नेपालभ्यूज फलोअप

बुटवलका नमुना भनिएका सामुदायिक विद्यालयमै छ प्रवेश परीक्षाको गजबार

उत्कृष्ट भनेर चिनिएका सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिने पद्दतिका कारण घर नजिकैको विद्यालयमा पढ्न नपाउने अवस्था सिर्जना भइरहेछ।

बुटवलका नमुना भनिएका सामुदायिक विद्यालयमै छ प्रवेश परीक्षाको गजबार

बुटवल। बुटवल उपमहानगरपालिकाको कालिकानगरमा अवस्थित ‘कालिका मानव ज्ञान माध्यमिक विद्यालय’ केही वर्षदेखि नेपालमै उत्कृष्ट भनेर चिनिने गरेको छ। तर सामुदायिक भए पनि यो विद्यालयमा चाहँदैमा कोही विद्यार्थी पढ्न पाउँदैन। प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्छ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार हरेक वर्ष तीन हजारदेखि तीन हजार पाँचसय सम्म विद्यार्थीले त्यहाँ भर्ना हुन आवेदन दिन्छन् तर तीन देखि पाँच सयसम्म मात्रै छनौट हुन्छन्।

प्रधानाध्यापक थापा प्रवेश परीक्षा गलत भए पनि बाध्यताको उपजको रूपमा व्याख्या गर्छन्।

“विद्यालयको नतिजा राम्रो भएकाले धेरै विद्यार्थी भर्ना हुन ईच्छुक हुन्छन् त्यसैले नै प्रवेश परीक्षा लिन बाध्य भएको हो”, थापा भन्छन्, “सिधै भर्ना गर्ने हो भने त, नजिकका मात्र भर्ना हुन्छन्, थाहा नपाउने छुट्छन्।”

माथिल्लो कक्षामा प्रवेश परीक्षाको नतिजा अनुसार भर्ना लिने गरे पनि तल्लो कक्षामा भने स्थानीय बासिन्दाका बालबालिकालाई नै प्राथमिकतामा राखेर भर्ना गरिएको उनले बताए।

विद्यालयमा अहिले आठ हजार ८३ जना विद्यार्थी अध्ययनरत छन्।

बुटवलकै हाटबजार लाइनमा रहेको ‘कान्ति माध्यमिक विद्यालय’ले पनि भर्ना हुनुभन्दा पहिले नै प्रवेश परीक्षा लिने गरेको छ। विद्यालयमा विद्यार्थीको चापको कारणले नै परीक्षा लिनु परेको विद्यालय स्रोतले बताएको छ। अंग्रेजी माध्यमबाट अध्यापन हुने भएकोले पनि कालिकापछि कान्तिमा विद्यार्थीको भिड लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए।

बुटवल–११ देविनगरमा अवस्थित ‘नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय’ले पनि प्रवेश परीक्षा लिने गरेको छ। विद्यालय रहेको देवीनगर क्षेत्रमा जनघनत्व बढी रहेकाले पनि विद्यार्थीको चाप बढी हुने भएकोले प्रवेश परीक्षा लिन बाध्य भएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको तर्क छ।

देशमै नमूना मानिएका सामुदायिक विद्यालयहरूले हरेक शैक्षिक सत्रको शुरुमा लिने प्रवेश परीक्षाकै कारण विद्यालयनजिक घर भएका विद्यार्थी पनि सामुदायिक विद्यालयमै पढ्नका लागि टाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ।

एकरूपताको प्रयास

कुनै विद्यालयमा विद्यार्थीको चाप बढी र कुनैमा कम हुने अवस्था अन्त्य गर्न भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयको समान शैक्षिकस्तर स्थापना गर्न ‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याएको छ।

“बुटवलभित्रका सबै वडाका विद्यालयमा शिक्षाको समानस्तर स्थापित भएमा विद्यार्थी घरदेखि टाढा र महंगो भनिएका निजी विद्यालयमा गएर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ”, नगर उपप्रमुख गुमादेवी आचार्यको तर्क छ।

यो अवधारणाले सबै सामुदायिक विद्यालयमा विद्यार्थीहरूको समान सहभागिता हुने भएकाले चाप समान हुने उनले बताइन्।

साथै प्रवेश परीक्षाको पद्दति अन्त्य भई आफूले चाहेको विद्यालयमा पढ्ने वातावरण निर्माणमा पनि यो अवधारणले सहयोग पुर्‍याउने उनले जिकिर गरिन्।

“शैक्षिकस्तर राम्रो भएको बहानामा धनीका छोराछोरीले महंगो विद्यालयमा पढ्ने र गरीबका छोराछोरीले कमजोर विद्यालयमा पढ्ने भन्ने विभेदको पनि अन्त्य हुन्छ, यसले शिक्षामा पनि समान विकास हुँदैजान्छ”, आचार्यले भनिन्।

बुटवल उप–महानगरपालिका भित्र ३८ ओटा सामुदायिक विद्यालय छन्। ती मध्ये आधारभूत १२, माध्यमिक २२, विशेष एक र मदरसा तीन ओटा छन् भने संस्थागत विद्यालयको संख्या ५७ छ।

प्रवेश परीक्षाको नाममा मौलिक हक खोस्दै राजधानीकै सामुदायिक विद्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved