मछिन्द्रको छलाङ

यसवर्ष भने मछिन्द्रले एएफसीको क्लब लाइसेन्स पनि पायो भने जारी लिगको सातौं चरणसम्मको खेल सकिँदासम्म लिग लिडरको रूपमा रहेको आधारमा एएफसी कपमा छनोट पनि भइसकेको छ।

मछिन्द्रको छलाङ

काठमाडौं। डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब लगातार दोस्रो सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ। बुधबार लिग चरणको ११ औँ खेलमा सातदोबाटो यूथ क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले दुई खेल अगावै ‘ए’ डिभिजन लिग उपाधि पक्का गरेको हो।

लिग उपाधि सुनिश्चित गर्न मछिन्द्रका विदेशी खेलाडी नुर्लान नोभुर्जोभले ५३ औँ मिनेटमा निर्णायक गरेका थिए।

जारी लिगमा हालसम्म अपराजित मछिन्द्रले लिग उपाधिमा कब्जा गरेको हो। बुधबारको जितपछि ११ खेलमा नौ जित र दुई बराबरीपछि २९ अंकसहित दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबमाथि ९ अंकको अग्रता कायम गर्‍यो।

मनाङको १० खेलमा २० अंक छ। अब मनाङले लिगमा तीन खेल खेल्न बाँकी छ। यदि मनाङले सबै खेल जितेमा र मछिन्द्रले बाँकी दुई खेल हारे पनि दुवैको अंक बराबर हुनेछ। यसो भएमा पनि लिगको छैटौँ चरणमा मनाङलाई १-० ले हराएको मछिन्द्रले ‘हेड टु हेड’ मा पनि मनाङभन्दा अगाडि रहँदै लिग उपाधि पक्का गर्नेछ।

यसअघिको २०७६ को गत संस्करणमा लिगको अन्तिम खेलमा आर्मीलाई १-० गोल अन्तरले पराजित गर्दै क्लब इतिहासमै पहिलो पटक मछिन्द्रले लिगको उपाधि उचालेको थियो। त्यससँगै नेपाली घरेलु फुटबलमा नयाँ ‘पावर आउस’को रूपमा मछिन्द्रको उदय भयो।

मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालका अनुसार यो लिगको शुरुआतमादेखि नै टिमको मुख्य योजना लिग उपाधि डिफेण्ड गर्ने नै थियो जुन सफल भयो।

सन् १९७३ मा स्थापना भएको यो क्लब २०६२ सालमा पहिलो पटक ‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर ‘ए’ डिभिजनमा उक्लेको थियो। यसपछि ‘ए’ डिभिजनमा उक्लेको १५ वर्ष पछि गत सिजन मछिन्द्रले ए डिभिजन लिग उपाधि जित्यो।

नेपाली घरेलु फुटबलमा केही सिजन अघिसम्म मछिन्द्र क्लबलाई सायदै कसैले उपाधिको दाबेदारको सूचिमा राख्ने गर्थ्यो

२०७६ को लिग अगाडीसम्म मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबाहेक अन्य क्लबलाई लिग च्याम्पियनको रूपमा हेर्ने प्रयास कसैले पनि गर्ने थिएन। हुन पनि २०५२ साल यता भएका १२ ‘ए’ डिभिजन लिगमा यी तिन बाहेक अन्य एउटा पनि क्लबले लिग उपाधि उचाल्ने आँट नै गर्न सकेका थिएनन्।

नेपाली फुटबलमा यी तिन क्लबको एक क्षत्र राज चलिरहँदा २०७६ को लिग उपाधिको प्रतिस्पर्धामा मछिन्द्र क्लब ‘आउट अफ सिलेबस’ को रूपमा आइपुगेको थियो।

मछिन्द्र क्लबको यसअघिको सबै भन्दा राम्रो प्रदर्शन भनेको २०७० सालमा लिगको उपविजेता बन्नु थियो। यसपछि चार वर्ष लिग भएन। एकैपटक २०७५ मा भएको अर्को संस्करणको लिगमा भने खराब प्रदर्शन गरेको मछिन्द्र क्लब अन्तिम दुईमा पर्‍यो। तर धन्न त्यो वर्ष एन्फाले रेलिगेसनबिनाको लिग गरेकाले पुनः ‘बी’ डिभिजनमा झर्नबाट जोगिएको थियो।

यसरी भाग्यले बचेको मछिन्द्रले एकाएक अर्को वर्ष लिग च्याम्पियन बन्न टिममा आमूल परिवर्तन गर्‍यो।

मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, “बिनारेलिगेसनको लिगमा मछिन्द्रको एक अंक काटियो। यसपछि क्लबको म्यानेजर अनिल श्रेष्ठले बरु जेसुकै होस्, राम्रो खेलाडी अनुबन्ध गरेर लिग च्याम्पियन हुने टार्गेट नै राखेर बढ्ने लक्ष्य लिनुभयो र त्यो सफल भयो।”

म्यानेजर श्रेष्ठले २०७५ को लिग च्याम्पियन मनाङबाट खेलिरहेका ६-७ जना खेलाडीहरूलाई एकै पटक टिममा भित्र्याए। प्रवेश कटुवाल प्रशिक्षकको रूपमा टिममा अनुबन्धित भए। उनले पूर्वक्लब झापा-११ को टिमबाट पनि केही राम्रा खेलाडी मछिन्द्रमा ल्याए।

त्यो वर्ष मछिन्द्रमा नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडी थिए। क्लबले राम्रा खेलाडी टिममा भित्र्याउन राम्रो रकम पनि खर्चेको थियो।

हालको लिग विजेता टिममा पनि त्यो लिग विजेता टिमले नै निरन्तरता पाएको थियो। प्रशिक्षक कटुवालका अनुसार मछिन्द्रसँग यो वर्ष पनि लगभग गत संस्करणको लिग विजेता टिमको नै खेलाडी छन्। अझ केही नयाँ युवा खेलाडी पनि थपिएका छन् जसले टिमलाई झन् बलियो बनाएको छ।

कटुवाल थप्छन्,“फुटबल भनेको राम्रो टिम वर्क हो। क्लब, खेलाडी र कोचको राम्रो कम्बिनेसन नै हाम्रो सफलताको आधार बन्यो। यो सबै लिग च्याम्पियन बन्ने योजनाको एउटा मूर्त रूप नै थियो। जुन खेलाडी टिममा ल्याइयो तिनीहरूसँग पहिले नै काम गरिसकेको थिए। एउटा राम्रो टिम बनाएर च्याम्पियन नै हुने भनेर लागको थियौ। त्यहीअनुसार नै परिणाम प्राप्त भयो।”

गत संस्करणको लिग विजेता बनेर पनि एएफसीको क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कप खेल्न पाएन। उसको ठाउँमा लिगको उपविजेता नेपाल आर्मी क्लबले एएफसी कप खेल्न पायो।

यस वर्ष भने मछिन्द्रले एएफसीको क्लब लाइसेन्स पनि पायो भने जारी लिगको सातौँ चरणसम्मको खेल सकिँदासम्म लिग लिडरको रूपमा रहेको आधारमा एएफसी कपमा छनोट पनि भइसकेको छ।
एएफसी कपको छनोट चरणको पहिलो खेलमा आगामी २२ चैतमा मछिन्द्रले दशरथ रङ्गशालामै श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दै छ। जसका लागि अन्य केही खेलाडी र सकेसम्म विदेशी खेलाडी पनि थपेर टिमलाई अझ बलियो बनाउने क्लबको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved