हिमालको तरकारी खेती फस्टाउँदै

नेपालभ्युज

हिमालको तरकारी खेती फस्टाउँदै

रुकुम। रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ जिवाङ निवासी हिमाल डाँगी कुनै समय नेपाली सेनाका जागिरे थिए। जागिरे जीवनमा रहँदा देशको सेवामा रमाउनु भएका डाँगी अहिले पाखोबारीमा ‘सुन’ फलाउने अभियानमा छन्। उनकै गाउँ–ठाउँका साथी तुलसीराम वलीको सहयोगमा दाङ तुलसीपुर महानगरपालिका–१७ बघौसीमा व्यवसायिक खेतीमा तल्लिन छन्।

उनले नेपालमै केही व्यवसाय गर्नुपर्छ भनेर तरकारी खेतीतर्फ लागेको बताए। “सेनाको जागिरमा भन्दा कृषि क्षेत्रमै मैले भविष्य देखेँ”, उनले भने,“त्यसैले म कृषि पेशामा आवद्ध छु।” वली मेट्रो कलेज तुलसीपुरका वन विज्ञान फाँटका प्रमुखसमेत थिए। तर, उनले त्यो काम छोडेर अहिले कृषि पेशामै लागेका छन्। दुवै जनाको सहकार्यमा एकीकृत बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर उनीहरूले कृषि व्यवसाय गरिरहेका छन्। बाँझो रहेको जग्गालाई हराभरा बनाउने योजना उनीहरूको छ।

“मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ”, वलीले भने,“हामी त्यसको उदाहरण बन्न चहान्छौं।” एक जिल्ला, एक नमूना कृषि वन कार्यालय अन्तर्गत सञ्चालन भएको उक्त फार्ममा गोलभेडा, सिमी, बोडी, बन्दा, काउली, तितेकरेलालगायतका खेती गरिएको छ।

यति मात्रै होइन्, त्यहाँ फलफूलको खेती हुने गरेको छ। हाल एक हजार ५०० बोट कागती लगाइएका छन्, भने २०० कदमका बोट, २०० लहरे पिपल, ५० अम्बा, ५० आँप, २० दालचिनी, ३० मसला रहेका छन्। आगामी वर्षदेखि व्यावसायिक पशुपालन गर्ने समेत उद्देश्य रहेको छ। उनीहरूले व्यावसायिक रुपमा राँगापालन गर्ने योजना बनाएका छन्।

उनीहरूले दश बिघा जग्गा भाडामा लिएर खेती गरिरहेका छन्। तीमध्ये साढे दुई बिघा जग्गामा कागतीखेती र बाँकी जग्गामा तरकारी र रुख लगाएका छन्। अहिलेसम्म ६० लाख लगानी भइसकेको उनीहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved