलमा मात्र एक अंक नै लिग उपाधि उचाल्न पर्याप्त हुनेछ।

त्यसैले स्पेनिस लिगमा कुनै चिन्ता नरहेको रियलले महादेशीय उपाधिका लागि सेमिफाइनलमा निश्चिन्त भएर खेल्नेछ। चोटका कारण पछिल्ला खेल गुमाएका मिडफिल्डर डेभिड अलाबा र डिफेण्डर मेण्डी यो खेलमा फर्कने संकेत क्लबले गरेको छ।

त्यस्तैगरी ओससुनासँगको अघिल्लो खेलमा आराम दिइएका स्टार मिडफिल्डर लुका मोड्रिच पनि यो खेलमा फर्कनेछन्। चोटका कारण एडेन हजार्ड भने टिममा रहने छैनन्। यता, म्यान सिटी पनि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा त छ। तर प्रिमियर लिग उपाधिमा सिटीलाई चिर प्रतिद्वन्द्वी लिभरपुलले कडा चुनौती दिइरहेको छ। लिगमा पाँच खेल बाँकी रहँदा सिटीभन्दा मात्र एक अंकले पछाडि रहेको लिभरपुलले उसलाई लखेटिरहेको छ।

त्यसैले सिटी दोहोरो उपाधि जित्न दोहोरो दबाबमा नै छ। त्यसमाथि हाल शानदार फर्ममा रहेको रियल र विशेषगरी स्टार स्ट्राइकर करिम बेन्जेमालाई रोक्न सिटीलाई त्यति सहज हुने छैन। पछिल्ला ११ खेलमा उनले १५ गोल गरिसकेका छन् भने च्याम्पियन्स् लिगको अन्तिम तीन खेलमा सात गोल।

पहिलो लेगमा लागि सिटीका दुई डिफेण्डर जोन स्टोन्स् र केल वाल्कर नखेल्ने सम्भावना प्रबल छ। चोटका कारण उनीहरू प्रशिक्षणमा पनि छैनन्। यसले सिटीको रक्षापंक्तिमा अझ समस्या पार्ने देखिन्छ।

सिटीका प्रशिक्षक पेप गुआर्डिओला सिटीलाई फाइनलमा पुग्न ‘दुई बिशेष खेल’ को अवश्यकता रहेको बताएका छन्। पछिल्ला सात सिजनमा सिटी च्याम्पियन्स् लिगको सेमिफाइनलमा पुगेको यो चौथो पटक हो। रियल भने गत १२ वर्षमा १० औँ पटक अन्तिम चारमा प्रतिस्पर्धा गरिरहेको छ।

रियल यो सिजन सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जित्दै कीर्तिमान कायम गरेपछिको पहिलो उपाधि जित्ने तयारीमा छ। सिटी भने क्लब इतिहासमा नै पहिलो च्याम्पियन्स् लिग उपाधिको खोजीमा रहेको छ।

म्यान सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। गत सिजन सिटी उपाधिको निकै नजिक पुगेको थियो। तर फाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग १-० ले पराजित हुँदा सिटीको पहिलो च्याम्पियन्स लिग उचाल्ने सपना पूरा हुन सकेको थिएन।

युरोपियन च्याम्पियन्स् लिगमा रियल मड्रिडको छुट्टै लय रहन्छ। सर्वाधिक १३ पटकको च्याम्पियन रियलले घरेलु फुटबलमा खराब फर्मबाट गुज्रिएको बेला पनि च्याम्पियन्स् लिगमा उत्कृष्ठ खेल देखाउँदै लिग जितेको इतिहास छ।

यी दुईले हालसम्म च्याम्पियन्स् लिगमा ६ पटक भिडन्त गरेका छन्। जसमा दुवैले दुई-दुई खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक यी दुईबीच सन् २०१९-२० को सिजनमा अन्तिम १६ को खेलमा भेट भएको थियो। उक्त भिडन्तको दुवै लेग सिटीले २–१ ले जितेको थियो।

यो पटकको च्याम्पियन्स् लिगको फाइनलमा पनि गत सिजनको जस्तै दुई इंग्लिस क्लबकै भिडन्त हुने सम्भावना पनि छ। दोस्रो सेमिफाइनलमा अर्को इंग्लिस क्लब लिभरपुलले पनि स्पेनिस क्लब भिल्लारियालसँग भिडन्त गर्दैछ। यो सेमिफाइनलको पहिलो लेग भने भोलि बुधबार राति हुनेछ।

यदि पहिलो सेमिफाइनलमा सिटी विजयी भएमा र अर्को सेमिफाइनलमा लिभरपुलले भिल्लारियाललाई परास्त गरे ‘अल इंग्लिस फाइनल’ हुनेछ। तर सेमिफाइनलमा नतिजा यसको ठिकविपरीत आए ‘अल स्पेनिस फाइनल’ हुने सम्भावना पनि उत्तिकै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved