चार प्रेम कविता

वृन्दा,
बाँच वृन्दा बाँच,
बाँचेर देखाइदेऊ यो संसार बाँचेरै हेर्नुपर्छ।

नेपालभ्युज

चार प्रेम कविता

वर्षौँ माया मैले गरेको

–गुमानसिंह चामलिङ

वर्षौं माया मैले गरेको
उसले आएर मलाई भनी–
‘म तिमीलाई माया गर्दिनँ।’

‘तिमीलाई माया नै पो कल्ले गरेको छ ?’
जवावमा मैले भनें,
ऊ त्यहाँबाट हिँडी।

ऊ अर्कै भई, म अर्कै
टाढियौं त्यसपछि दुवै।
तर वाक्य त्यो गुन्जन छाडेको छैन अझै।

इच्छा नै प्रयत्न भएर सायद
भेट हाम्रो फेरि भो,
तर निःशब्दता अझ दुवैको।

दुब्लाएकी थिई ऊ
चाया नै होलान् परेछन्,
तर आँखा भने रसिला झन्।

पोल हाल्यो आँखाले मलाई
सिउँदोमा सिन्दुर, ऊ हाँसी
हाँसो मेरा हराएछन्।

झर्किएर भनिदिएँ मैले
वास्तै कसैको नगरी,
‘तमीलाई माया नै पो कल्ले गरेको छ ?’

वर्षौं माया मैले गरेको
उसले आएर अहिले भनी,
‘सत्ते तिमीलाई म माया गर्छु।’

प्रेम कविता

–लोकेन्द्र शाह

प्रेममा पाएको विश्वासघातपछि
कहिल्यै प्रेम नगर्ने निर्णय गर्दछ
र भट्टीबाट मातेर निस्कन्छ
अनि सबैलाई सुनाउँछ
ऊ अब यो साल
प्रेमको कविता लेख्ने छैन।

भोको पेट युद्ध लडेको थियो
युद्धले सम्भावनाहरु जन्माएन
चश्मा र लट्ठीहरुले गन्तव्य बिर्से
ऊ सडकहरुमा करायो
उसको कराउनुको कुनै महत्व रहेन
र रुँदै उसले निर्णय गर्‍यो
अब यो साल
उसले प्रेम कविता लेख्ने छैन
भीडहरुमा ऊ हरायो
भीडले उसलाई चिनेन
ऊ मरेन र घोषणा गर्‍यो
अब यो साल उसले
प्रेम कविता लेख्ने छैन।

कार्वनपेपरबाट केही मानिसहरु
उसको देशको नक्सा उतारिरहेका थिए।
सीमा निर्धारण गर्दै थिए– मानवीयताको।
उसले भन्यो–
नक्सा कालो कार्वनबाट उतारिनु हुन्न
उसले त्यहाँ पनि पराजय भोग्यो
र आफू मरेको
निसंकोच घोषणा गर्दै
निक्र्योल गर्‍यो
यो साल अब उसले
कुनै पनि प्रेम कविता लेख्ने छैन।

तिमीलाई नरोऊ भन्ने मै त हुँ नि वृन्दा

–साम्व ढकाल

जब तिमी पीडा र जलनको बीचमा थियौ
त्यतिखेर तिम्रो काँध थपथपाएर
तिमीलाई नरोऊ भन्ने मै हुँ वृन्दा।

हुनलाई ढाडसहरुको भीड तिमीछेउ आएर पनि निक्कैवेरदेखि
उभिएर केही नभनी गयो
आश्वासनका जुलुस तिमी नजिकै भएर थुप्रैपल्ट ओहोरदोहोर गर्‍यो
आवेग र आक्रोशलाई संयमको पोखरीमा डुब्दै र उत्रँदै गर्दा धैर्यको बिर्को
लगाऊ भन्ने त्यतिखेर मै हुँ वृन्दा।

आँसुका डामहरु गलामा सजाउन तिमीलाई बाध्य कसले पार्‍यो
हो, मलाई थाहा छ
तिम्रा आँखामा टाङिएको सपनाको ऐनालाई कसले फुटायो
मलाई राम्ररी थाहा छ
तिम्रा मनमा झुलको उमंगका बगैंचा कसले रैमट्ट पार्‍यो म भन्न सक्छु राम्ररी
तिम्रा खुट्टामा उभिएको साहस र वीरतालाई धम्कीको उकेरा लगाइरहने
महापातरहरुलाई मैले राम्ररी चिनेको छु।

त्यसैले त स्नेहका थपथपाइहरु तिम्रो पिठ्युँमा मारिरहने म नै हुँ वृन्दा।

सम्झन्छौ?
गोधूलिका बेला सँघारमा तिम्रा आँखा तप्केका बखत
बाक्ला रातहरुले ऐंठन र अपघातका घण्ट बजाएका बखत
तिम्रा सम्पन्नताका छानाहरुमा अभावका गिद्धहरु मडारिइरहेका बखत
तिम्रो सामु उभिएर बाँच्न उक्साउने म नै त हुँ नि वृन्दा।

वृन्दा,
बाँच वृन्दा बाँच,
बाँचेर देखाइदेऊ यो संसार बाँचेरै हेर्नुपर्छ।

प्रेमबन्धन

–सङ्गीत आयाम

समयको एक अँगालो स्पर्शसँगै
सुस्तरी कोही चिहाएको छ
पक्कै पनि मेरो शाश्वत प्रेम हुनुपर्छ
जीवनरुपी प्रेमको मौसम हुनुपर्छ।

सहरका यी कर्कश गल्लीहरुमा
नाराहरुको विशाल जुलुसभित्र
वर्षौंदेखि एक्लो थिएँ म एक्लो
प्राणहीन चोकहरुमा छरिएर
लड्दालड्दै उनीहरुका विरुद्ध
थकित भएको थिएँ असाध्यै
मेरो प्रेम
तिम्रो आगमनले
लड्ने शक्ति दिएको छ मलाई
मेरो प्रेम
तिम्रो उपस्थितिका कारण
उत्सर्गित भएको छ बलिदान हुन।

उनीहरु जो
प्रेमको अनुसरण गर्नुभन्दा
भाषण गर्न बढी मन पराउँछन्
उनीहरु जो
जीवनमा सुन्दर रङ भर्नुभन्दा
आदर्शको मौसममा डुबुल्की मार्छन्
मुलायम संवेदनाहरुमाथि
निरन्तर शासन गर्नेहरुका विरुद्ध
चक्रव्यूहमा तीखा तीरहरु छोड्दै
मन, मस्तिष्कलाई कैद गर्नेहरुका विरुद्ध
प्रेम–सत्ताका लागि
युद्ध उद्घोष गर्ने बेला हो यो
मेरो प्रेम
तिमी समाहित भयौ ममा
अब म पनि समाहित हुन्छु तिमीमा

मेरो प्रेम
तिमीलाई पाएर
म बलशाली भएको छु यतिखेर
मेरो प्रेम
तिम्रो न्यानो अँगालोमा
म शक्तिशाली भएको छु यतिखेर।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved