जसपाले बोलायो केन्द्रीय समिति बैठक, बाबुरामको बहुअध्यक्षीय प्रणालीबारे छलफल हुने

जसपा कार्यकारिणी बैठकले आगामी वर्ष असार १ र २ गते विधान अधिवेशन पनि गर्ने निर्णय गरेको छ।

जसपाले बोलायो केन्द्रीय समिति बैठक, बाबुरामको बहुअध्यक्षीय प्रणालीबारे छलफल हुने
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। गत शुक्रवारदेखि शुरु भएको जसपा कार्यकारिणी बैठकले २८ फागुनमा संघीय परिषद् बैठक सम्पन्न गरी २९-३० फागुनमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो।

कार्यकारिणी बैठक सोमबारसम्म लागातार बसेको थियो। त्यसपछि अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफलपछि बस्नेगरी बैठक स्थगित भएको छ। सोमवार नै जसपाले स्थानीय तह निर्वाचनका लागि निर्वाचन निर्देशिका तयारी समिति पनि गठन गरेको छ भने फागुन मसान्तसम्म बाँकी रहेका पार्टी समायोजनका काम सम्पन्न गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले केही समयअघि कारबाही गरिएका पर्साका सांसद प्रदीप यादवको कारबाही पनि फुकुवा गरेको छ। यादवलाई सधारण सदस्य समेत नरहने गरी जसपाले ६ महीनाका लागी सांसद् यादवलाई कारबाही गरिएकोमा संघीय परिषद् अध्यक्ष भट्टराईको दबाबमा कारबाही फुकुवा गरिएको हो। संघीय सरकारमा जसपा सहभागी हुँदा यादवलाई मन्त्री नबनाएपछि याद निकट नेताहरूले वीरगंजमा अध्यक्ष यादवको पुतला जलाएका थिए। त्यसपछि पर्साबाट प्रत्यक्ष सांसद भएका यादवलाई कारबाही गरिएको थियो।

तर मंगलबारदेखि भट्टराई पक्षले भन्दै आएको बहुअध्यक्षीय प्रणालीबारे छलफल गर्ने निर्णय भएपछि बैठक बीचैमा स्थगित गरी अध्यक्ष तथा वरिष्ठ नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। तर उक्त छलफलमा यादव पक्ष पछि हट्न खोजेको आरोप भट्टराई पक्षको छ।

अध्यक्ष यादव पक्षका जसपा कार्यकारिणी सदस्य विजय यादवले बहुअध्यक्षीय प्रणालीबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताए। ‘‘केन्द्रीय समिति नहुँदा पो कार्यकारिणीले सबै निर्णयहरू गर्ने गरेका थिए,’’ यादवले नेपालभ्युजसँग भने, ‘‘तर केन्द्रीय समिति बनिसकेको अवस्थामा महत्वपुर्ण निर्णय त्यहीँबाट हुनु पर्ने आफुहरूको मान्यता रहेको छ।’’

यादव पक्षले यस्तो बताए पनि भट्टराई पक्षले आफुहरूले त्यसलाई गम्भीर रूपमा लिएको बताएको छ। ‘‘अध्यक्ष, संघीय परिषद् अध्यक्ष र वरिष्ठ नेता गरी तीन शीर्ष नेताहरूले छलफलहरू पुन: यसबारे छलफल कार्यकारिणी बैठक गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ,’’ नेता इस्तीयाक राईले भने, ‘‘कार्यकारिणी शुरु हुँदा प्रस्तुत गरिएको सबै एजेन्डामा कार्यकारिणीले छलफल गर्नुपर्छ।’’

गत शुक्रबार जसपाको कार्यकारिणी समितिमा १२ ओटा एजेण्डा प्रस्तुत भएको थियो। जसमा स्थानीय तह निर्वाचन , एमसीसीदेखि पार्टीका बैठकहरू हुँदै पदाधिकारी चयनसम्मको एजेन्डा राखिएको थियो। बैठकमा पार्टीको नेतृत्व प्रणालीबारे समेत छलफल थियो। तर कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवनिकट नेता विजय यादवले पदाधिकारी चयनको विषय कार्यकारी अध्यक्षको अधिकारको क्षेत्राधिकारअन्तर्गत पर्ने भएकाले आन्तरिक छलफलमार्फत चाँडै घोषणाको तयारी गरिएको बताए। ‘शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्षले पदाधिकारी घोषणा गर्नुहुन्छ,’’ यादवले नेपालभ्यूजसँग भने, ‘‘अन्य विषयहरूमा अब केन्द्रीय समितिमा छलफल हुन्छ, अब कार्यकारिणी बैठक तत्कालै बस्छ जस्तो लाग्दैन।’’

यस्तै बैठकले आगामी वर्ष असार १ र २ गते विधान अधिवेशन पनि गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved