पटक पटक उन्मुक्ति दिँदाको दुष्परिणाम, लेटाङका ‘चरित्रहीन’ शिक्षक

विद्यालयले बनाएको थियो छुट्टै ‘रेकर्ड फाइल’

उजुरीमा शिक्षक पौडेलले विद्यार्थीलाई सिकाउने बहानामा ढाडमा छुने र सुमसुम्याउने गरेको विषय उल्लेख गरिएको थियो। “विगत समयको समस्या पुनः दोहोरिएको’ भनेर लिखित निवेदन परेपछि विद्यालयले उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, केही भएन। ‘सरी’ भनेर मुद्दा किनारा लगाइयो।

पटक पटक उन्मुक्ति दिँदाको दुष्परिणाम, लेटाङका ‘चरित्रहीन’ शिक्षक

विराटनगर। भनिन्छ, विद्यालय मन्दिर हो र शिक्षकहरू मार्गदर्शक। शिक्षकहरूलाई मैनबत्ती भनिने गरिन्छ। जो आफू जलेर भए पनि अरूलाई उज्यालो छर्छन्। तर, मोरङ लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक मनोजप्रसाद पौडेल यस्ता छैनन्।

‘एमपी’ सर अर्थात् वर्ष ५६ का मनोजप्रसाद पौडेल मोरङको लेटाङ-५ स्थित शिक्षा विकास माविका शिक्षक हुन्। उनले पढाउने विषय हो, सामाजिक तथा नैतिक शिक्षा। २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आइरहेका थिए।

तर, पौडेलको व्यक्तिगत आचरण भने उनले पढाउने विषयभन्दा ठ्याक्कै उल्टो रहेको उनी नै संलग्न पछिल्लो घटनाक्रमले देखाउँछ।

विद्यालयमा दर्ता भएका उजुरी, स्थानीय बासिन्दाको भनाइ र विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीको गुनासाले पनि त्यही देखाउँछ। विद्यालयमा अध्ययनरत छात्राहरूको सवालमा शिक्षक पौडेलको नैतिक आचरण सधैं खराब रहेको विद्यालयकै केही शिक्षकहरू बताउँछन्।

विद्यालयका तत्कालीन प्रधानाध्यापक डिल्लीराम ओझा भन्छन्, “मेरो पालमा यी यस्ता घटनाहरू भइरहन्थे। मैले कयौंपटक उहाँलाई सम्झाएँ पनि। तर, उहाँ रोकिनुभएन्। विद्यार्थीले दिएको लिखित उजुरीलाई आधार बनाएर एकपटक मैले उहाँलाई ७ दिने लिखित स्पष्टीकरणसमेत सोधेको थिएँ। जवाफ आएन। उहाँले माफी मागेर उन्मुक्ति पाउनुभयो।”

२३ जेठ २०७३ मा कक्षा ६ मा पढ्ने छात्राहरूले शिक्षक पौडेलविरुद्ध विद्यालयमा उजुरी दिएका थिए। उजुरीमा शिक्षक पौडेलले विद्यार्थीलाई सिकाउने बहानामा ढाडमा छुने र सुमसुम्याउने गरेको विषय उल्लेख गरिएको थियो। “विगत समयको समस्या पुनः दोहोरिएको’ भनेर लिखित निवेदन परेपछि विद्यालयले उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, केही भएन। ‘सरी’ भनेर मुद्दा किनारा लगाइयो।

शिक्षक पौडेलविरुद्ध विद्यालयमा यसअघि पनि कैयौंपटक उजुरी र गुनासाहरू आएका विद्यालय व्यवस्थापन समिति बताउँछ। व्यवस्थापन समितिका अनुसार पौडेलविरुद्ध उजुरीको चाङ यति ठूलो छ कि विद्यालय प्रशासनले रेकर्ड राख्न छुट्टै फाइल नै बनाएको छ। फाइलका नाम हो, ‘एमपी’।

मंगलबार मानवअधिकार क्षेत्रमा कम गर्दै आएको ‘इन्सेक’ प्रदेश नं. १ को टोली घटनास्थल पुग्दा भेटिएका एक छात्रले भने, “कक्षामा सरले हामी केटाहरू र केटीहरूलाई गर्ने व्यवहार फरक हुन्थ्यो। हामीलाई बेस्सरी कुट्नुहुन्थ्यो। तर केटीहरूलाई कुट्दा पनि ढाँड सुमसुम्याउने र असहज रूपमा छुने गर्नुहुन्थ्यो। मैले प्रत्यक्ष देखेको छु।”

२०७४ साल फागुनमा पनि कक्षा ४ र ५ का ६ जनाभन्दा बढी छात्राहरूले शिक्षक पौडेलविरुद्ध विद्यालयमा मौखिक उजुरी गरेका थिए। उजुरीपश्चात् गल्ती नदोहोर्‍याउने सहमतिसहित शिक्षक पौडेलले माफी पाएका थिए।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरबहादुर श्रेष्ठ, तत्कालीन प्रधानाध्यापक ओझा, सहायक प्रधानाध्यापक जीवन पौडेल र उजुरी गर्ने विद्यार्थीहरू सहित सहमति पत्रमा हस्ताक्षर गर्दै उनले भनेका थिए, “गल्ती फेरि दोहोरिए विद्यालयले गर्ने कारबाही मञ्जुर हुनेछ।”

तर, सहमतिपश्चात् पनि उनको त्यो व्यवहारमा परिवर्तन नआएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार शिक्षक पौडलका लागि बनाइएको ‘एमपी’ फाइलमा २०७३ यता ३ वटा उजुरी परिसकेका छन्। त्यसबाहेक उनलाई सोधिएको स्पष्टीकरण, बैठकमा सोधिएका प्रश्न र विद्यार्थीहरूले दिएको लिखित उजुरीहरू पनि फाइलमा सुरक्षित छन्।

गएको शुक्रबार ४ गते फागु पूर्णिमाका दिन घरमै आएर शिक्षक पौडेलले यौन दुर्व्यवहार गरेपछि उनको वास्तविकता उजागर भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले नेपाल भ्यूजलाई बताए। उनले भने, “आइतबार कक्षा ७ मा अध्ययनरत १२ वर्षीया ती छात्राले लिखित उजुरी दिएपछि घटनाले ठूलो रूप लिएको हो।”

छात्राको उजुरीपछि प्रधानाध्यापक मिश्रले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष भूमसूर्य मगर र लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलालाई खबर गरेका थिए।

वडाध्यक्षसँगै पुगेकी उपमेयर निरौलाले उजुरी दिने विद्यार्थीसँगै आरोपी शिक्षक पौडेलसँग सोधपुछ गरेकी थिइन्। शिक्षक पौडेलले आफ्नो बचाउ गर्दै आरोेपहरू निराधार रहेको भन्दै प्रमाण पेश गर्न चुनौती दिएका थिए।

शिक्षकले प्रमाण पेश गर्न चुनौती दिएपछि बालबालिकाका लागि दिउँसो खाजा बोकेर विद्यालय आएका महिला अभिभावकहरूले शिक्षकलाई यसअघि जस्तै संरक्षण गर्न खोजिएको भन्दै विरोधस्वरूप प्रदर्शनसमेत गरेका थिए। सोही क्रममा विद्यालयमा आगजनी र तोडफोड प्रयास भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उनीहरूका अनुसार विद्यार्थी र अभिभावकको प्रदर्शन बढ्दै जाँदा अत्तालिएकी पीडित विद्यार्थी बेहोससमेत भएकी थिइन्। यसले भीडलाई झन् आक्रोशित बनायो। ‘शुरुमा विद्यार्थी र अभिभावकले मात्र प्रदर्शन गरिरहेका थिए। ४ बजेपछि उनीहरू घर गए,” स्थानीय वीरबहादुर तामाङले भने, “विद्यार्थी र अभिभावक गए पनि स्कुलमा ठूलो भीड जम्मा भइसकेको थियो। भीडको माग थियो, शिक्षकलाई उनीहरूको जिम्मा लगाउनुपर्ने।’

आक्रोशित प्रदर्शनकारीहरूको समूहले आरोपी शिक्षक पौडेललाई आफूहरूको जिम्मा लगाउनुपर्ने बताएका थिए। शिक्षकलाई मोसो दलेर लेटाङ बजार घुुमाउन दिइनुपर्ने उनीहरूको माग थियो। तर, घटनास्थलमा सानो संख्यामा परिचालित प्रहरीको टोलीले त्यसो गर्न नमिल्ने बताएपछि झडपको अवस्था सिर्जना भएको स्थानीय बताउँछन्।

“शुरुमा दुई जना प्रहरी मात्रै आउनुभयो। अवस्था तनावग्रस्त बन्दै गएपछि थपिनुभयो,” एक स्थानीयले भने, “प्रहरीसँग शिक्षकलाई लैजाने गाडीसमेत थिएन। बुझ्दै जाँदा इप्रका लेटाङको गाडी एक आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका निम्ति म्याद थप्न लागि विराटनगरस्थित जिल्ला अदालत मोरङ लगिएको रहेछ।”

प्रहरीसँग आफ्नै गाडी नभएपछि परिचालित टोलीले शिक्षक पौडलेलाई एम्बुलेन्समा राखेर घटनास्थलबाट निस्कने प्रयास गरेको थियो। तर, विद्यार्थीले गेट छेकेर एम्बुलेन्ससमेत तोडफोड गरे।

एम्बुलेन्समा समेत लैजाने प्रयास विफल भएपछि प्रहरीले उनलाई पुनः विद्यालयको बैठक कक्षमा ल्याएर राखे। त्यसपछि बेलबारी र पथरीबाट प्रहरीको थप टोली विद्यालयमा मगाइयो।

तर, उनीहरूले पनि आरोपी शिक्षकलाई विद्यालय परिसरबाट लिएर जान सकेनन्। नसकेपछि विराटनगरबाट अर्को टोली झिकाइयो। तर, त्यो टोली घटनास्थल नपुग्दै आक्रोशित भीडले शिक्षकलाई राखिएको बैठक कक्षको झ्याल ढोका फुटाउनुका साथै प्रधानाध्यापक मिश्रको कार्यालयमा समेत तोडफोड र आगजनीको प्रयास गरिसकेका थिए।

त्यस क्रममा प्रधानाध्यापक मिश्र घाइतेसमेत भएको एक शिक्षकले बताए। उनका अनुसार विराटनगरबाट प्रहरीको टोली आएपछि मात्र राति करिब साढे ७ बजे आरोपी शिक्षक पौडेललाई विद्यालयबाट बाहिर निकालिएको थियो।

तर, स्कुलबाट करिब डेढ किलोमिटर टाढा पुग्दा शिक्षकसहित प्रहरीको टोली आक्रोशित समूहको निशानामा परेपछि आक्रमणको शिकार भएको घटनास्थलमा परिचालित एक महिला प्रहरीले नेपालभ्यूजलाई बताइन्।

“स्कुलबाट पछ्याएको समूहलाई रोक्दै अघि बढिरहेका थियौं। चोक नजिक आएपछि तीनतिरबाट आक्रमण भयो,” उनीले भनिन्, “स्थानीय र विद्यार्थीबाहेक पनि बाहिरबाट केही समूह आएका रहेछन्। त्यसै क्रममा हामीले एक प्रहरी जवान गुमाउनुपरेको हो।”

भीडले प्रहरी जवान उर्मिला श्रेष्ठलाई तानेर लगेको र घाँटीमा छुरा प्रहार गरेको मोरङ प्रहरीका एसपी जर्नादश जीसीले बताए। उनले भने, “सँगै हिँडिरहेकी उनलाई तानेर लगेर चक्कुले रेटेका हुन्। दोषीलाई कारबाहीमा कुनै कसर बाँकी राख्दैनौं।”

लेटाङमा प्रहरीको हत्या भएपछि सम्भावित जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले हाल चारकिल्ला सीमानाभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले बुधबारदेखि दिनको बिहानको समयमा ४ घण्टा र बेलुकीको समयमा २ घण्टा हिँडडुल गर्न पाउने गरि कर्फ्यु जारी राख्ने निर्णय गरेको छ।

मोरङ प्रशासनले भने सोमबारदेखि नै कर्फ्यु लगाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved