‘विद्यार्थीको क्षमता बढाउन जरुरी छ’

“तपाईं शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस्। उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ,” उनले भने।

नेपालभ्युज

‘विद्यार्थीको क्षमता बढाउन जरुरी छ’

काभ्रेपलाञ्चोक। बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन्। उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन्।

“तपाईं शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस्। उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ,” उनले भने। उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान भए चौरमा पनि राम्रो शिक्षण हुने बताए। भने, “विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान राम्रो शिक्षक हुनुपर्छ अनि मात्र क्षमतावान जनशक्ति उत्पादन हुन्छ।”

मुख्यमन्त्री पाण्डेले गुणस्तरीयताका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुञ्जेल छेऊमै ‘पाल टाँगेर’ बस्न उनले निर्देशन दिए। “निर्माण कम्पनीले पनि निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने। विद्यालयका भौतिक पूर्वाधार निर्माणले शिक्षा क्षेत्र थप व्यवस्थित भएको उनको धारणा थियो।

मुख्यमन्त्री पाण्डेले फरक प्रसङ्गमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताए। “सैन्य रणनीतिभित्र नपर्ने अमेरिकाले भनिसक्यो, हामीले निकै छलफल गरी अनुमोदन गरेका हौँ, व्याख्यामक टिप्पणी उसले मान्दैन भने हामीले पनि सहायता लिनैपर्छ भन्ने छैन,” उनले भने। एमसीसीका विषयमा अझै गलत प्रचार भइरहनु राम्रो नभएको उनको दुःखेसो थियो।

उनले स्थानीय तह बलियो बनाएमात्रै दीर्घकालीन विकासको लक्ष्य पूरा हुने बताए। भने, “सङ्घीय सरकार टाढै छ। प्रदेश सरकार पनि लगभग त्यस्तै हो, जनताको घरदैलोको सरकार स्थानीय सरकार हो, त्यसैले पनि बलियो बनाउनुपर्छ। जसले स्थानीयबासीका आवश्यकताका आधारमा दीर्घकालीन विकासको खाका कोरिरहेको हुन्छ।”

उनले रोशी गाउँपालिकाको पिन्थलीबाट महाभारतको घर्तीछाप हुँदै मकवानपुर जोड्ने सडकका लागि प्रदेश सरकारबाट ५० करोड रुपैयाँ छुट्याउने निर्णय भएको जानकारी दिए।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गाउँपालिकाको १ नं वडास्थित गोकुले माध्यमिक विद्यालयको पाँच करोड ९२ लाख ६५ हजारको लागतमा १८ कोठे दुई भवन, २ नं वडास्थित कालीदेवी माविको ६ करोड ९६ लाख ६१ हजारको लागतमा १८ कोठे तीन भवन र ८ नं वडामा जनकल्याण माविको पाँच करोड ९४ लाख २८ हजारको लागतमा १८ कोठे दुई भवनको ताम्रपत्र वाचन गरी संयुक्तरूपमा शिलान्यास गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved