एमसीसीबारे फेरि बोल्यो चीन : ‘अल्टिमेटम राखेर पनि उपहार दिइन्छ र?’

एमसीसीबारे फेरि बोल्यो चीन : ‘अल्टिमेटम राखेर पनि उपहार दिइन्छ र?’

 

बेइजिङ। अमेरिकी सहयोग एमसीसीलाई लिएर नेपाली राजनीतिको पारो तातेको बेला छिमेकी मुलुक चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यही विषयलाई लिएर सवाल जवाफ भएको छ।

बुधबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्रमन्त्रालयको पत्रकार सम्मेलनमा यस बारेमा चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन सरकारले धारणा बोलेकी हुन्। पत्रकार सम्मेलनमा एकजना पत्रकारले एमसीसीले नेपाली राजनीति गर्माएको र अमेरिकाले नेपालमाथि दबाब दिएको बारेमा चीन सरकारको आधाकारिक धारणा के छ भनेर प्रश्न राखेका थिए। उक्त प्रश्नको जवाफमा चीनले कूटनीतिक भाषामा अमेरिकाले नेपालमाथि दिएको दबाबको विरोध गरेको छ।

पत्रकारले प्रश्न सोधेका थिए – ‘नेपाल सरकारले अमेरिकासँग एमसीसीको सहयोग लिने सम्झौतालाई संसदमा पेश गरेको छ। यस मुद्दामा काठमाडौँमा नागरिकहरु सहभागी भई व्यापक रुपमा जुलुस प्रदर्शन गर्दै विरोध गरेका छन्। नेपालले एमसीसी सहयोगलाई अस्वीकृत गरेमा अमेरिकाले नेपालसँगको सम्बन्धमै असर पर्ने बताएको छ। नेपालको संसदले एमसीसीलाई स्वीकृत गरेमा नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तामा खलल पर्ने केही नेपाली विज्ञहरुको भनाइ छ। छिमेकी मित्रराष्ट्रको यस मुद्दामा चीनको धारणा के छ?’

जवाफमा चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले भनिन्  ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपाली पक्षले एमसीसी अनुमोदन नगरेमा अमेरिका र नेपालबीचको सम्बन्धमा असर पर्ने कुरा गरेको हामीले याद गरेका छौँ। नेपालस्थित अमेरिकी दूतावासले पनि एमसीसीको ५० करोड अमेरिकी डलर सहायता अमेरिकी जनताले नेपाली जनतालाई दिएको उपहार हो भनेर सार्वजनिक रुपमा बताएको छ।’ प्रश्नकर्ता पत्रकारतिर हेर्दै प्रवक्ता ह्वाले मुसुक्क कूटनीतिक हाँसोमा भनिन् ‘अल्टिमेटम दिएर पनि उपहार दिइन्छ र? यो कस्तो “उपहार” हो? अनि यस्तो सर्तसहितको उपहार कसरी स्वीकार गर्न सकिन्छ?’

प्रवक्ता ह्वाले अन्तर्राष्ट्रिय विकास सहयोगले आपसी सम्मानको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने कुरामा चीनले सधैं विश्वास गरेको कुरामा जोड दिइन्।

उनले कुनै पनि राजनीतिक सर्तहरू संलग्न गरेर सहयोगका नाममा  “जबरजस्ती कूटनीति” गर्न नहुने र आफ्नो स्वार्थका लागि अन्य देशको सार्वभौमसत्ता र हितमा आँच पुर्‍याउन नहुनेमा कुरामा चीनले सधैँ जोड दिएको दोहोर्‍याइन्।

देखिने कूटनीति अँगाल्दै आएको चीनले पछिल्लो समयमा सुनिने कूटनीति पनि अङ्गिकार गर्न थालेको छ। केही समय अगाडि पनि एमसीसीलाई लिएर चीनले आफ्नो धारणा व्यक्त गरेको थियो। ‘नेपालले एमसीसी अस्वीकार गरेमा चीनको प्रभाव ठानिने’ अमेरिकाले बताएपछि नेपालमाथि अमेरिकाले दबाब दिएको भन्दै चीनले बिरोध गरेको थियो।

बुधबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा पनि चीनले घुमाउरो रुपमा नेपालले एमसीसीलाई अस्वीकार गर्नुपर्ने धारणा राखेको छ। चिनियाँ अभिप्राय प्रवक्ता ह्वाको भनाइले पनि पुष्टि गर्छ। उनले ‘अल्टिमेटम दिएर पनि उपहार दिइन्छ र? यो कस्तो “उपहार” हो? अनि यस्तो सर्तसहितको उपहार कसरी स्वीकार गर्न सकिन्छ?’ भन्दै प्रश्न उठाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved