पोखराको मेयर दौडमा कांग्रेसबाट मन्त्रीसहित १८ जना

नेपालभ्युज

पोखराको मेयर दौडमा कांग्रेसबाट मन्त्रीसहित १८ जना

काठमाडौं। आगामी स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली कांग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन्।

मेयरको दौडमा प्रदेशका मन्त्रीसमेत छन्। नेपाली कांग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्फबाट उम्मेदवार छान्न आज आकांक्षीहरूको मनोनयन लिएको हो।

चिप्लेढुंगास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म मनोनयन लिइएकोमा मेयरमा १८ र उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएको कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिए।

निर्वाचन समितिका अनुसार मेयरको दौडमा सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे छन्।

यस्तै विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला राना, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले मनोनयन दिइसकेका छन्।

यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीले मनोनयन दर्ता गराएका छन्।

मेयरका आकांक्षी धेरै हुने देखेपछि कांग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ तोकेको थियो। साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएकोमा यस अलवा फर्म शुल्क दुवै पदमा ५ सय लिइएको थियो। पार्टीको केन्द्रीय समितिले आकांक्षीहरूबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिने सर्कुलर गरे पनि महानगर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन्।

महानगरले उम्मेदवार बन्न चाहनेहरूको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ। यसैबीच, गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश मामिलामन्त्रीसमेत रहेका कांग्रेस नेता बिन्दुकुमार थापाले पनि मेयर पदका लागि मनोनयन दर्ता गराएका छन्। उनी २०७४ सालको प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित भएका थिए। उनले माओवादीका उम्मेदवार करणलाई पराजित गरेका थिए। मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्।

यसअघि, नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाको नाम जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिसकेको छ। गत निर्वाचनमा एमाले मेयर र उपमेयर दुवैमा वर्चश्व कायम गरेको थियो। पोखराका कूल ३३ वडामध्ये २२ वडामा एमाले र बाँकी ११ वडामा कांग्रेसको नेतृत्व छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved