विश्व बाल क्यान्सर दिवस

समयमै उपचार थाले वयस्कलाई भन्दा बालबालिकालाई छिटो निको हुन्छ क्यान्सर

रक्त क्यान्सर भएको खण्डमा भने अस्पतालमा आठ महिनासम्म बस्नुपर्ने र तीन वर्षसम्म उपचार गराउनु पर्ने भएकाले सरकारले विशेष व्यवस्था गर्न जरुरी छ।

समयमै उपचार थाले वयस्कलाई भन्दा बालबालिकालाई छिटो निको हुन्छ क्यान्सर

काठमाडौं। ३८ नम्बर बेड। झ्यालबाट न्यानो घाम आइरहेको छ। दुवै हातमा क्यानुला (सलाइन पानी नसामा पठाउन जोडिएको सुईसहितको प्लास्टिकको पाइप) छन्।

तीन महिनादेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल क्यान्सर उपचार कक्षको बेड नम्बर ३८ मा महोत्तरीकी १२ वर्षीय चाँदनी ठाकुर रक्त क्यान्सरसँग जुधिरहिछन्।

सानैमा आमा गुमाएकी, बुबाले अर्की श्रीमती ल्याएपछि हेलामा परेकी चाँदनी माइजुको सहारामा छिन्।

माइजू नीलमका अनुसार एक वर्ष पहिले चाँदनीको घाटीमा साना–साना गाँठागुँठी देखिन थाले। बिस्तारै बान्ता हुने र बेहोस हुने भएपछि परिवारले उपचार गर्न नजिकैको क्लिनिकमा लग्यो। कमजोरीका कारण चाँदनीलाई ती समस्या देखिएको भन्दै क्लिनिकका स्वास्थ्यकर्मीले केही औषधी दिए। तर चाँदनीको समस्या झन् पछि झन् बढ्दै गयो।

औषधि खाँदा पनि निको नभएपछि चाँदनीका दाइले महोत्तरीकै सरकारी अस्पतालमा लगे। रोग पत्ता नलागेपछि अस्पतालले काठमाडौं पठायो। मामा–माइजुको सहारामा उनी काठमाडौं आइन्। मामा–माइजूले पाटन अस्पतालमा लगे। अस्पतालले रक्त क्यान्सर भएको बतायो।

सात महीना पहिला आएका थिए उनीहरू। तीन महीनादेखि चाँदनीलाई पाटन अस्पतालमै भर्ना गरेर राखिएको छ।

केमोथेरापीका कारण आधा भन्दा बढी झरिसकेको भान्जीको कपाल सुम्सुमाउदै माइजू निलम चाँदनीको अनुहारमा एकोहोरो हेरिरहन्छिन्। भान्जीका आँखाका आँसु पुछिदिन्छिन्।

मामा भने अस्पताल आउन भ्याउँदैनन्। चाँदनीको उपचारका लागि लामो समय लाग्ने भएपछि निलम दम्पतीले काठमाडौं बस्ने निधो गरेको थियो। मामा यतै काम गर्छन्। समय मिल्नासाथ भान्जीलाई भेट्न पुगिहाल्छन्।

भान्जीकै उपचारका लागि अहिलेसम्म चार लाख भन्दा बढी खर्च भइसकेको बताउँछिन् निलम।

“भान्जीलाई कसैले सोच्दै नसोचेको रोगले सतायो, दुख्यो भन्दै रुन्छ। तीन महीनादेखि उसकै ख्यालका लागि बसेको छु। डाक्टरले तीन महिनामात्र अस्पताल राखेपछि निको भएर घर जान पाउने जस्तो कुरा गरेको छ”, नीलमले भनिन्।

चाँदनी जस्तै हुम्लाकी पाँच वर्षीय सरस्वती पनि एक महिनादेखि रक्त क्यान्सरसँग लडिरहेकी छन्।

जनक बुमी र पवित्रा बुमीको पाँचौँ सन्तान हुन् उनी। तीन वर्षअघि सुरक्षा गार्डको जागिर पाएपछि परिवार लिएर काठमाडौं आएका थिए उनी। तर कोभिड महामारीका कारण जागिर खोसिएपछि उनको परिवार राहतको भर पर्न बाध्य भएको थियो। त्यही समयमा सरस्वतीलाई क्यान्सर देखियो।

शुरुमा त हातखुट्टामा रगत जमेको जस्ता स–साना फोकाहरू देखापर्दा जनक र पवित्राले खासै वास्ता गरेका थिएनन्। तर एकदिन खेल्दाखेल्दै बेहोस भएपछि उनलाई पाटन अस्पताल लगियो। अस्पतालले रक्त क्यान्सर भएको बतायो।

छोरीलाई क्यान्सर भएको थाहा पाएपछि जनक उपचारै गर्न नसकिने महँगो रोग लाग्यो भन्दै छोरीलाई लिएर भाग्न थालेका थिए। उपचारमा खटिएका डाक्टरले थाहा पाएर सम्झाइबुझाई गरेको जनकले बताए।

“उपचारका लागि म सँग एक पैसा पनि थिएन अस्पतालले नै केके गरेर मिलाएको छ,” उनले भने “गाउँबाट पनि राहत संकलन गरेर ३०–४० हजार पठाएका छन्, सरकारले दिएको एक लाख रुपैयाँ पनि लिएर रगत र केमो किनिरहेको छु।”

सरस्वतीको उपचारमा खटिएकी बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुचरिता तुलाधरले सहयोग जुटाइदिएको जनकले बताए।।

चुनौतीपूर्ण छ उपचार

क्यान्सरको उपचार महँगो हुने गरेकाले चुनौतीपूर्ण रहेको बताउँछिन् डा. सुचरिता तुलाधर।

“क्यान्सर रोगको उपचार निकै मंहगो छ। त्यसमाथि पनि साना बालबालिकाका अभिभावक आर्थिक रूपमा त्यति सक्षम भइसकेका हुँदैनन्, त्यसकारण कतिपयले क्यान्सर लागेको थाहा पाएपछि उपचार नै नगर्ने गरेका छन्। उपचारका लागि निकै लामो समय पनि लाग्ने भएकाले घरबार नै छोडेर अस्पतालमै बस्नु पर्ने अर्को समस्या हो। त्यसैले म क्यान्सर उपचारमा चुनौती नै चुनौती देख्छ”, डा. तुलाधर भन्छिन्।

नेपालमा हाल चार वटा सरकारी अस्पतालबाट बाल क्यान्सर रोगको उपचार गरिन्छ। त्यो मध्ये पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एक हो।

पाटनमा दुई वर्ष अगाडिबाट बाल क्यान्सरको उपचार गर्न थालिएको बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा.सुचरितचा तुलाधरले बताइन।

दुई वर्षसम्म ३० जना भन्दा बढी क्यान्सर लागेका बालबालिकाको उपचार गराइएको मध्ये करिब तीन जनाले ज्यान गुमाउनुपरेको जानकारी उनले दिइन्।

धेरै जसो अभिभावकहरू क्यान्सरबारे जानकार नभएको समेत उनको तर्क छ।

उपचारकै अभाव

विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी एक हजार पाँच सय बालबालिकामा क्यान्सर पुष्टि हुने देखाए पनि हाल पाँच सय जति बालबालिका पनि उपचारको दायरासम्म नपुगेको बाल क्यान्सर रोग विशेषज्ञ डा.विष्णुरथ गिरीले बताउँछन्।

उनी भन्छन्, “नेपालमा सबै भन्दा बढी बालबालिकाको क्यान्सर उपचार हुने भनेको कान्ति बाल अस्पतालमै हो, त्यसपछि भरतपुर, भक्तपुर र पाटनमा हो। यी सबै ठाउँको जोड्यो भने एक वर्षमा पाँच सय पनि पुग्दैन, अझै एक हजार बालबालिका उपचार गराउन नै आएका छैनन्।”

अधिकांशले क्यान्सर भएको थाहै नपाएकाले र कतिपय थाहा पाउँदापाउँदै पनि निको नहुने रोग भनेर उपचारमै नआएको उनको विश्लेषण छ।

“क्यान्सर लाग्यो भने निको नै नहुने रोग हो भनेर बुझेकाले उपचार गर्न नै ल्याउँदैनन्,” उनले भने, “तर सबैले के बुझ्न आवश्यक छ भने ठुलो मान्छेलाई लाग्ने क्यान्सर र बालबालिकालाई लाग्ने क्यान्सर एउटै होइन बालबालिकामा लाग्ने अधिकांश क्यान्सर निको पार्न सकिन्छ।”

सरकारी अस्पतालमै बाल क्यान्सरको सम्पूर्ण उपचार हुने भएकाले एउटा मध्य वर्गीय परिवारले पनि उपचार गर्न सक्ने भएकाले सबैलाई उपचारको दायरासम्म पुग्नुपर्नेमा उनले जोड दिए।

रक्त क्यान्सर भएको खण्डमा भने अस्पतालमा आठ महीनासम्म बस्नुपर्ने र तीन वर्षसम्म उपचार गराउनु पर्ने भएकाले सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

डा. तुलाधरका अनुसार नेपालमा बालबालिकामा सबैभन्दा बढी रक्त क्यान्सर नै भएको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved