महोत्तरी हत्याकाण्ड : यस्तो छ घटनाको नालिबेली

महोत्तरी हत्याकाण्ड : यस्तो छ घटनाको नालिबेली

जनकपुरधाम। गौशला नगरपालिका-१२ को सागरनाथ वन परियोजनाको जंगलमा ४ फागुनमा भेटिएको शव राधा भनिने अफ्सना खातुनको रहेको खुलेको छ।

भारतको सीतामढीस्थित भैरवकोठी, मेहसौल टोल निवासी राधाको बिहे भारतको उत्तर प्रदेशमा भएको थियो। उनका दुई छोरा भएका थिए। तर २ वर्षअघि श्रीमान श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि राधाले श्रीमान छाडी २ जना सन्तानसहित माइतीघर भारतको सीतामढी गएर बस्न थालिन्।

माइती आई ज्याला मजदुरी गरी आफ्नो जीवनयापन गर्दै गरेकी राधाको घर निर्माण गर्ने पेटी ठेक्काको काम गर्ने अजय महतोसँग भेट भयो। उनीहरूबीच २ वर्ष अघि चिनजान भई विवाहसमेत भयो।

विवाह भएपश्चात् राधाले आफूलाई घरमा लानुपर्ने जोडबल गरेपछि अजय महतो कोइरीले आफ्नो घर लगे।

तर अजयले राधालाई आफ्नो घर ल्याएपछि घर तथा गाँउ समाजका मानिसहरूले राधालाई अस्वीकार गरे। गाउँ पञ्चायती बस्यो। उनलाई भारु २५ हजार क्षतिपूर्ति र २५ हजार रुपैयाँ गाउँ समाजका मान्छेहरूलाई भोज खुवाउने गरी सहमति भयो।

यस्तो सहमति भएको १ हप्तापछि दुवैले यो सहमति अस्वीकार गरी नेपालको सर्लाही आए। मंलगवा नगरपालिका वडा नम्बर ९ मा उनीहरूले कोठा लिएर बस्न थाले।

यसरी गरिएको थियो हत्या

मंगलवा बसाइका क्रममा राधा गर्भवती भइन्। अजयलाई आर्थिक अभाव थियो।

गर्भवती भएपछि राधाले निरन्तर आफूलाई दबाब दिएको अजयले प्रहरीसँग दिएको बयानमा उल्लेख छ। राधाले सदैव आफूलाई कोर्ट म्यारिज गर भन्ने, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनी मानसिक तनाव दिने गरेको अजयले बताएका छन्। राधासँगको छुट्काराका लागि साथीसँग आफूले सल्लाह मागेको उनले बताए।

साथी प्रमोद राउतले राधालाई हत्या गरी जंगलमा फाल्दा समस्या समाधान हुन्छ भनेपछि तीनजना मिलेर राधाको हत्या गरेका अजयले खुलाएका हुन्।

योजना अनुसार ३ फागुन दिउँसो २ राधालाई मेला हेर्न जाने भनी श्रीमान अजय र हाल फरार रहेका अर्का व्यक्ति समेतले बोलाएका थिए। मलंगवाबाट १६ सय रुपैयाँमा टेम्पो रिजर्भ गरी श्रीमान–श्रीमती, दुई नाबालक छोराहरू र अर्का एक जना पूरूष व्यक्ति एउटै टेम्पुमा बसी सर्लाहीको ईश्वारपुर न.पा.१३ श्रीनगर चोकसम्म आएर त्यहाँबाट टेम्पु फिर्ता पठाएका थिए। त्यहाँबाट प्रमोद राउतले आफ्नो प्रदेश २–०२–००२ प ७९५७ नम्रबको मोटरसाईकलमा २ पटक गरि सबै जनालाई पालैपालो बांके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नपा १२ को निर्माणाधीन रेल्वे ट्रयाकमा पुर्‍याए।

अजय महतो कोईरी र अर्का पुरूष व्यक्तिले राधालाई रेल्वे ट्रयाकभन्दा २०० मिटरजति पश्चिम सागरनाथ वन परियोजनाको जंगल भित्र लगे भने प्रमोद राउतले मोटरसाईकलमा २ बच्चाहरूलाई कान्तिबजार बिषहराथान नजिक रहेका स्थानीय  मैया कुमारी योञ्जनको चिया नास्ताको कटघेरा होटलमा पुर्‍याएर ”मेरो बच्चा हेरिदिनुस, म चाउचाउ लिई आउँछु” भनेर छाडि हिडे।

यता अजय र अर्का पुरूष व्यक्तिले राधालाई जंगलमा लगेर पछाडीबाट घाँटीमा सलले तीन फन्को बाँधी कसेर लडाए। उनीहरूले कञ्चट र अनुहारमा जोडले लातले हानी छातीमा समेत बेस्सरी थिची हत्या गरे। त्यसपछि १० मिटर पर जंगलको झााडी नजिकै शव फालिदिए। त्यहाँबाट उनिहरू करिब २०० मिटर पूर्व हि‌डेपछि सडकको चोकमा प्रमोद राउतलाई भेटे। र, तीनै जना प्रमोद राउतको मोटरसाइकलमा बसेर महोत्तरीको लक्ष्मिनीयाँ चोक पूर्व–पश्चिम लोकमार्ग हुँदै सर्लाहीको फुलजोर श्रीनगर हुँदै पुनः मलगंवातर्फ फर्के।

यसरी पक्राउ परे हत्याराहरू

फागुन ४ गते गौशाला नगरपालिका वडा १२ कान्तिबजारस्थित सागरनाथ वन विकाश परियोजनाको जंगलभित्र निर्माणाधिन रेल्वे ट्रयाकभन्दा ५६१ फिट दक्षिणतर्फ राधाको शव भेटियो। प्रहरीले शव देख्नासाथ हत्या भएको प्रारम्भिक निष्कर्ष निकाल्यो। लाशको प्रकृति मुचुल्का गरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइयो।

त्यसको एक दिनअघि २ फागुनमा बेवारिसे अवस्थामा सोहि क्षेत्रमा ४ वर्ष र २ वर्षका दुई बच्चाहरू भेटिए। उनीहरू राधाकै छोरा थिए। प्रहरीले राधाको शवको फोटो देखाउँदा ४ वर्षका रामुले आफ्नी आमा रहेको जानकारी दिए। उनले बाबुको नाम सोध्दा ती बालकले अजयको नाम लिए।

जिल्ला र प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरूलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो। घटना अनुसन्धानको लागी २ प्रदेश (मधेश प्रदेश) प्रहरी कार्यालय जनकपुरसँगको समन्वयमा कुकुर समेतको प्रयोग गरियो।

इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र मधेश प्रदेशका प्रहरीले समेत निक्कै चासो देखाएर घटनालाई सूक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका अजय महतो कोइरी समक्ष नै मोडियो।
५ दिनको अथक प्रयास र अनुसन्धानपछि भारतीय प्रहरीको समेत सहयोगमा नेपाल प्रहरीले आरोपित अजय महतोलाई सर्लाहीको नेपाल भारत सीमाबाट फागुन ६ गते साँझ पक्राउ ग¥यो। प्रमोद राउतलाई मलंगवाबाट ७ गते पक्राउ गरियो। हत्यामा सग्लन अर्का एक जना अझै फरार छन्।

पक्राउ परेका दुवै आरोपीहरूमाथि “कर्तव्य ज्यान“ मा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीबाट थप अनुसन्धान भई रहेको एसपी पंगेनीले जनाए।

अहिले कहाँ छन् फेला परेका वेवारिसे बच्चाहरू ?
रामु र श्यामु राधाको पहिलो पतिपट्टीका बच्चा हुन्। उनीहरूलाई अहिले जनकपुरधामस्थित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था शिविनको सेफ हाउसमा राखिएको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनले मृतक महिलाको माईतीको ठेगाना खुली सकेको हुँदा माईती घरको मानिसहरू पत्ता लगाइ जिम्मा लगाउने तयारी भइरहेको जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved