एमसीसीबारे निर्णय लिन सत्तागठबन्धन बैठक बस्दै

टेबल गराउनेमा सहमति नजिक पुगे पनि पारितमा विभाजित

यद्यपि एमसीसीकै कारण गठबन्धन विभाजनको डिलमा पुगेपछि दलहरू एक कदम अगाडि बढेर कम्तीमा छलफलको लागि एमसीसी संसदमा टेबल गर्ने सहमति गर्न लागेको बताइएको छ।

नेपालभ्युज

एमसीसीबारे निर्णय लिन सत्तागठबन्धन बैठक बस्दै

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन आइतबार सत्तारुढ गठबन्धन बैठक बस्दैछ। सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिमा दलहरूबीच सहमति जुटे सम्झौतालाई संसद्मा टेबल गर्ने बताएपछि गठबन्धनका बैठकले यसबारे छलफल गर्न लागेको हो।

प्रतिनिधिसभा बैठक बस्नुअघि बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवासमा छलफलको तयारी छ। बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्। एमसीसीको पूर्ण विपक्षमा रहेको राष्ट्रिय जनमोर्चा भने बैठकमा सहभागी हुँदै आएको छैन।

यसअघि शुक्रबार पनि छलफल भएको थियो। पार्टीमा छलफल गरेर निर्णय लिन भन्दै नेकपा एकीकृत समाजवादीको लागि समय दिएर गठबन्धन बैठक आजसम्मको लागि स्थगित गरिएको थियो।

सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजैको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने अडानमा छन्। तर प्रमुख विपक्षी दल नेकपा एमालेलाई पनि सहमतिमा ल्याएर मात्रै टेबल गर्नुपर्ने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अडान छ। सत्ताको अर्को घटक जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्न चाहन्छन्। एमसीसी सम्झौता संसद् सचिवालयमा भने साढे दुई वर्षअघि दर्ता भइसकेपछि विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।

यद्यपि एमसीसीकै कारण गठबन्धन विभाजनको डिलमा पुगेपछि दलहरू एक कदम अगाडि बढेर कम्तीमा छलफलको लागि एमसीसी संसदमा टेबल गर्ने सहमति गर्न लागेको बताइएको छ।
एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार देखिएको नेताहरु बताउँछन्।

नेकपा एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘‘एमसीसी विवादले भूराजनीतिमा थप विभाजन ल्याउने खतरा भयो। विदेशीले पनि चासोका साथ हेर्न थालेका छन्। कतिपयले एक कदम अघि बढेर अभिव्यक्ति समेत दिन थालेका छन्। यसकारण थप नगिजोलियोस् भनेर अहिले छलफलमा लैजाने र गठबन्धनमा थप छलफल गरेर निर्णय लिने तयारी छ।’’

छलफलमा पठाउने समझदारी करिब जुटे पनि पारित गराउनेबारे भने सहमति भएको छैन। टेबल गरिसकेपछि आआफ्नो निर्णय गरी मत हाल्ने समझदारी गठबन्धनबीच बन्न सक्ने नेताहरु बताउँछन्। यद्यपी यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved