अर्को पाटो

साहित्यमा रमेकी पद्मावती सिंह भन्छिन्, ‘सोखको रूपमा गाएँ मैले’

उनी रेडियोमा गाउँदाका दिन सम्झिन्छन् र भन्छिन्, “रेडियो नेपालको एकाधिकार रहेको बेला वर्षमा एउटा वा दुइटा गीत गाउन पाउनु पनि सौभाग्यको विषय हुन्थ्यो।”

साहित्यमा रमेकी पद्मावती सिंह भन्छिन्, ‘सोखको रूपमा गाएँ मैले’

नेपाली साहित्य पठनमा रुचि राख्नेहरू अवश्य नै परिचित हुनुपर्छ, यो नामसँग। ‘समानान्तर आकाश’ जस्तो शक्तिशाली उपन्यासका सर्जक। कथामा पनि उत्तिकै सशक्त हस्ताक्षर। तर कसैले ‘गायिका पद्मावती सिंह’ भने भने अवश्य नै अलमलमा पर्न सकिन्छ।

हो, उपन्यास–कथा सर्जकको परिचय बनाएकी सिंह कुनै बेलाका गायिका पनि हुन्। करीब अढाई दशकअघिसम्म पनि उनी गाउँथिन्। २०५५ सालयता भने उनको गायनसँगको सम्बन्ध टुटेको छ।

अतीतका दिनतिर फर्किन्छिन्, उनी, “स्कुलमा पढ्दादेखि नै मलाई गायन र नृत्यमा रुचि थियो। मैले स्कुले जीवनमा धेरै गीत गाएँ, नृत्यमा पनि भाग लिएँ। कलेज जीवन प्रारम्भ भएपछि भने मैले नाच्न छाडेँ तर गाउन भने छाडिनँ।”

केही दशकअघिसम्म गीत गाउनका लागि स्वर परीक्षण पार गर्नैपथ्र्यो। त्यो पनि रेडियो नेपालका मूल्यांकनकर्ताहरूसामु उभिएर। अहिलेजस्तो बिना स्वर परीक्षण गीत गाउन पाइँदैनथ्यो। सिंह भन्छिन्, “२०३३ सालमा म रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएँ। स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीत गाउन दिइन्थ्यो। त्यही समयदेखि नै मेरो गायन यात्रा प्रारम्भ भएको हो।”

स्वर परीक्षण उत्तीर्ण भएलगत्तै उनले सङ्गीतकार ज्ञानबहादुरको सङ्गीतमा गाइन्, ‘थाहा नभएको होइन मलाई…।’ यो गीतको शब्द उनैको थियो। स्वर परीक्षणको बेलामा भने उनले वरिष्ठ सङ्गीतसर्जक शिवशंकरको सङ्गीतमा गाएकी थिइन्।

पहिलो पटक आफ्नै स्वरमा रेकर्ड भएको गीत आफैले सुन्दाको अपार खुशी त बयान गर्नै सक्दिनन् उनी। “आफैले गाएको गीत सुन्दा म साह्रै खुशी भएकी थिएँ। आफ्नो भावना आफ्नै स्वरमा सुन्न पाउँदा कति खुशी भएँ हुँला म ?” करीब ४५ वर्षअघिको क्षण सम्झिँदै सिंह भन्छिन्।

गाउँदै जाँदा उनले अधिकांश आधुनिक गीत नै गाइन्। कहिलेकाहीं भजनहरू पनि। करीब अढाई दशकसम्म गायन प्रतिभा पनि देखाइरहिन् उनले। भन्छिन्, “मेरा केही गीतहरू टेलिभिजनबाट पनि प्रसारण हुन्थ्यो।”

गायन उनको पेशा थिएन, मात्र सोख। त्यही भएर संख्यात्मक रुपमा थोरै मात्र गाइन्। करीब २०–२५ ओटा। भन्छिन्, “सोखले नै गाएँ। मेरो मुख्य क्षेत्र त लेखन नै थियो। अर्कोतिर, म जागिरमा पनि व्यस्त थिएँ।”

हुन पनि उनले कथासंग्रह आठ ओटा निकाली सकिन्, उपन्यास चाहिँ चार ओटा। कथासंग्रहमा ‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरू’, ‘मौन स्वीकृति’, ‘एक झुल्को घाम’, ‘समय–दंश’ लगायत छन् भने उपन्यासमा ‘समानान्तर आकाश’, ‘निःशब्द यात्रा’ र ‘मौन अक्षर’ लगायत निस्केका छन्।

केही साहित्यिक पत्रकारिताको पनि अनुभव रह्यो, उनीसँग। परिवार नियोजन संघमा १२ वर्ष काम गर्दा उनले ‘नियोजन’ नामक पत्रिकाको सम्पादन गरिन्। जुन संस्थामा रहिन्, त्यसमा रहँदा साहित्यिक गतिविधि र सक्रियतालाई निरन्तरता दिइरहिन्। सेभ द चिल्ड्रेनमा प्रोजेक्ट मेनेजर भएर बस्दाकै उपलब्धि थियो, ‘समानान्तर आकाश’। जुन उपन्यासको कथावस्तु उनी गोरखा जिल्लामा कार्यरत रहँदा फेला पारेकी थिइन्। उक्त उपन्यासले साझा पुरस्कार पनि पाएको थियो।

महिलाको शिक्षा, स्वास्थ्य र सशक्तीकरण अभियानमा लागेकै कारण उनले लेखनमा पनि त्यसैलाई भित्र्याइन्।

उनी रेडियोमा गाउँदाका दिन सम्झिन्छन् र भन्छिन्, “रेडियो नेपालको एकाधिकार रहेको बेला वर्षमा एउटा वा दुइटा गीत गाउन पाउनु पनि सौभाग्यको विषय हुन्थ्यो।” नामी गायक–गायिकालाई त ‘डेट’ पाउन गाह्रो हुन्थ्यो भने सौखको रुपमा गाउनेहरूका निम्ति त झनै गाह्रो।

गायनको प्रमाणस्वरुप उनले दुईटा गीति–एल्बम पनि निकालेकी छिन्। तर दुवै आफ्नै खर्चमा। धेरै पहिला ‘जीवनका गीतहरू’ र पछिल्लो समय ‘धेरै दिनपछि’। ‘धेरै दिनपछि’ निस्किएको थियो, २०५५ सालतिर। उक्त एलबमका सबै गीत चर्चित भए। अझ, ‘धेरै दिनपछि तिमी याद आयौ’लाई फिल्म ‘गोठालो’मा स्थान मिलेपछि र भारतीय गायक बाबुल सुप्रियो र दीपा झाको स्वरमा सजिएपछि चर्चित नहुने कुरै भएन।

कवि दैवज्ञराज न्यौपानेको शब्द र राम थापाको सङ्गीतको ‘साउन आयो रिमझिम गरी परदेशी आएन’ बोलको गीत पनि निकै चल्यो। भन्छिन्, “यो गीत पनि धेरै नै चल्यो। रेडियो नेपालबाट प्रायः बजिरहन्थ्यो।”

तत्कालीन समय युगल गीत खुबै चल्थ्यो। तर सिंहले भने युगलमा त्यति चासो दिइनन्। उनले एकल गीत मात्रै गाएकी छन्।

उनका गीतमा विभिन्न सङ्गीतसर्जकको सिर्जना सुन्न सकिन्छ। वरिष्ठ सङ्गीतकार शिवशंकर, शम्भुजीत बाँस्कोटा, शुभबहादुर, प्रकाश गुरुङ, बुलु मुकारुङ, न्हूँ बज्राचार्य, सचिन सिंह, सोनामलगायतको सङ्गीतमा उनले गाएकी छन्।

स्कुल र कलेज जीवनदेखि नै साहित्यमा घोटिएकी उनले गीतहरू पनि लेख्न थालिन्, त्यही समयदेखि। आफ्नो गीत देखेर उनी लोभिइन्, “म गाउन सकिहाल्छु। आफ्नो रचनाका गीतहरू आफैले नै गाउँछु।”

“मलाई अझै गाउने सोख छ।” यस्तो सोख पाल्ने सिंहले नगाएकै अढाई दशकजति बितिसक्यो। पुगिन् नै ७४ वर्ष अहिले। किन त ? पछिल्लो समय गीत–सङ्गीतमा देखिएको महँगोपन देखेर उनी हच्किएकी छन्। भन्छिन्, “अहिले एउटा गीत रेकर्ड गर्न ५०–६० हजार खर्च हुन्छ। अझ त्यसको म्युजिक भिडिओ बनाउँदा त दुई लाख नै नाघ्छ। यति खर्च गर्ने क्षमता हामीसँग कहाँ नै छ र ?”

रेडियो नेपालमा गाउँदा त सुविधा नै थियो। डेट दिन्थ्यो, गाइन्थ्यो। अझ पारिश्रमिक पनि पाइन्थ्यो। अचेल भने सङ्गीतकारदेखि गाउनेसम्मलाई दिनुपर्‍यो। स्टुडियोलाई पनि छुट्याउनै पर्‍यो। भन्छिन्, “यति धेरै खर्च गरेर एउटा गीत रेकर्ड गर्नुभन्दा त्यही पैसा म आफ्नो पुस्तक प्रकाशनमा लगाउन सक्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved