युक्रेन तनावः दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

रुसको नयाँ घोषणासँगै युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित देखिएका छन्।

नेपालभ्युज

युक्रेन तनावः दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

एजेन्सी। रुसले पूर्वी युक्रेनमा दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ। सोमबार साँझ सन् २०१४ देखि युक्रेनी सेनाविरुद्ध विद्रोह गरिरहेका स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमर पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। विद्रोहीहरूको पकड क्षेत्रका रूपमा रहेकन यी दुई क्षेत्रलाई रुसले समर्थन गरेका विद्रोहीको पकड क्षेत्रका रूपमा चिनिन्छन्।

ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गर्दै राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्र र नेटोको चर्को आलोचनासमेत गरेका छन्।

रुस र युक्रेनबीच चलिरहेको विवाद रुसको पछिल्लो घोषणासँगै उत्कर्षमा पुगेको छ भने दुई देशबीचको स्थिति अझै खराब बन्ने अनुमानहरू हुन थालेका छन्।

रुसको यस कदमसँगै युक्रेन तनावका विषयमा भइरहेका शान्ति वार्ताका प्रयासहरू  विफल हुनसक्ने देखिएको छ। संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पुटिनको उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएका छन्। पुटिनले आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको भन्दै आलोचना भइरहेको छ।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नो भूभागमा गाभ्ने निर्णय गरेसँगै रुस र युक्रेनबीच तनाब बढेको थियो। युक्रेनमा सन् २००५ र २०१४ मा रुसी प्रभाव अस्वीकार गर्ने भन्दै ठूला प्रदर्शन भएका थिए। २०१४ मा भएको प्रदर्शनका कारण रुस निकट मानिने तत्कालीन युक्रेनी राष्ट्रपति विक्टर यानुकोभिचले राजीनामा समेत दिनुपरेको थियो।

दोस्रो विश्वयुद्धपछि चार दशक जति दुई सिंगो विश्व नै ध्रुवीकृत हुनेगरी टकरावमा रहेका संयुक्त राज्य अमेरिका र रुस युक्रेनलाई मैदान बनाएर फरक सन्दर्भसहित पुन: एकपटक त्यस्तै स्थितिमा पुगेका छन्। अमेरिकाको नेतृत्वमा रहेको सैनिक गठन उत्तर एटलान्टिन सन्धि संगठन (नेटो)को सदस्य बन्ने युक्रेनले तयारी गरेको  थियो। उक्त तयारीप्रति रुसले आपत्ति जनाउँदै आएको थियो।

युक्रेनमा विकशित पछिल्लो घटनाक्रमपछि  संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ। युक्रेन र रुसबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघीय परिषद्को बैठक बसिरहेको छ ।

रुसको नयाँ घोषणासँगै युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित देखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved