रेकर्डमै नभेटिएको २४ लाख खोप प्रकरण, स्वास्थ्यमन्त्री भन्छन् – हराएको छैन

यस विषयमा सचिव डा. रोशन पोखरेलले समेत कमजोरी स्वीकार गरेर सार्वजनिक रूपमा खोपको अभिलेख नरहेको अभिव्यक्ति दिएका थिए।

नेपालभ्युज

रेकर्डमै नभेटिएको २४ लाख खोप प्रकरण, स्वास्थ्यमन्त्री भन्छन् – हराएको छैन
फाइल तस्वीर

काठमाडौं। रेकर्डमा नभेटिएको भनिएको २४ लाख कोरोनाविरुद्धको खोप प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त खोप नहराएको दाबी गरेका छन्। मन्त्री खतिवडाले मन्त्रालयको कार्यभार सम्हालेपछि प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

सरकारले आफै किनेको र अनुदानमा पाएको खोपको वितरण र अभिलेखमा गम्भीर त्रुटी देखिएको थियो। राज्यको ढुकुटीबाट र मित्रराष्ट्रबाट अनुदानमा नेपालमा हालसम्म ४ करोड बढी खोप नेपाल आएकोमा त्यसमध्ये २४ लाख डोज खोप अभिलेखमै भेटिएको थिएन। यस विषयमा सचिव डा. रोशन पोखरेलले समेत कमजोरी स्वीकार गरेर सार्वजनिक रूपमा खोपको अभिलेख नरहेको अभिव्यक्ति दिएका थिए।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले खेर गएको खोप र विकट जिल्लामा गएको खोपको विवरण आइनसकेकाले अभिलेखमा नदेखिए पनि खोप नहराएको दाबी गरे।

यसका लागि मन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको छ। उक्त समितिले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७५३ स्थानीय तहलाई ५ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको थियो।

उक्त समितिले प्रतिवेदन पेश गरेपछि पत्रकार सम्मेलन गरी अभिलेखमा नरहेको खोपको बारेमा जानकारी दिने मन्त्री खतिवडाले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved