बेवारिसे बालकहरूले झस्काएको गर्भवती महिलाको हत्या अनुसन्धान

बेवारिसे बालकहरूले झस्काएको गर्भवती महिलाको हत्या अनुसन्धान

जनकपुरधाम। महोत्तरीमा दुई बालकहरू बेवारिसे भेटिए। उनीहरू करिब ४ र २ वर्षका छन्। ती बालकहरूलाई स्थानीयले संरक्षण दिएर राखेका छन्। त्यसकै भोलिपल्ट बालक भेटिएको केही पर जंगलमा एक महिलाको शव फेला पर्‍यो। शवको पहिचान खुल्न सकेको छैन।

यी दुई घटना अहिले महोत्तरीमा निकै चर्चित बनेको छ। दुई घटनालाई स्थानीय जोडेर हेर्न थालेका छन् भने प्रहरी प्रशासनले पनि फेला परेको महिलाको शव र बालकहरूबीच आमाछोराको सम्बन्ध हुन सक्ने अनुमान गर्दै अनुसन्धान शुरु गरेको छ।

यद्यपि घटना भएको तीन दिन बितिसक्दा पनि न मृतक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै।

यसरी फेला परेका थिए बालकहरू

३ फागुन मंगलबार साँझ गौशला नगरपालिका-१२ स्थित जंगल छेउको विषहरा थान नजिकै रहेको एक होटलमा दुई अबोध बालक फेला परेका थिए।

बाबुआमाको नाम र ठेगाना समेत बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको होटल चलाउँदै आएका दिलबहादुर बताए। उनले भने, “एक महिलाले बच्चाहरूलाई लिएकी थिइन्। उनको मुख पछ्यौराले छोपेको थियो। बच्चाहरूलाई यहीँ बस्दै गर। म आउँछु भनेर छोडेर गएकी थिइन्। केही समयमा फर्केर आउँलिन् भन्ने लाग्यो तर आइनन्।”

रात पर्न थाल्यो तर बच्चालाई लिन कोही आएनन्। त्यसपछि हल्ला खल्ला भयो। अनि स्थानीयहरू जम्मा भएर बच्चाहरूलाई सोधपुछ गरे। अलिक ठूलाचाहिँ बालकले आफूलाई एउटा अंकलले छाडेर गएको बताए। तर ती अंकलको नाम भने उनले थाहा नभएको बताए।

तीमध्ये ठूलाले आफ्नो नाम रामु र भाइको नाम श्यामु भनिरहेका थिए। बुवाको नाम अजय महतो बताए पनि ठेगाना भने खुल्न सकेको छैन।

फेला परेका दुवै बालकहरू अहिले स्थानीय दिनेश महतोको संरक्षणमा छन्। नेपाल रेडक्रस सोसाइटी उपशाखा गौशालाका उपसभापतिसमेत रहेका महतोले ती बालकहरूलाई आफ्नो संरक्षणमा लिएका छन्।

महतोसहित केही स्थानीय युवाले ती बालकहरूको फोटो खिचेर सामाजिक सञ्जालमा राखे। सोधपुछ गर्दै गएको भिडियो पनि बनाए। समाजिक सञ्जालमा बच्चाहरूको भिडियो र फोटो भाइरलझैं भयो। तर, राति अबेरसम्म कोही पनि बच्चाहरूलाई लिन आएननन्। उनीहरू न राम्रोसँग बोल्न सक्छन् न त आफूलाई कसले बेवारिसे बनाएको बताउन सक्छन्।

गर्भवती महिलाको शव फेला

माथिको घटनाको भोलिपल्ट ३ फागुनमा बच्चाहरू भेटिएको केही पर एक गर्भवती महिलाको शव फेला पर्‍यो। गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि सागरनाथ वन परियोजनाको जंगलभित्र बुधबार दिउँसो करिब २५ वर्षीया एक महिलाको शव भेटिएको थियो।

सागरनाथ वन परियोजनाको जंगलभित्र बुधबार महिलाको शव भेटिएपछि घटनास्थलमा प्रहरी र स्थानीबासी

गर्भवती महिलाको घाटीमा निलडाम रहेकाले कसैले हत्या गरी जंगलमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ। शवको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ।

एउटै क्षेत्र परिवरि दुवै घटना हुनु र पहिचान हुन नसकेको महिलाको शव फेला पर्नुलाई स्थानीयले ती बालकहरू मृतक महिलाकै हुन सक्ने आकलन गर्न थालेका छन्। प्रहरीले पनि मृत महिला र बच्चाहरूबीच सम्बन्ध हुन सक्ने अड्कल काटेको छ।

प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आत्महत्याभन्दा पनि हत्या भएको हुन सक्ने आशंका छ। गर्भवती ती महिलाको घाटीमा निलडामसमेत देखिनुले पनि हत्या हुन सक्ने बलियो प्रमाण भएको प्रहरी बताउँछ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने , “पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ।” बच्चाहरूले मृतक महिलाको फोटो देखाउँदा ममी पनि भनेका डीएसपी विष्टको भनाइ छ। तर साना बच्चाहरूले ममी भने पनि यसैलाई थप पुष्टि गर्न नसकिने प्रहरीको ठहर छ।

डीएसपी बिष्टका अनुसार बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रस्ट बोल्न नै। ठ्याक्कै उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने अवस्थामा प्रहरी छ। यद्यपि बच्चा बेवारिसे भेटिनु र महिला मृत भेटिनुलाई दुवै घटना सम्बन्धित हुनसक्ने कोणबाट प्रहरीले एकसाथ अनुसन्धान अगाडि बढाएको छ।

घटनाका सम्बन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved