आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

मानसिक सन्तुलन गुमेका दुई दाजुभाइको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ।

नेपालभ्युज

आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा
सांकेतिक तस्वीर

भोजपुर। भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन्।

भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो। मानसिक सन्तुलन गुमेका उनीहरूको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुवै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताए। छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उनको भनाइ छ। छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन्।

“आर्थिक अवस्था कमजोर छ, उपचार गर्ने पैसा छैन। कमाएर ल्याउने छोराहरूमा मानसिक रोग छ। उनीहरूलाई सम्हालेर राख्न नै समस्या छ। खोरमा राखेन भने अनेक उपद्रो गर्छन्”, उनले भने, “आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशु झैँ खोरमा राख्नु परेको अवस्था छ।” उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ। छोराहरूलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुबा छत्रबहादुरको भनाइ छ।

“उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन”, उनले भने, “घरको आर्थिक अवस्था कमजोर छ। उपचारमै पैसा सकियो। अहिले छोरालाई फेर्ने कपडा समेत छैन। एउटै कपडामा महिनौ बिताउँछ।” उपचारका लागि कोशिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो। अब उनीहरूलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको बुबा चौहानको भनाइ छ। सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा उनको छ। काठमाडाैंमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरूलाई घरमा ल्याएर राखेको बुबा चौहानले बताए। उनीहरूलाई नियमित रुपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उनको भनाइ छ।

लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उनले बताए। उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बर्बराउनेलगायत क्रियाकलाप देखाउने गरेको बुबा चौहानले बताए। परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या भएको उनले बताए। माइलो छोरा भने छुट्टिएर गएकाले अहिले परिवारभन्दा बाहिर बस्दै आएको उनले बताए। मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपाङ्गता परिचयपत्रसमेत नदिएको बुबा चौहानको दुःखेसो छ।

साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए। उनले भने, “उहाँहरूको अवस्थाका बारेमा हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ। उनीहरूलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved