स्थानविशेष कविता

मेलम्ची : दुई कविता

मेलाम्ची एक धुनले बग्छ। नेपाली केटीहरू एक सुरले हिँड्छन्। मेलाम्चीको धुन पक्डन त्यति सहज छ र ? केटीहरूको सुर भेट्टाउन त्यति सजिलो छ र ?

नेपालभ्युज

मेलम्ची : दुई कविता

मेलाम्ची एउटा नदीको नाम हो
-डा. वानिरा गिरि
(पूर्वी नेपालको सिन्धुपाल्चोकमा बग्ने नदी। यो पहाडबाट अनेकौं ठक्कर खाँदै बगेको छ। पहाडहरूमा फेद-फेद हुँदै तल-तल बग्दै कता हो कता मिसिन्छ यो मेलाम्ची। नेपाली बालाहरू पनि अलिकति पैसाको लागि, एक गाँस मीठो खानको लागि, एक झुम्रो लाउनको लागि, एक मुठी सुन्दर सपनाको निम्ति ओरालैओरालो लाग्छन्। मेलाम्ची एक धुनले बग्छ। नेपाली केटीहरू एक सुरले हिँड्छन्। मेलाम्चीको धुन पक्डन त्यति सहज छ र ? केटीहरूको सुर भेट्टाउन त्यति सजिलो छ र ?

९ अगस्त १९९३ मा ‘शरीर व्यापार निम्ति विदेशिने महिलाबारे’ सीसीओको आर्थिक सहायताअन्तर्गत सीडब्लुडीद्वारा तयार गरिएको डकुड्रामाको कथा, पटकथा र संवाद मैले लेखेकी हुँ र सो डकुड्रामाका सुरुका पंक्तिहरू यिनै हुन्। ‘टिनको छाना मुन्तिर’ (UNDER THE TINROOF) शीर्षकमा यो डकुड्रामा स्वदेश र विदेशमा समेत प्रचारप्रसार गरिएको छ।)

मेलाम्ची एउटा नदीको नाम हो
तर यो नदी
नदी मात्र होइन
एउटा शरीर पनि हो
एकदम जिउँदो शरीर
मेलाम्ची शरीर
छलछल कलकल गर्ने कञ्चन काया
अनन्त अनन्त तिर्खा मेट्ने कोमल छाया
हिमाली शिखरहरूका ऋतुदानबाट
स्वर्गङ्गाझैँ बग्दैबग्दै आएकी हो मेलाम्ची

पूर्णेको रातमा
जुनेलीको सोह्रशृंगार कत्ति सुहाएको छ
सुन्दरीहरूको पनि सुन्दरी
जलसुन्दरी भने हुन्छ यसलाई
यसले तल-तल बग्दा
फिन्फिनी घुम्दा
चक्कर काट्दा
छलबल छलबल गर्दा
यसबाट उब्जेका रतिरागात्मक ध्वनिबाट
कसको मन चञ्चल होओइन ?
यो अनिन्द्य सुन्दरीलाई
भित्र्याउने रहर कसमा जाग्दैन र ?

गोसाईंकुण्ड एउटा तीर्थ हो
मात्र तीर्थ, मात्र कुण्ड
एक ठाउँ टक्क जमेर बस्ने तीर्थ
मेलाम्ची-
पखालिएर, सजिएर, जोसिएर, पसारिएर
बगेर हिँड्ने शरीर हो
यस शरीरमा चोबलिएर
डुबेर
पौडेर
कति-कति पाखण्डी शरीरहरू पावन बनिसकेका छन्
बरा गोसाईंकुण्ड तीर्थयात्रीहरू लोभिनु स्वाभाविक होइन र ?

मेलाम्ची
मोक्षप्राप्तिको एक तात्विक तरलता हो
करोडौं-करोडौंका तिर्खा मेट्न सक्ने
उत्कण्ठित उत्ताल ऊर्जास्रोत हो
मेलाम्ची- यात्रामा निस्कँदा
गेरुवा वस्त्र धारण गर्नु पर्दैन
हातमा कमण्डलु र चिम्टाको स्वाँग भर्नु पनि पर्दैन
आँखामा विद्युतीय ज्योति
र घाँटीभरिभरि
तिर्खा बोकेर चुर्लुम्म डुबुल्की मारे हुन्छ

जलदेवी हो मेलाम्ची
यसको पूजाआजामा मन र मुटुको
भएभरको माया पोखाए हुन्छ
यसको सुकुमारी शरीरको हरेक लहरमा
लाखौंलाखको तिर्खा मेटाउने रंगीन रहर
तरेली-तरेली भएर थेग्रिएको छ
उत्साहउमंगका उत्ताल छालहरूलाई
छातीभरिभरि अटाएर
बिदा हुन तयार छे मेलाम्ची

सुहागरातको सुकुमारी सपनाहरू सँगालेर बग्दैछे
पुरुषार्थले देदीप्यमान
एक अजङको व्यक्तित्व पर्खेकी छे यसले
कुनै दिन
कुनै मुहूर्तमा
यहीँको माटोबाट, ढुंगाबाट, हिमशिखरबाट, बतासबाट
एक ओजश्वी, पौखरी महापुरुष प्रकट होओइन ?
आफँैसँग प्रश्न गर्छे
आफैँ लजाउँछे मेलाम्ची

प…र र धेरै पर जान मन छैन उसलाई
आफ्नै मुलुकको
आफ्नै माटोको
आफ्नै माया-ममताले लटरम्म भएको
आफ्नै मुलुकको मायालु राजधानीमा भित्रिने भित्री रहर बोकेर
छलछल छलछल छलछल छलछल गर्दैछे
यो अप्रतिम सुन्दरी मेलाम्ची
००
छ कुनै महानायक ?
जो वरण गर्न सकोस् यसलाई
जो भित्र्याउन सकोस् यसलाई
काष्ठमण्डप नाम गरेको
यो महानगरीमा
यो मायानगरीमा ?
यस मायानगरीका हज्जारौं-हज्जारौं
चेलीबेटीहरूका
छोरीबुहारीहरूका
गल्ली-गल्लीमा
गाउँ-गाउँमा
बस्ती-बस्तीमा
लाम लागिएका रित्ता गाग्राहरूमा
रोज भरिन मन छ उसलाई
सुक्खा घाँटीहरू रोज मेटाउन मन छ उसलाई

मेलाम्चीलाई
केवल नदी भनेर पुग्दैन
समस्त तिर्खा र तृप्तिहरूको मुहान पनि हो
बत्तीसलक्षणले युक्त भएकी सुकन्या पनि हो
अब-
रामहरूले शिवधनु उठाउनुप¥यो
मेलाम्ची भित्र्याउने हो भने
अर्जुनहरूले तल हेर्दै माथि झुन्ड्याइएको
माछाको आँखा ताक्नुप¥यो
मेलाम्चीलाई राजधानीको राजरानी बनाउने हो भने

सीताहरूभन्दा
द्रौपदीहरूभन्दा
कुन अर्थमा
कम सुन्दरी छे मेलाम्ची ?
कम गुणवती छे ?
कम शीलवती छे ?
कम आग्नेय छे ?
यसको सौष्ठवपूर्ण
वेगवती शरीरको रागात्मकतालाई
सुन्ने कानहरू बरु बैरा छन्
देख्ने आँखाहरू अन्धा छन्
बुझ्ने मनहरू मृत छन्
मनन गर्ने मस्तिष्कहरू
भताभुंग छन्, लथालिंग छन्, छताछुल्ल छन्

आजभोलि सीता होइन
रामहरू सुनको मृगनिम्ति लिँडेढिपी गर्ने भएका छन्
खाण्डव महलको भूलभूलैयामा
दुर्योधन पछारिँदा द्रौपदी होइन
तथाकथित धर्मराज युधिष्ठिरहरू
खित्का छोडीछोडी हाँस्ने भएका छन्
यिनीहरूका-
बिनसित्तिका लिँडेढिपीहरू
तातो न छारोका खित्काहरू
बेहोर्दा-बेहोर्दा
जन-जनका मनहरूमा कैयौँ-कैयाँै क्लेशहरू
तह-तह भएर, थुप्रो-थुप्रो भएर थुप्रिएका छन्

अग्निपरीक्षामा थेचार्दै सीताहरूलाई
कलियुगी रामहरूले नाक जोगाउन सक्तैनन्
आपस्तमा बगरेले झैँ बाँड्दैमा द्रौपदीलाई
धर्मको रक्षा गर्ने आँटसम्म पनि
गर्न सक्तैनन् आधुनिक अर्जुनहरूले

आफ्ना नपुंशकताहरूलाई च्वाट्ट चुँडाल्ने हो भने
कानहरू चनाखा पारेर
आँखाहरू तीखा पारेर
मस्तिष्कका तन्तुहरूलाई तानतुन पारेर
हिमवत्सुन्दरी मेलाम्चीसँग स्वयंवर रचाउनुप¥यो
मनको सम्पूर्ण मधुरता घोलेर
मेलाम्चीसँगको सुहागरात सम्पन्न गर्नुप¥यो
होइन भने-
‘सीतालाई रावणले ह¥यो’ भनेर
रुनु, कराउनु भएन
अर्को रगतकाण्ड रामायणनिम्ति
वाल्मीकिहरूलाई उकास्नु पनि भएन
ढुंगाकी गौतमीलाई
नाटक गर्नु भएन पयरले छुने
फोस्रो महानता पनि देखाउनु भएन
शबरीको जुठो बयर खाने

अबका रावणहरूद्वारा हरिने सीता
मेलाम्ची हुनेछ
जुवामा थापिने द्रौपदी पनि
मेलाम्ची नै हुनेछ
अब कुनै दुःशासनबाट
कसैको चीरहरण हुने हो भने
त्यो पनि मेलाम्ची नै हुनेछ
रामहरूको निम्ति, अर्जुनहरूको निम्ति
बीसौँ शताब्दीको पुछार र एक्काइसौँ शताब्दीको टाउकामा
आयोजना हुन लागेको
यो अन्तिम महापौरुष-परीक्षा हो
समग्र पौरुषलाई
‘स्प्रेक्टम’ सरह एक बिन्दुमा केन्द्रित गरेर
सारा खलनायकहरूलाई
सारा जलदस्युहरूलाई
भित्तो पु¥याएर सिध्याउनुप¥यो
मेलाम्चीलाई वरण गर्नुप¥यो

होइन भने-
मेलाम्ची आफ्ना फुपुहरूझँै, दिदीहरूझैँ
सधैँ-सधैँका निम्ति विदेशिनेछे, बेपत्ता हुनेछे
कामतीपुर, भाण्डुप, फक्ल्याण्ड गल्लीतिरका
आफ्ना साथीसँगीका फोहोरहरू पखाल्दै-पखाल्दै
महासागरमा पुग्दा-नपुग्दा
के हुनेछ पहिचान उसको ?
अलिकति गंगा ?
अलिकति हिमकन्या ?
अलिकति इन्द्रावती ?
अलिकति मेलाम्ची ?
अथवा-
फोहोरै-फोहोरको वैतरणी ?
फोहोरै-फोहोरको वैतरणी ?
(साभारः ‘गरिमा’- २०५५ फागुन)

 

म मेलम्ची
-श्याम दाहाल

घनाबस्ती
ठूला-ठूला मान्छेहरूका
झिलिमिली शहरमा गड्गडाएर
पुगिदिन मन थियो मलाई।

भ्यालीभित्रका ढलमिश्रित मलमूत्रले
पहेँलिएका
ट्यांकीभित्र पसेर
प्रत्येक जवान र
आवालवृद्ध वनिताका
घाँटी-घाँटीमा
स्वर्गीय अमृतमय बनेर
एकपटक रसाइ
पल्काइदिन मन थियो मलाई।

तर शिवको जटामा झैँ
दलाली र भ्रष्टाचारको
जञ्जाली जगल्टाको जुरोभित्र-
वर्षौं-वर्षौंदेखि छिचोली
पार लाग्न नसक्ने भएर
अलमल्ल परी
यत्रतत्र हात पसारेर
नाटकीय पात्रझैँ
आफूलाई पस्किदिएर त्यतैत्यतै
बरालिएकी छु म।

मलाई लोभ्याएर
सुम्सुम्याउनेहरू
करोडौं पनि भइसके
अझै कति हुने शुरमा छन्।

आफूचाहिँ उनै
कडा चट्टान र आटव्य पहराहरूमा
बजारिँदा-बजारिँदै झन् झन्
शिथिल भएर
सपूत-जंगे भगीरथको पर्खाइमा
पंक्तिबद्ध रित्ता गाग्री र
सुख्खा घाँटीतिर
छाँगाबाट बजारिँदै
दिन-रात
टुलुटुलु हेरिरहेछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved