अफगानिस्तानको क्रिकेटबाट नेपालले के सिक्ने?

अफगानी टिमले देश बाहिर रहेर नै देशको नाम चम्काइरहेका छन्। शुरुआती अवस्थामा अफगानी खेलाडीले सानत्वना खोजेनन्, सुविधा खोजेनन्, राज्यको सहयोग खोजेनन्। दबाब, तनाव र अभावसँग जुधेर नै विश्वस्तरमा भिड्न लायक क्रिकेट टिम बनाए।

अफगानिस्तानको क्रिकेटबाट नेपालले के सिक्ने?

काठमाडौं। कुनै समय थियो जब नेपाली क्रिकेटले हिड्न शुरु गरिसक्दा अफगानी क्रिकेट भर्खरै बामे सर्दै थियो। अहिले अफगानी क्रिकेट दौडिरहेको छ नेपाली क्रिकेट अझै पनि हिँड्नमै व्यस्त छ।

नेपाल क्रकेट संघको स्थापना सन् १९४६ मा नै भइसकेको थियो। जबकि लगातारको युद्धको चपेटामा परेको अफगानिस्तानमा नेपालभन्दा ४९ वर्षपछि मात्र क्रिकेट बोर्डको जन्म भएको थियो।

त्यस्तै नेपालले अफगानिस्तान भन्दा १३ वर्षअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्यता पाइसकेको थियो। अफगानिस्तानले आईसीसीको एशोसियट राष्ट्रको मान्यता पनि नेपालभन्दा १७ वर्षपछि मात्र पाएको थियो।

नेपालले आईसीसीको सदस्यता सन् १९८८ मा पाइसकेको थियो भने अफगानिस्तानले सन् २००१ मा मात्र पायो।

सन् २०१३ मा आएर मात्र एशोसियट राष्ट्र बनेको अफगानिस्तानले क्रिकेटमा यति छिटो छलाङ मार्‍यो कि चार वर्षपछि नै आईसीसीको पूर्ण सदस्य राष्ट्र अर्थात् टेष्ट मान्यता पायो। जबकि सन् १९९६ मा एशोसियट राष्ट्रको मान्यता पाएको नेपालको टेष्ट मान्यता पाउने सपना तत्काल पूरा हुने कुनै छाँटकाट छैन।

अफगानी क्रिकेटको ‘राइज एण्ड साइन’ यात्रा

हिलोमा फुलेको सुन्दर कमलको फूलजस्तै हो अफगानिस्तानको क्रिकेट टिम। लगातार गरिबी, अभाव, राजनीतिक चलखेल र युद्धको चपेटामा परेर पनि त्यहाँबाट उठेर हाल विश्वस्तरीय क्रिकेट टिम बन्न सफल छ।

विश्वका अधिकांश राष्ट्रजस्तै अफगानिस्तानमा पनि क्रिकेटको बीजारोपणको श्रेय बेलायतलाई जान्छ। सन् १९७० पछि लगातारको आन्तरिक द्वन्द्व, संकटकाल र गृहयुद्धका कारण धेरै अफगानी घरबारविहीन भए।

पाकिस्तान पुगेका यिनै शरणार्थीहरूले नै पाकिस्तानमा रहेर क्रिकेटको कौशल विकासको मौका पाए र यो खेल अफगानीमाझ प्रख्यात हुँदै गयो। पाकिस्तानबाट घर फर्केपछि यस खेललाई अफगानीले निरन्तरता दिन थाले।

तर सन् १९९६ मा पहिलो पटक तालिवान सत्तामा आएपछि क्रिकेटसँगै सबै खेलमा प्रतिबन्ध लाग्यो। तर यसपछि बढ्दो लोकप्रियताका कारण क्रिकेट तालिवानको नियममा अपवाद बन्यो। सन् २००० मा क्रिकेटलाई तालिवानले मान्यताप्राप्त एक मात्र खेल बनायो। यसपछि नै २१ औ शताब्दीको शुरुआतदेखि अफगानी क्रिकेटको स्वर्ण युग शुरु भएको थियो।

पहिलो पटक अफगानिस्तानको क्रिकेट टिम अन्तर्राष्ट्रिय खेल खेल्न पाकिस्तान नै गयो। यसपछि विस्तारै अफगानी टिमले एशियाली क्षेत्रीय तहको प्रतियोगितामा सहभागिता जनाउन थाल्यो। जसमा नेपालको पनि सहभागिता रहने गर्थ्यो।

खासमा त्यो बेला नेपाल र अफगानिस्तानको क्रिकेट टिममा १९-२० को अन्तर मात्र थियो। २१ औ शताब्दीको शुरुआतमा नेपाल र अफगानिस्तानले एउटै तहबाट क्रिकेट शुरु गरेका थिए।

पाकिस्तान र इंग्लाण्डजस्ता देशको टुर गरेर स्थानीय क्लबसँग खेल्दै अनुभव बटुलेको अफगानिस्तानले पहिलो उपलब्धिको रूपमा सन् २००६ मा नेपाललाई नै पराजित गर्दै एसीसी ट्रफीमा तेस्रो स्थान हात पारेको थियो।

पहिलो उपाधिको रूपमा भने अर्को वर्ष एसीसी टी-ट्वान्टीको संयुक्त विजेता बनेको थियो।

तर लगातारको विभिन्न युद्धले अफगानिस्तानलाई कहिल्यै छाडेन। अफगानिस्तानको टिमले आफ्नो देशमा खेल्नु त परै जाओस देशमै बसेर प्रशिक्षण गर्न पनि पाएका थिएनन् र हालसम्म पनि पाएका छैनन्।

शुरुआतमा अफगानिस्तानले यूएईको मैदानलाई घरेलु मैदानको रूपमा प्रयोग गर्थ्यो। सन् २०१७ मा टेष्ट मान्यता पाएपछि भने भारतका विभिन्न स्टेडियम अफगानी टिमको घरेलु मैदान बनेको छ। सन् २०१९ पछि भारतिय क्रिकेट बोर्डले लखनउको एकाना क्रिकेट स्टेडियमलाई घरेलु मैदानको रूपमा प्रयोग गर्न अफगानिस्तानको क्रिकेट टिमलाई दिएको छ।

यस्ता अभाव र बाधाका बाबजुद अफगानिस्तान सन् २०१० को टी-ट्वान्टी विश्वकपमा छनोट हुन सफल भयो। त्यो बेला नेपाल भने एशियाली क्षेत्रीय प्रतियोगितामा नै अल्झिरहेको थियो। त्यसयताका सबै टी-ट्वान्टी विश्वकप खेलेको उसले यसै वर्षको विश्वकपसहित लगातार छैटौ टी-ट्वान्टी विश्वकप खेल्दैछ।

सन् २०१४ मा मात्र एकपटक टी-ट्वान्टी विश्वकप खेलको नेपालले भने फेरि टी-ट्वान्टी विश्वकप खेल्ने सपना पूरा गर्न सकेको छैन। उक्त विश्वकपमा नै नेपालले पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको थियो।

यता सन् २००८ मा नेपाल र अफगानिस्तान दुवैले एकदिवसीय क्रिकेट खेल्ने बाटोको रूपमा रहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ बाट यात्रा शुरु गरेका थिए।

सोही वर्ष डिभिजन-५ र डिभिजन-४ को विजेता बन्दै अफगानिस्तान डिभिजन-३ मा उक्लिएको थियो। अर्को वर्ष डिभिजन-३ को पनि विजेता बनेको अफगानिस्तान सन् २०१० मा डिभिजन-१ मा तेस्रो स्थान प्राप्त गरेको थियो।

सन् २०११ को एकदिवसीय विश्वकपको लागि छनोट नभए पनि एकदिवसीय मान्यता भने पायो जबकि नेपालले सने २०१८ मा आएर मात्र डिभिजन-२ को उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको थियो। यसपछि सन् २०१५ को विश्वकपका लागि भने छनोट भएको अफगानिस्तानले त्यसयताका सबै एकदिवसीय विश्वकप पनि खेलेको छ।

भन्निछ सफलताको शिखरमा पुग्न जति सजिलो छ त्यहाँ टिकिराख्न निकै गाह्रो। तर अफगानी टिमको क्रिकेटको प्रमुख विशेषता भनेको नै उनीहरूले क्रिकेटमा जे उपलब्धि हासिल गरे त्यसलाई टिकाइराखे। योसँगै हरेक वर्ष अघिल्लो वर्षभन्दा क्रिकेटमा केही बढी प्राप्त गर्ने कोशिस गरे।

अफगानिस्तानले पाएको एकदिवसीय र टेष्ट मान्यतालाई गुम्न दिएन। पहिलो पटक विश्वकप खेलेपछि दुवै फर्म्याटका विश्वकपमा लगातार छनोट भइरहेको छ।

यता नेपाललाई भने ढिलै भए पनि पाएको एकदिवसीय मान्यता जोगाइराख्न नै हम्मेहम्मे छ। एकपटक टी-ट्वान्टी विश्वकपमा छनोट भएयता त्यो उपलब्धिलाई दोहोर्‍याउन सकेको छैन। टेष्ट मान्यता पाउन त धेरै कसरत गर्न बाँकी नै छ।

हाल अफगानिस्तानले क्रकेटमा महारथि राष्ट्रसँगको लगातारको खेलले आफ्नो स्तर सुधारिसक्यो। टेष्ट फर्म्याटबाहेक लिमिटेड ओभर क्रिकेट (एकदिवसीय र टी-ट्वान्टी) मा सबै टिमलाई टक्कर दिनसक्ने भइसकेको छ।

टी-ट्वान्टी क्रिकेटमा जुनसुकै बलिया टिमलाई हराउन सक्ने तागत राख्छ। टी-ट्वान्टी बरीयतामा पनि बंगलादेश जिम्बाबे र श्रीलंकाभन्दा माथि आठौं स्थानमा छ। अफगानिस्तानले एकदिवसीय र टी-ट्वान्टी म्याचमा बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र जिम्बाबेजस्ता राष्ट्रलाई धेरै पटक हराउने सफलता पाइसकेको छ।

टेष्टमा पनि अफगानी टिमले बंगलादेश र जिम्बाबेविरुद्ध जित हात पारिसकेको छ। टी-ट्वान्टी म्याचमा सर्वाधिक २७३ रन बनाउने रेकर्ड अफगानिस्तानको नाममा नै छ। जुन रेकर्ड २०१९ मा आयरल्याण्डसँग बनेको थियो।

हालको विश्वभरिको प्रख्यात टी-ट्वान्टी लिगहरूमा अफगानिस्तानका खेलाडीहरुको बाक्लै सहभागिता रहने गर्छ। अफगानिस्तानका स्पिनर रासिद खान अफगानिस्तानको मात्र होइन हाल विश्वकै एक नम्बरका बलरमा पर्छन्।

अहिले एकदिवसीय क्रिकेटमा आईसीसी विश्वकप सुपर लिगको चौथो स्थानमा उक्लिएको छ। जसमा अष्ट्रेलिया, पाकिस्तान, वेष्ट इण्डिज, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड जस्ता क्रिकेटका महारथी राष्ट्र पनि पछि छन्।

हाल पनि अफगानिस्तानमा राजनीतिक अस्थिरता, चरम गरिबी र आतंकवादको समस्या छ। जसकाराण अझै पनि यो देश अल्पविकसित राष्ट्रमा पर्छ। २० वर्ष लामो द्वन्द्वपछि अमेरीकी सेना हटेपछि तालेवानको कब्जा पछि त अवस्था झन् खराब छ।

सन् २०२१ मा तालिवानले अफगानिस्तानलाई पुनः कब्जा गरेपछि अफगानिस्तानको क्रिकेट भविष्य फेरिँ अँध्यारेमा पर्‍यो। अफगानिस्तानले अन्तराष्ट्रिय खेल खेल्न पाउला नपाउला चासो बढ्न थाल्यो। खेलाडी र परिवारको सुरक्षामा नै शंका उब्जिए। महिला क्रिकेट टिम त क्यानडाको शरणमा नै पुगे।

यसपछि तालेवान सरकारले अफगानिस्तानको पुरुष टिमले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने निर्णय गरेको थियो। महिला टिमको अन्योल अझै कायमै छ। यो राजनीतिक अन्योलका बाबजुद पनि अफगानिस्तानले यसै वर्षको अक्टोबरमा हुने टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाउने बताएको छ।

अफगानी टिमले देश बाहिर रहेर नै देशको नाम चम्काइरहेका छन्। शुरुआती अवस्थामा अफगानी खेलाडीले सानत्वना खोजेनन्, सुविधा खोजेनन्, राज्यको सहयोग खोजेनन्। दबाब, तनाव र अभावसँग जुधेर नै विश्वस्तरमा भिड्न लायक क्रिकेट टिम बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved