स्थानविशेष कविता

कपिलवस्तु : दुई कविता

अस्तु बोकेर कपिलवस्तु
एउटा बेग्लै कौसी खोजिरहेछ
एउटा बेग्लै बागमती खोजिरहेछ।

नेपालभ्युज

कपिलवस्तु : दुई कविता

कपिलवस्तु

-विवश पोखरेल

टेक्दा अझै रगतका-
आला छिटाहरू टेकिन्छन्
हेर्दा अझै उदास-
आँखाहरू देखिन्छन्
माटाका ढिस्काहरू देख्दा
लाग्छ, आफन्तका चिहानहरू
घरै नजिक छन्।

वन जल्नुभन्दा भयावह हुँदोरहेछ
मन जल्नुको पीडा
खुसी जल्नुको पीडा !
सपना जल्नुको पीडा !

अहिले आफ्नै आँगनमा-
सर्वस्व गुमाएर कपिलवस्तु
जिन्दगीको जुवामा-
देश हारेको शरणार्थी भएको छ
जहाँ मुटुहरू ढुंगा भएका छन्
मनहरू फलाम भएका छन्
आँखाहरू खोला भएका छन्।

आफ्नो भन्नुको अर्थमा
कपिलवस्तुसँग अहिले-
मात्र अलिकति- चोटहरू बाँकी छन्
मात्र अलिकति- आँसु बाँकी छ
र छटपटीहरू बाँकी छन्
निरीह कपिलवस्तु-
एउटा सहज कोल्टो फेर्दै
निर्धक्क-
निदाउन पनि सकिरहेको छैन
निर्धक्क-
ब्युँझन पनि सकिरहेको छैन
प्रत्येक झप्काइसँगै
कपिलवस्तु आफूलाई-
हूलका हूल राक्षसहरूले
लखेटिरहेको सपना देख्छ
असंख्य जल्लादहरूले-
आगो झोसिरहेको सपना देख्छ
हुरहुरी चिन्तामा-
आफैँ सल्किरहेको सपना देख्छ
विसर्जनका लागि-
हातमा आफ्नै
अस्तु बोकेर कपिलवस्तु
एउटा बेग्लै कौसी खोजिरहेछ
एउटा बेग्लै बागमती खोजिरहेछ।

सिंहदरबार !
तिमी त साह्रै निर्दयी रहेछौ
तिमीलाई अलिकति पनि
कपिलवस्तु दुख्दैन ?
खुरहुरिया दुख्दैन ?
चन्द्रौटा दुख्दैन ? कृष्णनगर दुख्दैन
असंख्य निर्दयी साँढेहरूबाट-
बलात्कृत कोमल फूलहरूको
आँसु दुख्दैन ? घाउ दुख्दैन ?

कपिलवस्तु सम्झँदा-
लाग्छ,
म आफ्नै प्रिय देशको मृत्युमा
मलामी गएर फर्किरहेको छु
आफ्नै माटोको-
अत्येष्टि गरेर फर्किरहेको छु।
आफ्नै बुद्धको-
आशौच बारेर फर्किरहेको छु।

०००

कपिलवस्तुको काशीराम

-गणेश भण्डारी

नजिकैको अडहरबारीबाट
निकालिँदै छन् कुहेका लासहरू
उखुबारी र धानका गराहरूबाट
बटुलिँदै छन् नश्वर अस्थिका टुक्राहरू
कराहीमा पाकेको तेलजस्तै मन पकाएर
पहेँलो साँझको अलिनो प्रकाशमा
चार बीस पुगेको काशीराम
खोजिरहेछ अस्ति हराएकी आफ्नी युवती नातिनी
वयस्क छोरा र बुहारीहरू।

च्यातिएको इस्टकोटबाट सहजै देखिएको छ
उसको छाती
र देखिएका छन् मसिना करङहरू
जसबाट पढ्न सकिन्छ उसको विदीर्ण वृत्तचित्र।

सेतै फुलेको तिहुरी फूलझैँ
फुलेका छन् केस र आँखीभौंहरू
एक चम्चा पानी अट्ने गरी कोक्रिएका छन् गालाहरू
कलेटी परेका ओठहरू
भित्र पसेका आँखाहरू झिमझिम पार्दै
खोजिरहेछ काशीराम हुरहुर जलेर खरानी बनेको
आफ्नो बुकुरोको भग्नावशेष।

तर्साउन आउने दुस्वप्नजस्तो
सम्झिरहन्छ ऊ त्यो घटना
र तर्सिरहन्छ बाघको मुखमा परेको बाख्रोझैँ
तापाग्नीको रापले सुकेको सुकुटीझैँ
घामले डढेका मसिना औंलाहरू भाँचेर
पर्गेल्ने प्रयास गर्दै छ ऊ आफ्ना दोषहरू
जसका कारण उसले सर्वस्व गुमाउनुप¥यो
आँखामा तरंगवती फुटाउनुप¥यो
दिग्दाह कपिलवस्तुको आकाशको छातामुनि बसेर
जति जोडघटाउ गरे पनि मिल्दैन हिसाब उसको
यत्रो नसियतको भागिदार ऊ हो भनेर

अल्पतनु काशीराम उच्छवासले प्रधुमित बनिरहेछ
र बगुन्द्र फुसफुसाइरहेछ एक्लै
सम्झिरहेछ आफ्नो उमेर, सम्झिरहेछ ऊ यो व्यवस्था

प्रारब्ध ठान्दैन यसलाई ऊ
र ठान्दैन दुर्घटना पनि
मान्दैन आकस्मिकता र काकताली पनि
सम्झिरहेछ ऊ पुरानो उखान-
बलहठ र राजहठ उस्तैउस्तै हो।

गोली लागेर बचेको योद्धाझैँ
रगतैरगत देखिरहेछ ऊ पर्यावरणभरि
पातलो तन्नाले रगत छोपिएको छ
उसको घाउमा फिटकिरी दलिरहेछन् तमासे
राहत दिने अधिकारी र
नातिनीको बलात्कार गर्ने अपराधी
उसलाई उस्तैउस्तै लाग्छ
उसको सर्वस्व लुट्ने अपराधी
र फिटकिरी दल्ने तमासे
उसलाई उस्तैउस्तै लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved