काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “दुई ध्रुवमा एउटा पोलको लिड नेकपा एमालेले गरेको छ। त्यसले निश्चित एजेण्डाहरू, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरादेश बनाउने सपनाहरूलाई जागृत गर्ने कुरा गरेको छ। यो पार्टी प्रचारका लागि होइन, यथार्थ हो। अर्को पोल गठबन्धनको पोल छ। यो गठबन्धनबारे मैले केही भन्नु पर्दैन। गठबन्धनमा आबद्ध भएका विभिन्न नेता साथीहरूले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ। त्यसलाई हेरे पुग्छ। आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखापरेको छ। राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको छ। राजनीति बिग्रियो भने सबै कुरा बिग्रिन्छ।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्ने बताए।