एमसीसीविरुद्ध अब सडक तात्ने मात्र नभई बल्ने गरी आन्दोलन हुन्छ : झलनाथ खनाल

नेपालभ्युज

एमसीसीविरुद्ध अब सडक तात्ने मात्र नभई बल्ने गरी आन्दोलन हुन्छ : झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन्।

बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरी महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरी देशको स्वाधीनता र स्वाभिमान बचाउन लागेकाले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरे। उनले एमसीसीविरुद्ध अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभई बल्ने गरी आन्दोलन हुने चेतावनी दिए।

सांसद खनालले भने, ” एमसीसीले सिंगो देश विभाजित भइरहेको छ। पार्टीहरू विभाजित भइरहेका छन्। संसद पनि विभाजित भइरहेको छ। यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ। नेताहरूले दूरदर्शी भएर सिंगो राष्ट्रलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता उनीहरूले बिर्सिए भन्ने मलाई लाग्छ। हाम्रो पार्टी एकताबद्ध भएर जान्छ। पार्टीभित्र चिन्तनहरूमा तलमाथि हुनसक्छन्। यो निर्णयमा हामी एकतावद्ध हुन्छौँ। गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन्। देश, जनता, राष्ट्रको हितलाइ कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ। एमसीसीले कुरा कहिल्यै मिल्दैन। एकथरी महाशक्तिको पछि लागेका छन्। अर्कोथरि देशको स्वतन्त्रता, सार्वभौमिकतामा लागेका छन्। सडक आवश्यक्ता बमोजिम तात्छ, तात्छ मात्रै होइन, त्यो बल्छ।”

तर गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले एमसीसी पास हुने आशंका व्यक्त गरे। नेपालमा कतिपय घटनाक्रमहरू पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहँदै आएको भन्दै एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताए। सरकार सदन सुचारु रूपमा चलाउन लागि परेको पनि बताए।

गृहमन्त्री खाँणले भने, “सरकार सदन सुचारु गराउन चाहन्छ, सदनलाई सुचारु गराउनका लागि नै सरकारले, प्रधानमन्त्रीजीले राजनीतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। नेपालमा कतिपय घटनाक्रमहरू हुँदैन जस्तो हुन्छ तर पछि सकारात्मक भएका छन्, आशा गरौँ, सकारात्मक ढंगले अघि बढ्ला र सदनको गतिरोध पनि अन्त्य होला। सदनमा प्रश्तावित भएका प्रश्तावहरू पनि अगाडि बढ्लान्। पास होलान्। सरकारमा रहेका घटकले सरकारकै पक्षमा समर्थन गर्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved