लेटाङ घटनाको यथार्थ: स्थानीयले कानून हातमा लिँदा महिला प्रहरीको हत्या

स्थानीयले आरोपित शिक्षकलाई आफूहरूले मोसो दलेर बजार परिक्रमा गराउन पाउनुपर्ने र त्यसपछि मात्र प्रहरीको जिम्मा लगाउने बताएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

लेटाङ घटनाको यथार्थ: स्थानीयले कानून हातमा लिँदा महिला प्रहरीको हत्या

लेटाङ (मोरङ)। मोरङको लेटाङमा सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार गरी हत्या भएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। उक्त आपराधिक घटनामा संलग्न भएको आशंकामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मोरङको लेटाङ–५, खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन–दुर्व्यवहार गरेको आरोपमा गत राति स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो।

शिक्षकले १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै स्थानीय आक्रोशित भएका थिए। स्थानीयले शिक्षकलाई आफूहरूले मोसो दलेर बजार परिक्रमा गराउन पाउनुपर्ने र त्यसपछि मात्र शिक्षकलाई प्रहरीको जिम्मा लगाउने बताएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। त्यही क्रममा प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि गरेको अन्धाधुन्द आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रोशित भीडबाट छुरा प्रहार हुँदा मृत्यु भएकी प्रहरी जवान श्रेष्ठ

उक्त आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २८ जना सुरक्षाकर्मी र सात जना प्रदर्शनकारी घाइते भएको मोरङ प्रशासनले जनाएको छ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनासम्बन्धी सुक्ष्म अनुसन्धानका लागि शंकास्पद देखिएका ६ जनालाई नियन्त्रणमा लिइएको नेपालभ्यूजलाई जानकारी दिए। प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न रहेको आशङ्कामा ६ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको परिचय प्रहरीले गोप्य राखेको छ।

प्रशासनका अनुसार, अवस्था पुनः पनि असामान्य बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लेटाङमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ।

घटनापछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

के हो लेटाङ घटना ?

गत चैत्र ४ गते शुक्रबार फागु पुर्णिमाका दिन मोरङको लेटाङ–५, खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेल कक्षा ६ मा पढ्ने एक छात्राको घर पुगेका थिए। पौडेल छात्राका सामाजिक शिक्षा पढाउने शिक्षक हुन्।

प्रहरीले दिएको जानकारीअनुसार, घरमा पुग्नेबित्तिकै वर्ष ५६ का ती शिक्षकले १२ वर्षीया छात्रासँग पानी मागेका थिए। पानी दिने क्रममा शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।

प्रहरीसँग छात्राले भनेकी छिन्, “होलीको दिन भएकाले बिहानैदेखि पाहुनाहरू आउजाउ भइरहेको थियो। सोही क्रममा सर पनि आउनुभयो। घरमा कोही पनि हुनुहुन्नथ्यो। सरले पानी माग्नुभयो। उहाँ पहिले पनि घर आइरहनु हुन्थ्यो। तर, त्यो दिन पानी ल्याएर दिने क्रममा उहाँले संवेदनशील अङ्गमा हात लगाउने प्रयास गर्नुभयो।”

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, गत तिहारयता शिक्षक पौडेल पटक–पटक छात्राको घर आउने–जाने गर्थे। छात्राको बयानअनुसार, ती शिक्षकले यसअघि पनि उनीमाथि दुर्व्यवहार गरेका रहेछन्। पटक-पटक घर आउने, पानी माग्ने अनि दुर्व्यवहार गर्ने त्यसअघि पनि गरेको छात्राले प्रहरीसँगको बयानमा बताएकी छिन्।

छात्राले आइतबार पनि शिक्षकबाट दुर्व्यवहार भएको बताएपछि वडाध्यक्ष लगायतको समूहले प्रहरी बोलाएका थिए तर स्थानीय बासिन्दा र विद्यार्थीहरुले शिक्षकलाई आफूहरूले मोसो दलेर लेटाङ घुमाउने भन्दै प्रहरीलाई शिक्षक सुम्पन अस्वीकार गरे। प्रहरीले भने शिक्षकलाई नसुम्पिएर जोगाउन खोजिएको रूपमा बुझ्यो। त्यसपछि प्रहरीले बल प्रयोग गर्‍यो। लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले स्थानीयले शिक्षकलाई जोगाउन खोजेको बुझेपछि झडपको अवस्था सिर्जना भएको बताए।

शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दाले बालिका दुर्व्यवहार गर्ने ती शिक्षकलाई आफूहरुको जिम्मा लगाउनुपर्ने माग गरेका थिए। प्रहरीले मोसो दलेर बजार घुमाउन दिनसक्ने अवस्था पनि हुँदैनथ्यो त्यसैले प्रहरी त्यसमा सहमत हुनसकेन।

प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको नगरप्रमुख राईले बताए। उनले भने, “हामीले शिक्षकलाई प्रहरीको जिम्मा लगाउन आँटेका थियौँ तर विद्यालयका अन्य विद्यार्थी र स्थानीय बासिन्दाले शिक्षक हाम्रो जिम्मा दिनूस, हामी कालोमोसो दलेर लेटाङबजार घुमाउँछौँ भन्न थाले। त्यसमा प्रहरीको विमति जनायो। त्यसपश्चात घटना भएको हो।”

विद्यार्थी र स्थानीय बासिन्दाले आइतबार दिउँसो नै ती शिक्षक र स्थानीय जनप्रतिनिधिलाई नियन्त्रणमा लिई कोठामा थुनेका थिए। त्यसपछि प्रदर्शनमा उत्रिएको स्थानीय बासिन्दा र विद्यार्थीले आगजनी समेत गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरुले आरोपित शिक्षकको पनि मोटरसाइकल जलाइदिएका थिए। स्थानीय जनप्रतिनिधिले शिक्षकलाई नियन्त्रणमा लिएर जोगाउने प्रयास गरेको रूपमा बुझेपछि विद्यार्थी र स्थानीय आक्रोशित भएका थिए।

आगजनीपश्चात् अवस्था असामान्य बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ सेल अश्रुग्यास र हवाई फायर समेत गरेको थियो तर पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीको बल प्रयोगपश्चात् प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए। उनले भने, ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि उहाँको अवस्था गम्भीर बनेको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँले ज्यान गुमाउनुभएको हो।’

झडपमा को–को घाइते भए ? (नामसहित)

मोरङको लेटाङमा आईतबार भएको घटना परी मोरङ प्रहरीका प्रहरी उपरीक्षक जर्नादन जिसीसहित २८ जना प्रहरी र ७ जना स्थानीय घाईते भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार घटनामा परि एसपी जिसीको खुट्टामा चोट लागेको र उनका बडीगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन्।

१ नं. प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार ३८ वर्षीय कृष्ण कुमार यादव, ३६ वर्षीय उमेश वरही, ३६ वर्षीय संगीता प्रसाई र ३९ वर्षीय सञ्जय यादव पनि घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए। घटनामा परी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार ३९ वर्षीय खुबी सावा, प्रहरी जवान २१ वर्षीय जाबुक खड्का, २५ वर्षीय लाल मिश्रा, २६ वर्षीय सञ्जय भुजेल, २४ वर्षीय बिमल धिमाल र २१ वर्षीय दिपक कुमार यादव पनि घाईते भएको उनले जानकारी दिए।

यसैगरि झडपमा इलाका प्रहरी कार्यालय लेटाङका ३८ वर्षीय सन्त बहादुर मगर, ३५ वर्षीय मिक्वा योङहाङ, ४१ वर्षीय शिव कुमार यादव र ३८ वर्षीय रेनुका सोनाम पनि घाईते भएका छन्। यसबाहेक ३६ वर्षीय दिपेश राय, ३१ वर्षीय मनिता राई र ४० वर्षीय धुव्रबहादुर कार्की समेत घाईते भएको जनाईएको छ।

उनीहरुको विराटनगरस्थित कोशी अस्पताल र नोबेल शिक्षण अस्पताल उपचार जारी रहेको र अन्य ६ जना उपचारपछि फर्किएको प्रहरी स्रोतमार्फतको जानकारी छ। प्राप्त जानकारी अनुसार घटनामा घाईते भएका स्थानीय लेटाङ–८ का मिलन खड्का र लेटाङ–५ का ३३ वर्षीय आयुष लिम्बू सहित ७ जनाको नोबेल र कोशीमा उपचार भईरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved