टीकापुरमा माओवादी र कांग्रेसका जनप्रतिनिधिहरू रेशम चौधरीको पार्टीमा

पदमुक्त गर्न कांग्रेसको सिफारिस

नेपालभ्युज

टीकापुरमा माओवादी र कांग्रेसका जनप्रतिनिधिहरू रेशम चौधरीको पार्टीमा

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा आफ्ना गतिविधि सशक्त बनाएको छ। निलम्बित सांसद रेशम चौधरीको रणनीतिअनुसार उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा प्रभाव बढाउँदै लगेको हो।

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको छ। पार्टीका गतिविधि टीकापुर नगरपालिकामा बढी देखिएका छन्।

गत निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित ४ वडाध्यक्षसहित २० जना जनप्रतिनिधि खुलेरै नागरिक उन्मुक्ति पार्टीमा लागेका छन्। यसरी स्थानीय चुनावमा माओवादी र कांग्रेसलाई धक्का लाग्ने देखिएको छ।

माओवादी त्यागेर नागरिक उन्मुक्ति पार्टी रोजेका टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डंगौरा थारूले आफु राज्यबाट निकै पीडित भएको बताए। थारूको राजनीतिक अधिकार र पहिचान यो राज्यले खोसेको उनले आरोप लगाए।

उनी आफू टीकापुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका वडाध्यक्ष थारूले बताए। उनका अनुसार गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित ५ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा लागेका छन्। वडा नम्बर ७ का सदस्य यमलाल रेग्मी, कैलाशपति चौधरी, भोसु डंगौंरा थारू, सञ्जा वडले नागरिक उन्मुक्ति पार्टी रोजेका वडाध्यक्ष थारूले बताए।

नेपाली कांग्रेसका ३ वडाध्यक्षसहित १५ जना जनप्रतिनिधि पनि स्थानीय तह निर्वाचनमा होमिएका छन्। नेपाली कांग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टी रोजेका टीकापुर नगरपालिका–३ का वडाध्यक्ष रामसेवक महतोले नागरिक उन्मुक्ति पार्टी उत्पीडित वर्गहरूको पार्टी भएको बताए।

आउँदो निर्वाचनमा आफू पुनः वडाध्यक्षमा दोहोरिने तयारी गरिरहेको उनले बताएका छन्। वडाध्यक्ष महतोसहित वडा नम्बर ४ का वडाध्यक्ष लालवीर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष रामशंकर डंगौरा थारूलगायत जनप्रतिनिधिहरू तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए। पछि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा गाभिन पुगेको थियो। वडाध्यक्ष रामशंकर डंगौरा थारूले पुनः वडाध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन्।

यी हुन् कांग्रेसले पद खारेजी माग गरिएका जनप्रतिनिधि

हालै नेपाली कांग्रेसले आफ्ना ३ वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट निष्कासन गर्दै जनप्रतिनिधिको पद खारेजी माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

कांग्रेस कैलालीले टीकापुर वडा नम्बर ४ का वडाध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का वडाध्यक्ष रामशंकर डगौरा थारू, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश विक, वडा नम्बर ३ का वडा सदस्य बिना थारू, वडा नम्बर ३ वडा सदस्य भागीदेवी कामी, वडा नम्बर ४ वडा सदस्य तुलसादेवी विक, वडा नम्बर ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा नम्बर ४ वडा सदस्य रूपमती डगौरा थारू, वडा नम्बर ५ वडा सदस्य बलवीर थारू (चौधरी), वडा नम्बर ५ वडा सदस्य कन्हैया चौधरी, वडा नम्बर ५ वडा सदस्य आशा थारू, वडा नम्बर ५ वडा सदस्य सरिता भुल, वडा नम्बर ६ वडा सदस्य रामशंकर चौधरी, वडा नम्बर ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरी हालका मुख्य राजनीतिक दललाई पछि पार्दै सर्वाधिक मतले निर्वाचित भएका थिए। उनी हाल टीकापुर घटना मुद्दाको अभियोगमा आजीवन काराबासको सजाय भोगिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved