प्रिय कथा

प्रतिगामी

प्रतिगामी

(रचनागर्भ- निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको २०४६/४७ सालको आन्दोलन सफल भई बहुदलीय शासन व्यवस्थाको स्थापना भएपछि आमजनताका आकांक्षाहरू निकै फैलिएका थिए। जनताले व्यवस्थासँगै अवस्था पनि फेरिने आशा राख्नु स्वभाविक पनि थियो। तर, व्यवस्था बदलिँदैमा आमजनताको अवस्था बदलिँदैन भन्ने कुरा त्यो राजनीतिक परिवर्तन भएको तीन चार वर्षमै प्रष्ट भइसकेको थियो। अध्ययन गर्न भारत प्रवासमा रहँदा विद्यार्थी राजनीतिमा सक्रिय तर नेपाल फर्केर निजामती सेवामा प्रवेश गरेपछि खुम्चिएको मभित्रको राजनीतिक व्यक्तित्व खुकुलो र सहज वातावरण पाएपछि जुर्मुराउँदा २०४६ पछि म राजनीतिक रुपमा अलि बढी नै संलग्न भएकोे थिएँ। फलस्वरुप २०४९ को अन्त्यतिर केन्द्रमा सत्तारुढ पार्टीका जिल्लास्तरीय नेताहरूको सिफारिसमा मेरो सरुवा दाङबाट रुपन्देहीमा भयो।

बेंगलोर पढ्न जानु पहिले २०३७/३८ सालदेखि नै मलाई माथिल्लो श्वासप्रश्वास प्रणालीको रोगले सताउन शुरु गरेको थियो। हरेक एक डेढ महीनामा रुघाखोकी लाग्ने, सिँगान बग्ने, ज्वरो आउने, टाउको दुख्ने र नाक बन्द हुने हुन्थ्यो। छात्रवृत्ति पाएर पढ्न बेंगलोर गएपछि यो समस्या झन् बढ्यो। डाक्टरलाई देखाउदा समस्या पार्थेनियम घाँसको बिउले हुने एलर्जिक राइनाइटिस भएको र खासै केही गर्न नसकिने भन्ने सल्लाह मात्र पाइयो। फलस्वरुप पाँच वर्षे बेंगलोर बसाइ सिँगान पुछ्दै, पटक-पटक बिरामी हुँदै बिताइयो। समस्या लामो समयसम्म रहेपछि मैले गन्ध, बास्ना थाहा नपाउने भएँ।

भैरहवा सरुवा भएपछि रोगले धेरै सताउँदा उपचार गराउन तत्कालीन अञ्चल अस्पताल बुटवलका नाक, कान, घाँटी विशेषज्ञ डा. काशीराज ज्ञवालीको शरणमा पुगेँ। क्रोनिकएलर्जिक राइनाइटिस उहाँले पनि रोगको निदान गर्नुभयो र अन्य उपचारविधिको साथै मलाई एक महीनासम्म कार्टिकोस्टेरोइड सेवन गर्ने सल्लाह दिनु भयो। एक हप्तासम्म औषधि खाएपछि म गन्ध, बास्ना थाहा पाउने भएँ। अत्यन्त रमाइलो पनि लाग्यो। मेरो आहारा बढ्यो। तर, दुई जनालाई पकाएको खाना एक्लै खाए पनि भोक लागिरहन्थ्यो र कमजोरी पनि महसुस भइरहन्थ्यो। खाना बढेसँगै तौल बढेर तीन हप्तामा ५८ केजीबाट ७० केजी भयो। हुँदाहुँदा पन्ध्र-बीस मिनेट लगातार उभिन पनि नसक्ने भएपछि म पुनः डा. ज्ञवालीजीकहाँ गएँ। उहाँले औषधि बन्द गराइदिनु भयो। औषधि बन्द गरेको दुई हप्ताजतिमा फर्केको मेरो घ्राणशक्ति पनि हरायो र म फेरि गन्ध वा बास्ना थाहा नपाउने भएँ।

यही पृष्ठभूमिमा लेखिएको यो कथा पहिले ‘तन्नेरी’ पत्रिकामा र पछि नकुल सिलवालजीले प्रकाशन गर्ने ‘बगर’को उत्कृष्ट रचना-विशेषाङ्क २०५२ मा प्रकाशित भएको थियो।)

डाक्टरको क्लिनिकबाट निराश भएर कोठामा फर्केपछि प्रतापमान पछिल्लो दुई घण्टादेखि लगातार निराश भइरहेको थियो र निराश हुनुको कुनै हद नहुने कुरा ऊ अहिले महसुस गरिरहेको थियो। श्रीमती बच्चाबच्चीसहित माइती गएकी थिई र घरमा निराश हुने वातावरण प्रतापमानको लागि अत्यन्त अनुकूल थियो।
प्रतापमानले साँझको घट्ना सम्झ्यो।

-भन्नोस् . . . . . .कस्तो छ ?
प्रतापमानलाई देख्ने बित्तिकै डाक्टर मुस्कुराएको थियो।

-रोग त ठिक छ तर . . . . . .
प्रतापमान कुरा खुलस्त गर्न हिच्किचाएपछि डाक्टर पुनः मुस्कुराएको थियो र त्यतिखेर डाक्टरको अनुहारमा “मैले भनेकै थिए नि” भन्ने भाव स्पष्ट देखिन्थ्यो।

-ठीक छ भने राम्रो भो। अरू कुनै समस्या ?
डाक्टरले उसको “तर” सम्झ्यो शायद।

-समस्या छैनन् र सबै ठीक छ, तर . . . . .
उसले कुरा खोल्न सकेन। फेरि “तर” मै ल्याएर बिसायो।

-भन्नोस् …. भन्नोस् . . .. . .
डाक्टरमा धैर्य त थियो तर त्यो धैर्य धेरैबेर नटिक्ने भने उसको बोलीबाट प्रष्ट बुझिन्थ्यो।

-मेरो नाक पहिले जस्तो बनाउन सकिन्न होला ? रोग ठीक भएर त समस्या पो भयो।
आखिर प्रतापमानले कुरा खोल्यो। डाक्टरको अनुहारलाई साँच्चिकै परम आश्चर्यको भावले छपक्क छोप्यो।

-होसमा त हुनुहुन्छ ?

डाक्टर प्रतापमानको अनुहार नियाल्दै थियो। रोग ठीक गराउन चाहने धेरै बिरामी भेटेको भए पनि ठिक भइसकेको रोगलाई फर्काउन खोज्ने “बिरामी” डाक्टरले निश्चय नै पहिलो पटक भेटेको थियो र डाक्टर प्रतापमानलाई गँजडी वा जड्याँहा ठानिरहेको थियो।

-होसमै छु र धेरै सोचेर मात्रै हजुर कहाँ आएको छु। पहिले जस्तै बनाउन सकिने भए … . . . …. .
प्रतापमान लगभग बिन्ती गर्ने तहमा झर्‍यो।

-रोग फर्काउने काम मेरो होइन र फेरि . . . . . .त्यस्तो कुनै उपाय पनि छैन . . . . .
डाक्टरको पारा चढिरहेको स्पष्ट देखिन्थ्यो। डाक्टरले घण्टी थिचेर अर्को बिरामी बोलाएपछि त्यहाँ बस्नु बेकार ठानेर प्रतापमान बाहिरिएको थियो र सञ्चो भइसकेको आफ्नो रोग पुनः नफर्र्किने थाहा पाएर निराश भएको प्रतापमान डाक्टरको क्लिनिकबाट फर्केर कोठामा आएपछि झन्झन् निराश भइरहेको थियो।

००

लगभग उन्नाइस-बीस वर्षको उमेरमा छत्तीस सालताका प्रतापमानलाई रुँघा लागेको थियो र अघिपछि जस्तो एक-डेढ हप्तामा नछोडेर त्यो रुँघाले उसलाई गाँजेको गाँज्यै पारिरह्यो। तर, नाक बग्ने, कपाल दुख्ने र पन्ध्र/बीस दिनमा ज्वरो आउने जस्ता स-साना समस्या बाहेक त्यो रोगले खासै फरक नल्याएको र दुर्गम ठाउँको बसाइ भएकोले प्रतापमानले उपचार गराउने प्रयास गरेन बरु रोगलाई पालिरह्यो। नाकबाट सिँगान बग्न कहिल्यै छोडेन र एउटा रुमाल खल्तीमा र एउटा रुमाल तकियामुनि घुसारेर प्रतापमान ठाउँ-कुठाउँ “सिं . . . .” गर्र्दै, “आक्छी. . . . .” गर्दै जिन्दगीलाई धकेल्दै गयो। प्रतापमानले नोकरी गर्‍यो, बिहे गर्‍यो र छोराछोरी जन्माउने आदि सबै गर्नुपर्ने कामहरू गर्‍यो तर रुँघाले गर्दा उसको नाक भने गन्ध, बास्ना थाहा नपाउने भयो।

गन्ध, बास्ना थाहा नपाउने भएपछि सुरुसुरुमा प्रतापमानलाई अप्ठेरो नलागेको होइन प्रशस्त अप्ठेरो अनुभव भयो तर, बिस्तारै आदत पनि पर्‍यो। चार दिन पहिले मरेको कुकुरको छेउमा ऊ चार घण्टा बिताउन सक्थ्यो र अति प्रदूषित सडकको बीचमा निर्धक्कले हिँड्न पनि सक्थ्यो। एक प्रकारले सुँघ्ने शक्ति गुम्नुलाई प्रतापमानले राम्रै मान्यो किनभने सुँघ्न सक्ने हुँदा भन्दा सुँघ्न नसक्ने भएपछि जीवन सजिलो भएको थियो र बास्नाभन्दा गन्धको बीचमा बाँच्नुपर्ने निम्न मध्यम वर्गकोे भएर पनि ऊ निर्धक्कले बाँचेको थियो।

सुँघ्ने शक्ति गुमेकोमा प्रतापमानलाई सर्वप्रथम बिहे गरेपछि पछुतो लाग्यो। वरपरका सबै बस्तु र व्यक्तिको बास्ना-गन्ध परिचित र पुरानै भए पनि स्वास्नी उसको लागि नयाँ थिई र स्वास्नीको शरीर गन्ध आउँछ वा बास्ना ? थाहा नपाउने भएकोमा उसले खिन्नता अनुभव गरेको थियो।

नयाँ हुँदा प्रतापमानलाई केही भन्न नसके पनि अलि पुरानी भएपछि भने उसको नाक र विशेष गरी नाकबाट बाउन्न हप्ता, बाह्रै महिना र तीनसय पैसठ्ठी दिन नै लगातार बग्ने सिँगानप्रति स्वास्नीले विरोध जनाउन थाली। स्वास्नीको विरोध सिँगानले कट्कटिएका प्रतापमानका गोजीरुमाल धुनुप्रति थियो भने कहिलेकाहीँ विरोध लोग्नेस्वास्नीका नितान्त निजी क्षणमा समेत प्रतापमानलाई आउने एकनासको छिउँ र नाक सफा गराइले आफ्नो आनन्दमा पुग्ने खललप्रति पनि हुन्थ्यो।

पछिल्ला केही महिनादेखि स्वास्नीको विरोध झन् उग्र भएको थियो र डाक्टरकहाँ जाने दबाब धेरै परेपछि सधैँजस्तो कुनै बहाना बनाएर वा हजार-पन्ध्र सय रुपियाँको लोभ देखाएर समेत स्वास्नीलाई थाम्न नसकेपछि प्रतापमान ई.एन्.टी. विशेषज्ञकहाँ पुगेको थियो।

००

-एलर्जिक राइनाइटिस् !
डाक्टर अनुभवी हुनुपर्छ, उसको नाक फट्टाएर हेरेपछि र प्रतापमानसँग ससानो अन्तर्वार्ता लिएपछि घोषणा गर्‍यो।

-त्यसो भए ठीक हुन्न त डाक्टर साब ?
एलर्जी औषधिले ठीक नहुने आफूले सुनेको ज्ञानको भरमा प्रतापमानले चिन्ता पोख्यो।

-हुनु त पर्ने, हेरौं . . . . . .
डाक्टरले औषधि लेख्यो। फिस ठटायो र के खाने, के नखाने, के लगाउने, के नलगाउनेदेखि के गर्ने, के नगर्ने आदिबारे ससानो लेक्चरसमेत दियो।

रोग ठीक हुनेमा प्रतापमानलाई चार आनाजति पनि विश्वास थिएन तर स्वास्नीको डरले औषधि खाइरह्यो र एक बिहान चर्पीमा पसेको बेला गन्धको हल्का अनुभव गर्‍यो भने दारी सफा गरेपछि अफ्टर शेभ लगाउँदा बास्नाको पनि अनुभव गर्‍यो।

-यो त गजब भयो ! यस्तो गन्ध आउने चर्पीमा कसरी निर्वाह गर्‍यौ तिमीहरूले ?
गन्ध-बास्ना थाहा पाउने भएको खवर प्रतापमानले खुसी भएर सबभन्दा पहिले स्वास्नीलाई सुनायो भने स्वास्नीले अर्कोलाई र अर्कोले अर्कोलाई सुनाउँदै जाँदा नातागोता र परिचितहरूको बिच प्रतापमान पुनः सुँघ्न सक्ने भएको खबर कुनै राष्ट्रिय महत्वको विषय जत्तिकै चर्चित बन्यो।

००

सुँघ्ने शक्ति फर्केपछि निकै रमाइलो भयो। उसले स्वास्नीको शरीरको गन्ध थाहा पायो भने कतिपय कुराको बास्ना समेत थाहा पाउने भयो। तर, औषधि खा“दै जाँदा र सुँघ्ने शक्ति क्रमशः फर्किदै गर्दा नयाँनयाँ समस्याहरू पनि थपिन थाले। समस्याको सुरुवात उसले काम गर्ने अफिसबाटै भयो जहाँ लेखा अधिकृतको सहायक भएर उसले काम गथ्र्यो।

-यो पेमेन्ट गर्न त मिल्दैन कि ?
लेखा अधिकृतले चेक तयार पार्न अह्राएर दिएको बिलबाट गड्बडीको गन्ध आएपछि ऊ बिल लिएर हाकिमसमक्ष गयो र बिलबाट अनियमितताको गन्ध आएको उजुर गर्‍यो। यता केही दिनदेखि पेश्की फछ्र्योट र भुक्तानी आदिका निवेदनमा नत्थी हुने बिलमा उसले अनेकथरी गन्ध सुँघिरहेको थियो।

-हुन्छ म हेरौँला … …
हाकिमले प्रत्यक्षतः केही भनेन तर भोलिपल्ट नै उसको काम गर्ने फाँट अर्को भयो, जहाँ मेहनत बढी गर्नुपथ्र्यो भने मेहनतको तुलनामा जस र लाभ कम थियो।

-तोरीको तेल ठीक भएन। अबदेखि भटमासको तेल ल्याउनू।
तोरीको तेलबाट पाम आयलको गन्ध सुँघेर उसले तेल त बदल्यो तर तोरीको तेलको गन्ध आउन भने बन्द भएन। भटमास, तोरी, मुङ्फली, नरिवल सबै तेलबाट पाम आयलको गन्ध आएर ऊ तेल खानै नसक्ने भयो।

-ठीकै छ घिउ खाऊ त्यसो भए।
उसकी स्वास्नी तेलको साटो घिउ प्रयोग गर्न थाली तर, घिउमा पनि उसले बोसो, चिउरी र अनेकथरी गन्ध महसुस गर्न थाल्यो र स्वास्नी चिन्तित हुने गरी उसको आहारा घट्यो।

-तपाईंलाई हिजोआज रुच्नै छोड्यो . . . . .डाक्टरलाई पो देखाउनु पर्छ कि ?
स्वास्नी चिन्तित थिई।

चिन्तित प्रतापमान पनि कम थिएन किनभने ऊ संसारलाई हिजो जस्तो देख्थ्यो आज लगभग त्यसको उल्टो देखिरहेको थियो र यो उमेरमा आएर संसारलाई उल्टो तरिकाले बुझ्न थाल्नु चिन्ता मात्रै नभएर पीडाको समेत कारण थियो।

सत्ता पक्षका नेताको भाषणमा विकासको फल खाने दाउ र विरोधीको नारामा सत्ता प्राप्त गर्न नसकेको चीत्कारबाहेक प्रतापमानले सकारात्मक कुरा भेट्टाउन छोड्यो र यत्रो वर्षसम्म जुन विश्वासलाई जतनले बचाउँदै आयो ती सबै कुरा अब उल्टो देख्न थाल्यो। हुँदाहुँदा साथीहरूको मुस्कानमा षड्यन्त्र, श्रृङ्गारयुक्त युवतीको शरीरमा पेसा र हावामा प्रदूषणको गन्ध महसुस गर्न थालेपछि प्रतापमानलाई बाँच्नु ज्यादै निरस लाग्न थाल्यो। स्थिति कतिसम्म चरम भयो भने सात वर्षकी छोरी काखमा बस्न आउँदा समेत उसले स्वार्थ बास्ना आएको महसुस गर्न थाल्यो। फलतः प्रतापमान चिन्तित भयो भने हिजोका जो साथी, परिचित र नातेदार थिए सबै उसलाई शंकास्पदको लिस्टमा राखेर ऊबाट टाढिन लागे।

००

अनेकथरी गन्धबाट आक्रान्त प्रतापमान एक राति स्वास्नीको शरीरबाट आएको गन्धले नराम्रोसँग रन्थनियो।

-हैन, तिम्रो जिउको गन्ध आज बेग्लै छ नि ?
उसले स्वास्नीलाई कोट्यायो।
स्वास्नीको टाढाको भाइ नाता पर्ने एउटा जवान केटो जागिर खोज्ने क्रममा आएर एक हप्तादेखि प्रतापमानको घरमा बसेको थियो र स्वास्नीको शरीरबाट त्यो केटाको गन्ध प्रतापमानले प्रष्ट सुँघिरहेको थियो।

-तिम्रो जिउबाट त तिम्रो त्यो भाइको गन्ध पो आइरहेछ … … …
प्रतापमानले कुरा लुकाउन सकेन, प्रस्टै भन्यो।

-के रे !
स्वास्नी पहिले त अल्मलिई त्यसपछि रुँन थाली।

-अब म सँगै बस्न सक्दिन, तपाईंको दिमाग खुस्की सक्यो . . . . .
स्वास्नी झन् जोडजोडले रुँन थाली र रातभर रोएर बिहानै छोराछोरी च्यापेर माइतीतिर हिँडी।
प्रतापमानलाई दिनभर पछुतो लागिरह्यो। यत्रो वर्ष साथ दिने स्वास्नीलाई त्यसो नभन्नुपर्ने भन्ने सोचाइ र प्रष्टै गन्थ थाहा पाएपछि के गर्ने त ? भन्ने तर्ककाबीच दिनभर कुस्ताकुस्ती भइरह्यो र आखिर प्रतापमान सम्पूर्ण समस्याको जड दस-बाह्र वर्षपछि फर्किएको यही सुँध्नसक्ने क्षमता नै भएको टुंगोमा पुग्यो।

-यसरी त संसार चल्दैन।
दिनभर पटक-पटक सोचेपछि आज अफिसबाट प्रतापमान सिधै डाक्टरको क्लिनिकमा गएको थियो र डाक्टरले मद्दत गर्न नसक्ने जवाफ दिएपछि कोठामा आएर लगातार निराश भइरहेको थियो।

००

सुँघ्ने शक्ति फर्किएपछि घटनाभन्दा दुर्घटना बढी भइरहेका, नोकरी छुट्ने सम्भावना बढेको, बाँच्नै मुस्किल परेको र हुँदाहुँदा स्वास्नीसमेत छुट्न लागेकोले बाध्य भएर ऊ पुरानै स्थितिमा फर्किने निर्णयमा पुगेको थियो। तर, डाक्टरले त्यसो गर्न सम्भव नभएको भन्ने जवाफ दिइसकेकोले खासै उपाय भने देखिन्नथ्यो।

-गर्न के सकिन्छ ?
प्रतापमान सोचमग्न भयो। प्रतापमान बाँच्न चाहन्थ्यो र सकेसम्म राम्रो जिन्दगी बाँच्ने प्रयासमा थियो तर प्रतापमानले बाँच्न चाहेको जिन्दगी अहिले जस्तो छ त्यो भने पक्कै थिएन।

-केरा, अण्डा, माछा र आइसक्रिम नखानुहोस् . . . . यी एलर्जी बढी गराउने कुरा हुन …. …. …. सकेसम्म धुरोबाट बँच्नुहोस् …. …. ….

पहिलो पटक क्लिनिकमा जाँदा डाक्टरले दिएको लेक्चर प्रतापमानले सम्झ्यो र अलि खुशी भयो। हुनसक्छ औषधिद्वारा नफर्किने उसको रोग ती खानाबाट फर्कियोस्। अब सकेसम्म माछा, केरा, अण्डा र आइसक्रिम खाने छ र सकेसम्म धुलोको बीचमा हिँड्ने छ ! प्रतापमानमा आशाको बिरुवा टुसायो र निराशा अलि कम भयो। ऊ भोलिदेखि नै रोग फर्काउने प्रयासमा लाग्ने छ- प्रतापमानले हलुका भएको महसुस गर्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved