एमसीसीले रणमैदान बन्यो काठमाडौं, आन्दोलनकारी र प्रहरीबीच पटकपटक झडप

प्रदर्शनकारीले घेरा तोड्न जोडबल गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो। प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गर्न थाले। क्षणभरमा नै प्रहरी (नेपाल-सशस्त्र) र प्रदर्शनकारीबीचको झडपले बानेश्वर क्षेत्र रणमैदान बन्यो।

एमसीसीले रणमैदान बन्यो काठमाडौं, आन्दोलनकारी र प्रहरीबीच पटकपटक झडप

काठमाडौं। प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बिहीबार दिनभर नयाँबानेश्वर क्षेत्र रणभूमि बन्यो। ढुंगामुडासहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच पटकपटक झडप भइरह्यो। कतिपय आन्दोलनकारी प्रहरीलाई ढुंगा हान्न गुलेलीसहित आएका थिए।

प्रदर्शन उग्र भएपछि झडपमा १५ जना प्रहरी घाइते भए। १२ जनाभन्दा बढी प्रदर्शनकारी पनि घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीले अश्रृग्यास हान्ने क्रममा टाउकोमा लागेका आन्दोलनकारी घाइते भएका हुन्।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्नुपरेको एसपी दिनेश मैनालीले बताए। भने, ‘‘अघिल्ला दिनभन्दा आज अलि बढी प्रदर्शनकारी थिए। धेरै ढुंगा हाने। यसैले अरू दिनभन्दा बढी राउन्ड अश्रुग्यास प्रयोग गर्नुपर्‍यो।’’

बबरमहल पुलदेखि नयाँबानेश्वरसम्म बिहान ११ बजे नै सडक बन्द गरियो। मध्याह्न १२ बजेसम्म नयाँबानेश्वर क्षेत्रमा भीड बढिसकेको थियो। १२ बजे माइतीघरबाटै बाटो बन्द भयो। बानेश्वर क्षेत्रमा प्रदर्शन त थियो तर अवस्था असामान्य थिएन। सबैभन्दा पहिलो एभरेष्ट होटल अगाडि नेकपा (माओवादी केन्द्र) निकट भ्रातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरिरहेका थिए। यत्तिकैमा भीड थपिँदै थियो। उनीहरू नारा लगाउँदै थिए, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘अमेरिकी दबाब मुर्दावाद।’

मध्यान्न १ बजे नेपालका लागि नेपाली नामको अभियानको टोली देखियो। डेढ दुई सय जना सहभागी थपिए। साँढे १ बजे अर्को टोली आयो। जुन टोलीमा झाँकी र बाजागाजा समेत देखिन्थ्यो। यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को टोली आइसकेको थियो। पार्टीको भ्रातृ संगठनसमेत सडकमा थिए।

साँढे बजेपछि आन्दोलनकारी अलि उग्र बन्दै गए। १ बजेर ३८ मिनेटमा प्रदर्शनकारीले लगातार आठ-दश ओटा ढुंगा प्रहरीतर्फ बर्साए। प्रहरीको निषेधित घेरा तोड्न प्रयास गरे। पौने २ बजेतिर प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडे। अन्धाधुन्ध प्रहरीमाथि उनीहरूले ढुंगा–इँटा प्रहार गर्न थाले। त्यसपछि प्रहरी पनि चुप लागेनन्।

प्रदर्शनकारीले घेरा तोड्न जोडबल गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो। प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गर्न थाले। क्षणभरमा नै प्रहरी (नेपाल-सशस्त्र) र प्रदर्शनकारीबीच झडपले बानेश्वर क्षेत्र रण मैदान बन्यो। झन्डै आधा घण्टा लामो दोहोरो झडप भयो। बिस्तारै झडप साम्य भयो। त्यति बेला प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउँदै बबरमहल पुल पुर्‍याइसकेको थियो।

नयाँबानेश्वरबाट बबरमहलसम्म पुग्दा कतिपय आन्दोलनकारी युवासंघको कार्यालयबाट बुद्धनगर छिरे। कतिपय कृष्णटावरबाट थापा गाउँतिर लागे। आन्दोलनकारीको मूल समूह भने बबरमहलतिर धकेलियो।

प्रदर्शनकारी हट्दै गर्दा प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्‍यो। बानेश्वर क्षेत्रमा कालो मुस्लो धुवाँ छुट्यो। प्रदर्शनकारीले केही सेल अश्रुग्यास टिप्दै प्रहरीलाई फर्काए। त्यसले गर्दा प्रहरी नै पीडामा परेका देखिन्थे। केही प्रदर्शनकारी घाइते भएर रक्ताम्मे भएका देखिन्थे। कतिपय प्रहरीको हेलमेट र ढाल फुटेको देखिन्थ्यो। कतिपयको हातमा समेत चोट लागेर रगत बगेको थियो।

तरपति तनाव शान्त भएन। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप हुन्थ्यो। फेरि रोक्थ्यो। केही बेरपछि फेरि शुरु हुन्थ्यो। सडकभरि प्रहरीलाई प्रहार गरेका ढुंगा बग्रेल्ती भए।

केही प्रदर्शनकारी घाइते भएका देखिन्थे। उनीहरूलाई अस्पतालतर्फ लगिँदै गरेको देखिन्थ्यो। अधिकांश आन्दोलनकारी कलिला विद्यार्थी थिए। तर उनीहरूले प्रदर्शन रोकेनन्। अपराह्न साढे ४ बजेपछि बिस्तारै प्रदर्शनकारी घट्दै गए।

साँझ ५ बजे प्रहरीले मूल सडकमा गाडी गुड्न दियो। ६ घण्टाको बन्दपछि सडक खुल्यो । प्रदर्शनकारी आएपछि बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको थियो।

सबै तस्वीरः गोपेन राई/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved