उपराष्ट्रपति पुनले सोधेः कोही करोडौं खर्चेर उपचार गर्ने, कोहीले चाहिँ सिटामोल पनि नपाउने ?

नेपालभ्युज

उपराष्ट्रपति पुनले सोधेः कोही करोडौं खर्चेर उपचार गर्ने, कोहीले चाहिँ सिटामोल पनि नपाउने ?

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा उनले धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको बताए।

उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरू भए पनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए। “सबै मान्छेहरू समान हुनुपर्छ। मान्छे मान्छे बीचमा विभेद हुनुहुँदैन। असमानता हुनुहुँदैन। कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरूले पढ्न नपाउने, कोहीले चाहिँ लाखौँ करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नु पर्ने यो कस्तो असमानता ? यो खालको विभेद, यो खालको असमानता किन छ समाजमा ? त्यसकारण हामीले भन्ने गरेका छौँ समानता हुनुपर्दछ। विभेदको अन्त्य हुनुपर्दछ।”

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए। सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए।

उनले अनुशासित, नैतिकवान, पारदर्शि र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved