कञ्चनपुर। आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ। थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए। घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये।
हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ। ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिए।
उनले भने, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो। धान कुटने कार्य महिलाले मात्रै गर्दथे। हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ।” मिलमा ल्याउन लैजानमात्रै समय लाग्ने गरेको छ।
ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उनको भनाइ छ। “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे”, सुम्नी चौधरीले भनिन्, “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए।”
ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुटनु पर्दथ्यो। एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो। फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो।”
दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उनको भनाइ छ।
ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो। “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो। त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ।”
ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव रहेको छ।
Facebook Comment
Comment