मधेशमा चुनावी सरगर्मी, नेता-कार्यकर्ता दौडधूपमा

मधेशमा चुनावी सरगर्मी, नेता-कार्यकर्ता दौडधूपमा

जनकपुरधाम । स्थानीय तहको चुनावको समय नजिकिँदै गर्दा मधेश प्रदेशमा राजनीतिक दलहरु चुनाव केन्द्रित कार्यक्रम र तयारी अभियानमा जुटेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीदेखि लिएर सिके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीहरु चुनाव केन्द्रित कार्यक्रमहरुको साथै आन्तरिक तयारीमा जुटेका छन्।

यतिबेला चुनावलाई नै लक्षित गरी हरेक पार्टीका शीर्ष नेताहरु पनि मधेस प्रदेशका राजधानी आउने जाने क्रम तिव्र पारेको देखिएको छ। यसै क्रममा आज जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउने कार्यक्रम छ।

त्यसैगरी मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु पनि विभिन्‍न कार्यक्रममा व्यस्त छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव दुई दिनदेखि मधेश प्रदेशमा रहेका छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुरदेखि वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा पनि सोमबार नै जनकपुरधाम आइपुगेका छन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले अहिलेदेखि नै आन्तरिक रुपमा उम्मेदवार चयनको तयारी थालेका छन्। कार्यकर्ता तथा जिल्लाका नेताहरु पनि टिकटका लागि शीर्ष नेताहरु कहाँ धाउने क्रम बढेको छ।

जनकपुरधाम उपमहननगरपालिकामा लोसपाभित्रै मेयर-उपमेयरका धेरै आकांक्षी देखिएका छन्, लोसपमा प्रदेश सांसद् परमेश्वर साह, मनोज चौधरी, जानकी राम लगायतले मेयर बन्‍ने आकांक्षा देखाएका छन्।

उनीहरू अहिलेदेखि नै सो पार्टीका शीर्ष नेताहरुको जनकपुरधामस्थित आवासमा जाने गरेका छन्।

त्यस्तै जसपाका अध्यक्ष यादवले पनि मधेश प्रदेशका सबै जिल्लामा चुनावको तयारीमा लाग्न नेता तथा कार्यकतालाई निर्देशन दिइसकेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टीका स्थानीय कमिटीले टिकट वितरण गर्ने निर्णय भएपनि अध्यक्ष यादवले नेता तथा कार्यकर्ताभित्र रहेका असन्तुष्टीलाई साम्य पार्नका लागि आफैं सक्रिय भएर लागेका छन्।

त्यस्तै, कांग्रेस नेता विमलेन्द्र निधिको सक्रियता पनि बढेको छ।

यता, जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ। त्यस्तै,  तमलोपाले पनि मधेश प्रदेशका सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved