नेपाल–बंगलादेश कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा

नेपालभ्युज

नेपाल–बंगलादेश कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा

काठमाडौं । नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा दुवै देशका राष्ट्रपति र प्रधानमन्त्रीले एक आपसमा शुभकामना व्यक्त गरेका छन्।

कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति महमुद अब्दुल हर्मिदर्ला शुभकामना पठाएकी छन्। राष्ट्रपति भण्डारीले बंगलादेश स्वतन्त्र हुँदा उसको स्वतन्त्रता स्वीकार गर्ने पहिलो देशमध्येको भएको बताउँदै त्यसयता दुई देशबीच बढ्दै गएको सम्बन्धमा आफू सन्तोष गरेको शुभकामना सन्देशमा बताएकी छन्। दुई देशबीच व्यपार, पर्यटन, शिक्षा र संस्कृतिक क्षेत्रमा राम्रो सहकार्य भएकौ राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई एक शुभकामना पत्र लेख्दै व्यापार, उर्जा, पर्यटन लगायतका क्षेत्रमा सहकार्य बढेको प्रति खुशी व्यक्त गरेका छन्। दुई देशले सार्क र बिम्सटेक लगायतका क्षेत्रीय संगठनमा सहकार्य गर्नुका साथै संयुक्त राष्ट्रसंघ लगायतका अन्य बहुराष्ट्रिय संगठनमा पनि सहकार्य गर्दै आएको स्मरण गरेका छन्।

यस्तै बंगलादेशका राष्ट्रपति हर्मिदले नेपालका राष्ट्रपति भण्डारीलाई पठाएको शुभकामना पत्रमा दुई देशबीच बढ्दै गएको सम्बन्धमा सन्तुष्टि व्यक्त गर्दै सन् २०१९ मा आफूले गरेको नेपाल भ्रमणको स्मरण गरेका छन्। भने बंगलादेशका प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री देउवालाई लेखेको पत्रमा बंगलादेश स्वतन्त्र हुँदा नेपालले बंगलादेशको स्वतन्त्र पहिचान स्वीकार गर्न कुनै समय नलागाएको प्रति खुशी प्रकट गरेकी छन्।
८ अप्रिल १९७२ मा नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved