स्मृतिशेष

लता मंगेशकर : अथक साधनाले चम्किएकी तारा

सुन्नुहोस्

लता पनि गाउँदागाउँदै यति धेरै हराउँथिन् कि, उनी गीतको भावमा पूरै डुबुल्की मार्थिन्। फिल्म ‘बैजू बाबरा’ मा ‘मोहे भूल गए सांवरिया’ मा भैरवको प्रतिबन्ध थियो। त्यो गीतको दोस्रो पंक्ति थियो, ‘नैन कहें रो रो के।’ अन्तरा गाउन बाँकी नै थियो। किन यस्तो भयो भनेर हेर्दा त उनी रोइरहेकी थिइन्। ‘राग’ को जादु थियो कि, गाउनेको मग्न भाव कसैको सोचमा नै आएन।

लता मंगेशकर : अथक साधनाले चम्किएकी तारा

‘के कहिले कसैले उच्च शिखरबाट खसेको झरना फेरि मास्तिरै फर्किएको देखेका छन् ? मैले देखेकी छु, सुनेको मात्र होइन। दिदीको आवाजमा। उनको तानको झङ्कारयुक्त स्वर झरनाजस्तै झर्दछन्, आउँछन् र फेरि त्यही बाटो हुँदै फर्किएको महसुस हुन्छ।’

लता मंगेशकरकी बहिनी आशा भोसलेको यो उद्गारले एक अलौकिक प्रतिभाको आकार दिन्छ। यस्तो झरनाको उद्गम कहाँबाट भयो ? भाइ हृदयनाथ मंगेशकर भन्छन्, ‘दिदीको मुखबाट बाबाले मात्र गाउनु हुन्छ।’ छोरीहरु लता, मीना, आशा, उषा, पुत्र हृदयनाथ। सम्पूर्ण परिवार सम्हालेका थिए– दीनानाथ मंगेशकरले। उनी गायन र अभिनयका महारथी थिए। उनै लताको जन्मदाता र प्रेरणाको स्रोत थिए।

२८ सेप्टेम्बर १९२९ मा लता जन्मिँदा लक्ष्मीको आगमन भएको मानिएको थियो। मास्टर दीनानाथको नाट्य मण्डली दिनदिनै लोकप्रिय हुँदै थियो। तिनै दिनहरुमा टुकुटुकु हिँड्ने लताले पिताको उज्वल भविष्यको बीज देखेकी थिइन्। सारंगी बजाउँदै गरेका पिताले बालिकाले माटो खाइरहेको देखे, त्यसलाई तुरुन्तै रोके। बालिकाले तुरुन्तै सारंगी बजाइन् र आलाप दिइन्। अचम्म भएथे, दीनानाथ। फेरि बालिकालाई काखमा राखेर उसले गाए, बालिकाले जस्ताको तस्तै दोहोर्‍याइन्। यस्तै माहोलबिच लता हुर्किएकी थिइन्।

पाँच साल यसरी नै बिते। जब आफ्ना शिष्यलाई पूरिया धनाश्री सिकाउँदा–सिकाउँदै दीनानाथ केही क्षणका निम्ति बाहिर निस्किएका थिए। शिष्यले रागको केही स्वर गलत तरिकाले गाए। खेल्दैखेल्दै लता भित्र आइन्। ठीक स्वरमा गाएर उनले सुधारिन्। त्यही समय पिता पनि आए र खुसीले गद्गद् भए।

यस घटनापछि दोस्रो दिन, बिहानीको समयमा लताको हातमा तानपुरा राखिदिए। पहिलो राग पूरिया धनाश्री सिकाए। साथै, स्वर र बोलीबिच अटुट सम्बन्धको गहिराइ सम्झाउन थाले। उनी राति जतिबेला घर फर्किन्थे, बिहान पाँच बजे ‘सा’ निकाल्न छाड्दैनथे। बाल्यकालदेखि नै रियाजको कठोर अनुशासन निभाइन्।

एक पटक लय–तालमा गल्ती गरिन्, उनलाई बाबाले दराजमाथिको गद्दामा राखिदिए। जबसम्म गलाबाट सही स्वर आएन, तबसम्म त्यही नै बसेर गाउनु पर्‍यो उनले। यो लताले पाएको पहिलो र आखिरी सजाय थियो। बिस्तारै–बिस्तारै आफ्नो बाबाले बनाएको सबै धुन उनलाई कण्ठस्थ हुँदै गयो।

संगीतको कडा अभ्यासले बालककालको निर्दोष दुष्टतालाई मेटाउन सकेन। लता, मीना, आशा र मावली भाइ पंडरीनाथ कोल्हापुरेको एउटा टोली बन्यो। उनीहरु मिलेर नाटक खेल्न थाले। आशा राजकुमारी, मीना दुष्ट रानी, पंडरीनाथ राजा र लता राजकुमारीलाई बचाउने वीरनायक बने। नाटकको बिचबिचमा बाबाको नाट्य गीत पनि गाउँथे। जब कुनै नयाँ गीत सिक्थिन्, तब आफै ग्रामोफोन बन्दथिन्। आफ्नो एउटा औंला कानमा चाबीजस्तै घुमाउँदै, अर्को हातले टाउकोको माथिल्लो भागमा नाडी सुइजस्तै राख्दै मुखले रेकर्ड बजाउँथिन्।

घरको प्लेट र कपलाई फुटाएर फुटेका माटोको भाँडोको पानीमा डुबाउन उनलाई धेरै रुचि लाग्थ्यो। यो कुरा बाबासम्म पनि पुग्थ्यो। तर बाबाले भन्थे, ‘केही नमान, म ल्याउँछु।’

मास्टर दीनानाथ नाटक सकिएपछि सिक्का भरिएको बाकस घरमा पठाउँथे। लता एउटा–एउटा सिक्कालाई माथिमाथि फ्याँक्न र जमिनमा खस्ने बेला त्यसलाई समात्न धेरै नै रुचाउँथिन्।

लतालाई स्वादिष्ट खाना खाने यति धेरै इच्छा रहन्थ्यो कि, आफ्नो थालको खाना सिध्याएपछि भाइबहिनीको थालतिर आँखा पुर्‍याउँथिन्।

लामो कपाल किसमिस खाँदाखाँदै बाँध्थिन् उनी। आमा चाहिँ उनको काखमा किसमिस राख्दै जान्थिन्। बिरामी हुँदा आमाले उनलाई रोटी बनाउन अह्राउँथिन्। जब रोटी राम्ररी पेलिँदैनथ्यो, फुल्दैनथ्यो, तब बेल्ना फ्याँक्थिन्। एक पटक बेल्ना फ्याँक्दा मुसालाई लाग्यो। उनी रुँन थालिन्, ‘गणेशजीको बाहन मर्‍यो, मेरो हातबाट।’

बहिनीहरु उनलाई ‘रुन्ची’ भनेर चिढ्याउँथिन्। नाटक हेर्न उनलाई यति सोख थियो कि, बाबाको अस्वीकृति रहँदा पनि मीनासँग चुपचाप उनको नाटक हेर्न दर्शक पंक्तिमा बस्न पुग्थिन्। बाबाका ठुला–ठुला आँखामा यो कुरा लुक्न सक्दैनथ्यो। उनले खुबै खप्की खानुपथ्र्यो। आमा–बुबाको उनी प्यारी छोरी थिइन्। आमाले एक पटक लेखेकी थिइन्, ‘निराश्रयका दिनमा मेरा एकएक गहना बिकेका थिए तर जब लतासँग केही पैसा भयो, सबभन्दा पहिला उनले मलाई गहनाहरु बनाइदिइन्।’

उनी पाँच वर्षकी हुँदा विफरले सिंगो शरीर (बाहिर–भित्र) लाई असर तुल्यायो। आँखाको ज्योतिसम्म गुम्ने खतरा थियो। टाउकोमा कपालको गुजुल्टा निस्केको थियो। प्राण नै जोखिममा थियो। जब उनको बिमार ठीक भयो, तब बाबु–आमाले खुसीयाली मनाए र थुप्रै वस्तु दान दिए।

लताको जीवनमा अभिनयको शुरुवात आकस्मिक नै थियो। मनमाडमा ‘सुभद्रा’ नामक नाटक खेल्नुपर्ने थियो। यस पटक सबै परिवारको साथ थियो। ‘नारद’ बिमारी भए। चिन्तित बाबाले लतालाई भने, ‘मलाई नारदको सबै संवाद र गीत याद छ। म बन्छु नारद।’ लता रंगमञ्चमा उक्लिइन् र गाउन थालिन्। विस्मित, अवाक् दर्शकहरुको तालीको गड्गडाहटले उनको अभिनेत्री र गायिकाको रुपलाई स्वीकृति मिल्यो। त्यसपछि लताकै अनुरुप नाटक लेखियो– ‘गुरुकुल’। त्यसमा उनी कृष्ण बनिन् र मीना चाहिँ सुदामा।

दर्शकहरुको अभावमा नाटक कम्पनीहरु बन्द हुँदै थिए। बलवन्त नाट्य मण्डली त्यही सँघारमा उभिएको थियो। मास्टर दीनानाथले एउटा प्रयोग गरे। आफ्नी छोरीको नाममा उनले एक शो घोषणा गरे। सबै टिकट बिके। प्रायोजकले भन्यो कि, ‘यति धेरै धनराशी नाटकबाट पनि मिल्दैन।’ हुन पनि, ‘मान–अपमान’ नाटकको गीत ‘शररा भी वंदिले, ब्रम्हकुमारी’ को ‘सुहास्या तुका मनसी मोही’ जस्तो कठिन गीत एउटी नौ वर्षिया बालिकाको मुखबाट सुन्दा सबै स्रोता चमत्कृत बनेका थिए।

नाटक कम्पनी चल्न छाडेसँगै दीनानाथ बिरामी हुन थाले। मादक पदार्थ सेवन र उच्च रक्तचापले उनलाई गाल्दै लगिरहेको थियो। तर पनि दीनानाथ गाउँथे र लताले उनलाई सम्हाल्थिन्। तिनै दिनहरुमा उनले निर्भय भएर गाउने मन्त्र पाइन्। बाबाले भनेका थिए, ‘बराबर सम्झिएर गाऊ, त्यस समय बाबा र गुरुको चेतना साथमा नरहोस्। तिम्रो मनले जे भन्छ, ठीक त्यही गर, फेरि अर्को पटक नसोच। डराउनुपर्ने कुनै कुरा छैन।’ एक पटक लताले रेडियोमा गाएको बाबाले सुने, तब भने, ‘अब म निश्चिन्त रहेँ।’

उनी कुनै पनि प्रतियोगितामा भाग लिन राजी भएनन्। त्यसमा उनलाई असफलताको डर लाग्थ्यो, यदि जितिएन भने ? एघार वर्षकी हुँदा ‘खजाञ्ची’ फिल्मको निर्माताद्वारा आयोजित प्रतियोगितामा उनले भाग लिएकी थिइन्। विना जानकारी। तर प्रथम भइन्। पुरस्कारस्वरुप एक दिलरुवा र मेडल पाइन्। मेडल पाएपछि उनलाई बाबाले भने, ‘ठुला–ठुला पुरस्कार पाउँछ्यौ तिम्ले। तर कहिल्यै पनि नमात्तिऊ। कलाकारका लागि पुरस्कारको लालच उचित होइन।’

त्यो समय मास्टर दीनानाथको जीवनमा शिखरबाट फेदीतिर ओर्लिदै गरेको समय सावित हुँदै थियो। खानदेशमा २४ एकडको प्लट, गोवामा फार्म, पुणे र साँगलीमा १३ कोठाको घर। यी सबै उनले गुमाइसकेका थिए। बालबच्चाको पेट पाल्नसमेत मुस्किल हुँदै गयो उनलाई। मादक पदार्थ सेवन गरेर उनले आफ्नो शरीरलाई क्षयग्रस्त तुल्याउँदै लगिरहेका थिए। मृत्यु हुनुभन्दा केही दिनपूर्व उनले घोषणा गरे कि, ‘भगवान् मंगेशको चरणमा जाने समय आयो मेरो।’ उनले लतालाई नजिक बोलाए र भने, ‘मैले जीवनमा लाखौं कमाएँ तर केही पनि बँचेन। जीवनको जुआमा म हारेँ। म तिम्रो लागि बस एक तानपुरा र स्वर–रचनाको किताब छाडेर जाँदैछु। मलाई विश्वास छ कि, यिनै चिजले तिम्लाई एक दिन मभन्दा पनि महान् कलाकार बनाउँछ। आफ्नो मृत्युमा म तिम्लाई यो दिँदैछु, जुन बाँच्दा दिन पाइनँ। भगवान मंगेशले तिम्रो रक्षा गर्नेछ।’

१३ वर्षकी लताको काँधमा गृहस्थीको जिम्मेवारी आयो। कसरी भाइ र तीनवटी बहिनीकी साथै आमालाई घर चलाउनका निम्ति मद्दत गर्न सकिन्छ ? पारिवारिक मित्र श्रीपद जोशी र मास्टर विनायकले त्यो समय धेरै मद्दत गरे। दुवैको साझेदारीमा एउटा फिल्म कम्पनी थियो। लतामा गीत गाउने इच्छा त थियो तर ठुलो उमेरकी नायिकाको परिपक्व आवाजसँग लताको कोमल आवाजले मेल खाँदैनथ्यो। जोशी र विनायकले आफ्नो फिल्म कम्पनीमा स्थायी बालकलाकारको रुपमा लतालाई राखे। पहिलो फिल्म ‘पाहिली मंगलागौर’ थियो, जुन मराठी भाषामा बनेको थियो। सोही फिल्ममा उनले पहिलो पटक अभिनय गरिन्।

मराठी फिल्ममा अभिनय गरेबापत उनको घरमा भोजनको व्यवस्था त जुट्यो तर गायनप्रतिको लगावको कारण उनलाई अभिनयमा खासै रुचि थिएन। सन् १९४५ मा मास्टर विनायक बम्बै गए। बम्बैजस्तो महानगरीमा लताको प्रवेश पनि त्यही समय नै भयो। तर, मास्टर विनायकको अचानक मृत्यु भएपछि भने उनी र उनको परिवारलाई फेरि एकअर्को झट्का लाग्यो। आम्दानीको कुनै साधन थिएन। जुन बैंकमा लताको तलब जम्मा हुन्थ्यो, त्यो रहेन अब। फेरि रोजी–रोटीको खोजी शुरु भयो। दिनहुँ बस र रेलमा यात्रा गरेर रोजगारीका लागि विभिन्न व्यक्तिहरुलाई भेट्थिन् तर निराशा मात्रै हात लाग्थ्यो।

सन् १९४७ मा स्थानीय रेल्वे स्टेशनमा संगीतकार गुलाम हैदरसँग उनको अचानक परिचय भयो। परिचय भएपछि हैदरले उनलाई कुनै धुन गुनगुनाउन लगाए। हैदरले आफ्नो चुरोटको बट्टामा एउटा नयाँ लय दिए र एउटा नयाँ आवाजलाई सबैका सामुन्ने लैजानका लागि जिम्मेवारी उठाए। उनले फिल्मिस्तानका मालिक शशघरसँग भेटाइदिए, लतालाई। शशधरलाई ‘शहीद’ फिल्मका नायिका कामिनी कौशलका लागि लताको आवाज पातलो लाग्यो।

संगीतकार हैदर शशघरसँग रिसाए र भने, ‘जसरी तपाईंले आज यिनको आवाजलाई इन्कार गर्दै हुनुहुन्छ। त्यो समय पक्कै पनि आउने छ र तपाईंले यिनलाई यिनको घर बाहिर कुर्नु पर्नेछ।’ नभन्दै यो घटनाको एक वर्षपछि हैदरको भविष्यवाणी सत्य सावित भयो।

हैदर मलाडको बम्बे टाकिजतिर लागे। बाटोमा ‘मजबूर’ फिल्मको एउटा गीतको लागि धुन बनाए, रिहर्सल भयो, संगतमा उही चुरोटको डिब्बा थियो। दोस्रो दिन ‘दिल मेरा तोडा, मुझे कहीं का न छोडा’ को रेकर्डिङ गरे। उनले घोषणा गरे कि, नूरजहाँ उनको खोज थियो, अब लतालाई अगाडि ल्याएकोमा चलचित्र जगत उनीप्रति आभारी रहनेछ।

एक दिन उनलाई खबर आयो– ‘बम्बे टाकिजमा रेकर्डिङ छ, आउनू’। उनको पेट ठीक थिएन। ज्वरोले टाउको दुखिरहेको थियो। तर काममा त जानैपथ्र्यो। त्यहाँ संगीतकार हैदर नेपथ्य संगीत रेकर्ड गर्नमा व्यस्त थिए। भोक र तिर्खाले छट्पटाएर बाहिर बसिरहेकी थिइन्, लता। केही घण्टा बितेपछि हैदर बाहिर निस्किए। आफूले लतालाई टाकिजमा बोलाएका हैदरले सो कुरा बिर्सेका रहेछन्। तत्काल गीत मागे, प्रतिबन्धित तुल्याए र रेकर्डिङ गरे। फिल्म ‘मेहन्दी’ का लागि गीत बन्यो, ‘बेदर्द तेरे दर्द को सीने से लगा के रो लेते’। पछि यो गीत फिल्म ‘पद्मिनी’ मा राखियो।

त्यही समय भारत–पाकिस्तान विभाजित भयो र विभाजन भएपछि संगीतकार हैदर पाकिस्तान जान बढी इच्छुक देखिए।

‘रञ्जीत मुभी टोन कम्पनी’ का चन्दूलाल शाहका लागि लताले अभिनाश न्यासको गुजराती गीत र संगीतमा धेरै मिहिनेत गरिन् तर उनको आवाज मन पराइएन। कम्पनीका संगीतकार खेमचन्द प्रकाश कलाका मर्मज्ञ थिए। उनले लताको प्रतिभाले चिने र आफ्नो मालिकसँग असन्तुष्टि पोखे। उनले कम्पनीबाटै राजीनामा दिए। बम्बे टाकिजमा खेमचन्दलाई स्वागत गरियो।

फिल्म ‘महल’ मा उनले गाएकी गीत ‘आएगा आनेवाला’ ले त तहल्का नै मच्चायो। तत्कालीन समयमा टाढाबाट आएको आवाजलाई प्रभाव दिनका लागि कुनै उपकरणको प्रावधान थिएन। लता गाउँदै टाढाबाट आउँथिन् र फुल भोल्युममा राखिएको माइकसम्म पुग्थिन्। फिल्म ‘मधुवाला’ को एउटा गीतमा यस्तो प्रयोगको गजबको प्रभाव देखियो। उक्त गीत चर्चित हुनेमा खेमचन्द प्रकाशले सन्देह जनाएका थिए। तर यो गीत धेरै नै चर्चित रह्यो। विडम्बना, यो गीत चर्चित हुने बेलासम्म खेमचन्दले यो धर्तीबाट बिदा लिइसकेका थिए।

सन् १९४८ मा श्यामसुन्दरले आफ्नो फिल्म ‘लाहोर’ का लागि लतासँग सम्पर्क गरे। श्यामसुन्दर ठुला कलाकार थिए तर रिहर्सल शुरु हुने बित्तिकै उनी मादक पदार्थ सेवन गर्न थालिहाल्थे। कुनै सामान्य त्रुटि देखियो भने गालीगलौज गर्न थालिहाल्थे। त्यो बेला लतालाई पैसाको खाँचो त थियो तर अपमान सहेर काम गर्नु उनलाई मनासिव लागेन। उनले गीत गाउन इन्कार गरिन्। त्यसपछि श्यामसुन्दरले काम पाउनै छाड्यो। उनको हालत सुन्दा र देख्दा लता द्रवित भइन् र फेरि गीत गाइन्, ‘बहारें फिर भी आएंगी, न जाने हम कहां होगें।’

संगीतकार नौशादले धेरै ‘टेक्स’ गराउँथे। लता भने रेकर्डिङको समयमा कहिल्यै रोकिँदैनथिन्। दोस्रो पटक सुन्दा त्यसमा कमी महसुस हुन्थ्यो। यो सिलसिला समाप्त हुँदैनथ्यो। नौशादका लागि भने रोकिनु पथ्र्यो। सबै ‘टेक्स’ सुनेर सबैलाई मन पर्ने ‘टेक’ मात्र राख्ने उनको बानी थियो। एक पटक त २४ टेक्स लिइएको थियो।

नौशाद लताका लागि शैली बनाउँथे। उनलाई थाहा थियो कि, लताले मात्रै उनको धुनलाई न्याय गर्न सक्छिन्। लता पनि गाउँदागाउँदै यति धेरै हराउँथिन् कि, उनी गीतको भावमा पूरै डुबुल्की मार्थिन्। फिल्म ‘बैजू बाबरा’ मा ‘मोहे भूल गए सांवरिया’ मा भैरवको प्रतिबन्ध थियो। त्यो गीतको दोस्रो पंक्ति थियो, ‘नैन कहें रो रो के।’ अन्तरा गाउन बाँकी नै थियो। किन यस्तो भयो भनेर हेर्दा त उनी रोइरहेकी थिइन्। ‘राग’ को जादु थियो कि, गाउनेको मग्न भाव कसैको सोचमा नै आएन।

नायिका मधुवालाले कुनै फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गर्दा पाश्र्वगायिकामा लताको नाम लेखाउँथिन्। यस्ता कारणले गर्दा लतामाथि आक्षेप लगाइन्थ्यो कि, ‘उनले र आशा भोसलेले एकाधिकार जमाएका छन्। यी वटवृक्षमुनि कुनै पनि बिरुवा हुर्किन पाउँदैनन्।’ सत्य के थियो भने, उनीहरुसँग प्रतिस्पर्धा गर्न अरु प्रतिभा एवं स्वरका समतुल्य कुनै आवाज आएनन्। यदि लता र आशाको यति धेरै आतंक थियो भने, उनीहरुले अरु बहिनी, हृदयनाथ र उनकी छोरी राधालाई फिल्म उद्योगमा स्थान दिलाउन सक्दैनथे ?

लताले नयाँ कलाकारलाई पनि अघि बढाउँथिन्। त्यसको प्रमाण हो– कविता कृष्णमूर्ति। ती दिनहरुमा कलाकारको व्यस्तताको कारण ट्रयाकमा कुनै अरु कलाकारको स्वर डविङ गर्ने गरिन्थ्यो। कविताले पनि डविङ गरिन्। लता त्यसपछि आइन् र ट्रयाक सुनेर प्रभावित भइन्। तर आफूले गाउन इन्कार गरिन्। ‘यति राम्रो गाउने केटीले पनि मौका पाउनुपर्छ’ भनिन् लताले। कवितालाई विश्वास भएन। लता नयाँ र उदाउँदा संगीतकारको संगीतमा गाउन कहिल्यै आनाकानी गर्दिनथिन्।

संगीत लताको प्राण हो, पूजा हो। यी चिजविना जीवित रहन कठिन थियो। स्टुडियोमा उनी मन्दिरभित्र प्रवेश गरेजस्तै प्रवेश गर्थिन्। चप्पल खोलेर माइकसामु जान्छिन्। गीतको बोल आफैले लेखेर, त्यसमा नोटिङ गरेर रिहर्सल वा गाउन शुरु गर्छिन्। उनको सफलताको पछाडि केवल आवाज मात्र थिएन। निरन्तर रियाज हो, मिहिनेत हो र पक्का विश्वास हो।

एक पटक लता कस्मिर घुम्न गएकी थिइन्। त्यहाँको गरिबी देखेर उनले एउटा पत्रमा लेखिन्, ‘यहाँको ठाउँ–ठाउँमा झरझर बग्ने झरना मलाई यहाँको गरिबको आँखाबाट बगेको आँसुजस्तै लाग्यो। यहाँ फुलेका फूलहरु देख्दा मलाई लाग्यो, प्रकृति दरिद्र जनतालाई देखेर अट्टहास गरिरहेको छ। यहाँ महँगामहँगा कपडा पहिरेर घुम्न मलाई शरम लाग्यो।’

क्रिकेट, फोटोग्राफी र किताब पढ्नु लताको मुख्य सोख हो। पिताबाट लताले क्रिकेटको सोख पाइन्। उनले मुख्य खेलाडीलाई घरमा नै बोलाउँथिन्। लता क्रिकेटका चम्किएका खेलाडीहरुसँग पनि नजिक रहिन्। फोटोग्राफीको सोख यति जोशले पूरा गर्थिन् कि, क्यामराको नयाँ नयाँ मोडल किनेर प्रयोग गर्थिन्। लाइट र शेडलाई तस्बिरमा यसरी उतार्थिन्, पेसेवर फोटोग्राफरहरु पनि चकित पर्थे। रेखाचित्र बाल्यकालदेखि नै बनाउँथिन्।

(सेप्टेम्बर २००८ को ‘कादम्बिनी’ मा छापिएको झींगनको लता मंगेशकरमाथि आलेखको सम्पादित रुप हो यो। शीर्षक हाम्रो हो। भावानुवाद : विवश वस्ती)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved