प्रचण्डलाई लक्ष्य गर्दै कांग्रेस नेता विश्वकर्माले भने : राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो

नेपालभ्युज

प्रचण्डलाई लक्ष्य गर्दै कांग्रेस नेता विश्वकर्माले भने : राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताए।

एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरूले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए। भने, “राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनी महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पारेर विषयलाई यसरी गिजोल्नु हुँदैन थियो।”

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालतर्फ संकेत गर्दै उनले भने, “आफैंले गरेका कामहरूका बारेमा आफैले टिप्पणी गरेर फरक मत राख्नुभएको छ, त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ। आम नेपाली जनताको पनि यो अनुरोध छ। यतिमात्रै होइन, यो विषयलाई आफूले निर्णय दिन नसक्नु त छँदैछ, तर नानाथरीका भ्रमहरू सिर्जना गरेर प्रचारबाजी जसरी गरिएको छ यो प्रचारबाजीले मुलुकलाई, जनतालाई र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ। यो दुर्भाग्यपूर्ण छ।”

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताए। राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

गठबन्धनलाई जीवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्‍याउन चाहेको उनले स्पष्ट पारे। भने, “राष्ट्रिय सरोकारका मुद्दाहरू चाहीँ यथास्थितिमा रहने, त्यो कुनै पनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छ कि, गठबन्धन बिग्रिन्छ कि भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिंग छोडेर गठबन्धन जोगाइ राख्दा जनताले हामीलाई पत्याउँदैनन्।”

गठबन्धनलाई जीवित राख्दै राष्ट्रिय पेचिला मुद्दाहरूलाई, राष्ट्रिय सरोकारका मुद्दाहरूलाई टुंगोमा पुर्‍याउनुपर्ने उनले धारणमा राखे। भने, “तर कथम् कदाचित यी मुद्दाहरूलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन। त्यसो भएको हुनाले एक्लैले त कुनै पनि सरकार बन्दैन। एक्लै दलको बन्दै बन्दैन यतिबेला। त्यसैले कुनै न कुनै गठबन्धनबाट भए पनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ। मुलुकका राष्ट्रिय सरोकारका विषयहरूलाई निकास दिनुपर्छ। हामी त्यो बारेमा पनि सोच्दैछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved