जिल्लाको राजनीतिमा केन्द्रको प्रभाव, भरतपुरमा कांग्रेस अझै आशावादी

जिल्लाको राजनीतिमा केन्द्रको प्रभाव, भरतपुरमा कांग्रेस अझै आशावादी
पार्टी केन्द्रमा ज्ञापनपत्र बुझाउँदै चितवन कांग्रेसको टोली ।

काठमाडौं । १७ फागुनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित भएसँगै २१ फागुनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा एक कार्यक्रममा सहभागी हुन पोखरा पुगे। पोखरामा महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा केन्द्रले नभएर सबै जिल्लाले उम्मेदवार सिफारिस गर्ने वातावरण मिलाउने बताएका थिए।

“पहिला सजिलो थियो केन्द्रले स्थानीय तीन नेताको नाम सिफारिस गराएर पठा भन्छ, जिल्लाले १२ नेताको नाम पठायो। ती मध्येबाट केन्द्रले एउटा नेताको नाम छानेर पठाउँछ अनि हामीले भनेको जस्तो भएन भनेर विरोध गर्यो,” महामन्त्री थापाले भनेका थिए, “त्यसैले यो पटकको स्थानीय तह निर्वाचनमा उम्मेदवारको छनोट गर्ने जिम्मा जिल्लालाई नै दिने हो, जिल्लाको निर्णयलाई केन्द्रले सदर गर्ने हो।”

मंसीरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी भएका र एमसीसी पारित गर्न प्रमुख भूमिका खेलेका थापा त्यही ओजसहित पोखरामा भाषण गर्दै थिए। यद्यपि, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको जिम्मा जिल्लालाई नै दिने प्रतिबद्धता कार्यान्वयन भएको भने देखिदैन।

स्थानीय तहको निर्वाचनको मिति नजिँकिदै गर्दा अहिले पोखरा कांग्रेसका नेता काठमाडौंमा छन्। पोखरा कांग्रेसका सभापति किशोरदत्त बरालको नेतृत्वमा पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितको टोली अहिले काठमाडौंमा छ। स्थानीय तहमा निर्वाचनको तयारी गर्नुपर्ने समयमा पोखराका कांग्रेसी काठमाडौंमा आउनुको कारण हो : पोखरा महानगरपालिकाको मेयर कांग्रेसले नै पाउनुपर्ने माग। यही मागसहित उनीहरुले बुधबार (आज) प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

निर्वाचनमा तालमेल हुँदा पोखरा महानगरपालिकाको मेयर पद सम्भवतः नेकपा एकीकृत समाजवादीले पाउनेछ। यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दा समेत एमालेका उम्मेदवारलाई पराजित गर्न सकेको थिएन।

एमालेबाट केही समयअघि विभाजन भएको नेकपा एकीकृत समाजवादीले ६ महानगरपालिकामध्ये पोखरामा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ भने गठबन्धनले पनि उसैलाई दिने सम्भावना बढी देखिएको छ। यस्तो अवस्थामा पोखराका कांग्रेस नेता मेयर पदको उम्मेदवार पार्टीकै व्यक्ति हुनुपर्ने मागसहित काठमाडौं आएको हो।

पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेको कांग्रेससहितका अन्य दलको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र सिट बाँडफाँटका लागि ७ मापदण्ड तयार पारेको छ।  २०७४ मा भएको स्थानीय तहको निवार्चनको प्रमुख पदमा दलले प्राप्त गरेको मतलाई आधार बनाउने मापदण्डमा उल्लेख छ।

यस निर्णयसँगै महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार केन्द्रीय संयन्त्रले तोक्ने निर्णय बैठकले गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यस्तै, नगर र गाउँपालिकाको निर्वाचन तालमेलका विषयमा ३ वैशाखसम्म जिल्ला संयन्त्रले प्रदेश र प्रदेश संयन्त्रले ५ वैशाखभित्र केन्द्रलाई पठाउनुपर्ने निर्णय गठबन्धनको बैठकले गरेको छ। यसअघि २८ चैतसम्म यस्तो नामावली पठाउन केन्द्रले निर्देशन दिए पनि नामवली प्राप्त नहुँदा समय थप गरिएको हो।

विशेषगरी महानगरपालिका भएका जिल्लाका कांग्रेस नेता महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीको दाबी पेश गर्दा केन्द्रले भने तालमेलको निर्देशन दिएको छ। यद्यपि कांग्रेसभित्रै शेखर कोइराला पक्षका नेता भने स्थानीय तह निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्न नहुने पक्षमा देखिएका छन्। कोइराला पक्षका नेता तालमेलको विपक्षमा देखिए पनि प्रधानमन्त्री एवं पार्टी सभापति देउवा लगायतका अन्य नेता भने तालमेल गर्नुपर्ने पक्षमा उभिएका छन्।

केन्द्रले निर्वाचनमा तालमेल गर्नुपर्ने बताउँदै गर्दा पोखरा महानगरपालिकासँगै प्रमुख पद कांग्रेसले नै दाबी गर्नुपर्ने माग भरतपुर महानगरपालिकाको पनि रहेको छ। तालमेल स्वीकार गरेको चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा भने आफ्नै पार्टीले मेयर पदमा प्रतिस्पर्धा गर्नुपर्ने माग राखेको छ।

यस्तै माग लिएर २४ चैतमा चितवन कांग्रेस सभापति राजेश्वर आचार्यसहितको टोली काठमाडौं आएको थियो। तीन दिनको काठमाडौं बसाईका क्रममा उनीहरुले पार्टी सभापति देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतलाई भेट गरेका थिए।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा यो पटक पनि नेकपा माओवादी केन्द्रले नेतृ रेणु दाहाललाई सारेको छ। उनको नाम रेणुको औपचारिक हिसाबमा घोषणा मात्रै हुन बाँकी छ।

गत कार्यकाल कांग्रेससँग नै गठबन्धन गरेर विजयी भएकी रेणु यसपटक पनि कांग्रेसी मतदाताकै भरोसामा छिन्। यता, चितवन कांग्रेसले भने मेयरमा आफ्नै पार्टीका उम्मेदवार उठाउनका लागि दबाब दिइरहेको छ।

२९ चैतमा बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमाहानगरमा मेयर र उपमेयर पदको छिनोफानो केन्द्रले गर्ने निर्णय गरेको छ। सँगै यसअघिको निर्वाचनमा प्रमुख पदमा सबैभन्दा बढी मत ल्याएको पार्टीले सो पदमा फेरी प्रतिस्पर्धा गर्ने निर्णय पनि गरेको छ। यस हिसाबले पनि भरतपुरको मेयर पद रेणु दाहालको पोल्टामा जाने निश्चित जस्तै छ।

भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारका रुपमा नेकपा एमाले विजय सुवेदीको नाम घोषणा गरेको छ। चितवन एमालेका पूर्व अध्यक्ष समेत रहेका सुवेदीले भरतपुरमा आफ्नो चुनावी अभियान शुरु गर्दै गर्दा गठबन्धन दलले भने आफ्नो साझा उम्मेदवारको नाम दिन सकेको छैन।

केन्द्रीय स्तरबाट महानगरपालिकाको मेयरको नाम आउने भए पनि चितवन कांग्रेसले भने भरतपुर महानगरपालिकाका लागि मेयर पदमा आकांक्षी व्यक्तिको नाम समेत संकलन गरेको छ। २७ र २८ चैत मा नाम दर्ताका लागि गरिएको आग्रहमा २५ जनाले मेयर पदका लागि आफ्नो नाम दर्ता गराएका छन्।

भरतपुरको मेयर बन्नका लागि कांग्रेस केन्दीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले आकांक्षा देखाएका छन्। गुरुङ चितवन कांग्रेसका पूर्व सभापति समेत हुन् भने कोइराला २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरका प्रत्यासी थिए। त्यस्तै बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले पनि मेयर पदमा आफ्नो आकाक्षां देखाएका छन्।

त्यस्तै उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, भरत अधिकारी, शंकर कडेंल, चित्रसेन अधिकारी, नीलककण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भूसाल, दीर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, डा.केदारभक्त सापकोटा, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, डा.सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी, घनश्याम दुवाडी, राजेन्द्र डोटेल लगायतले मेयर पदका लागि आफ्नो नाम दर्ता गराएका छन्। यस्तै भरतपुर महानगरपालिकाकी वर्तमान उपमेयर पार्वती शाहा ठकुरीले पनि मेयरको आकांक्षीका रुपमा आफ्नो नाम दर्ता गराएकी छन्।

त्यस्तै केन्द्रका नेताहरूले निर्वाचन तालमेलका लागि कसरत गर्दा भरतपुर महानगरपालिकाको २९ वटै वडाका कांग्रेस सभापतिहरूले आफूलाई गठबन्धनको विपक्षमा उभ्याएका छन्। केन्द्रले महानगरमा गठबन्धन गर्ने निर्णय गरेपनि ,वडा सभापतिहरू समेत गठबन्धन गर्न तयार भएपनि, भरतपुरको मेयर भने अर्को पार्टीलाई दिन नहुनेमा पक्षमा छन्।

वडा सभापतिहरूको संयुक्त निर्णयविपरीत गठबन्धन गरिए भरतपुर महानगरमा मेयर, उपमेयर र सबै वडामा अध्यक्षसहित ५ जना उम्मेदवार खडा गर्ने चेतावनी भरतपुर कांग्रेसका वडा सभापतिहरुले चितवन कांग्रेस सभापति खनालमार्फत केन्द्रलाई दिएका छन्।

चितवन कांग्रेस सभापति खनाल पनि भरतपुरका हकमा केन्द्रले अझै निर्णय नगरेका कारण आफू आशावादी भएको बताउँछन्। “हामीले जिल्लाको वस्तुस्थिति र हाम्रो माग केन्द्रमा नेताहरुलाई सुनाई सकेका छौँ,” चितवन कांग्रेस सभापति खनाल भन्छन्, “निर्णय गर्दा पार्टीले हाम्रो माग सकारात्मक हिसाबमा सम्बोधन गर्छ भन्ने विश्वास छ।”

यद्यपि, माग बमोजिमको निर्णय नआएको अवस्थामा पार्टी कमिटीको निर्णयपछि मात्रै आफू अगाडी बढ्ने खनालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved