मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ५ प्रतिशतभन्दा कम

नेपालभ्युज

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ५ प्रतिशतभन्दा कम
मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालय

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट खर्च कछुवाको गतिमा सुस्त चलेको छ। चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा पूँजीगततर्फ जम्मा ५ प्रतिशत भन्दा पनि कम खर्च रहेको छ। अर्थ मन्त्रालयको अनुसार सबैभन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ। मुख्यमन्त्री कार्यालयद्वारा संचालन हुने योजनाहरुको काम अहिलेसम्म पनि शुरू नै हुन सकेको छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुँजीगततर्फ २.५५ प्रतिशत, अर्थ मन्त्रालयले ३२.१० प्रतिशत, उद्योग, पर्यटन तथा वन मन्त्रालयले १.५५ प्रतिशत, कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले शुन्य प्रतिशत, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ६.३ प्रतिशत, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ११.५७ प्रतिशत, आन्तरिक मामिला तथा संचार ३.७४, वाणिज्य , आपुर्ति तथा विज्ञापन प्रविधि मन्त्रालयले शुन्य , भौतिक पुर्वाधार विकास मन्त्रालयले ८.७७ प्रतिशत, महिला,बालबालिका, युवा तथा खेलकुद मन्त्रालय ४.९९ प्रतिशत र समाजिक विकास मन्त्रालयले ६.२९ प्रतिशत बजेट खर्च गरेको छ।

चालु आर्थिक वर्षमा प्रदेशसभाको पुँजीगततर्फको बजेट एक करोड ३ लाख विनियोजन भएकोमा खर्च भने शुन्य रहेको छ। प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयहरूलाई ताकेता गरेको छ।

मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि मन्त्रालयको पुँजीगत खर्च मात्रै नभएर समग्र बजेट खर्च नै सन्तोषजनक नभएको स्वीकार गर्दै मन्त्री साहले केही दिन अगाडि मात्रै प्रदेश सरकारले बजेटको अर्ध वार्षिक समीक्षा गरेर विकास बजेट खर्च बढाउने तयारी गरेको बताए।

अर्थ मन्त्री साहले भने, ‘सरकारले विगत चार वर्षको अनुभवका आधारमा भन्दा यो वर्ष अन्य वर्षको तुलनामा बढी नै बजेट खर्च हुने सरकारले लक्ष्य राखेको छ। दक्ष जनशक्तिको अभावमा बजेट खर्च सोचे जस्तो नहुनु मुख्य समस्या रहेकोले यस्ता समस्या समाधानको लागि सरकारले पहल गरिरहेको छ।’

मन्त्री साहले अहिलेसम्मको बजेट खर्चको प्रगति सुस्त रहेको स्वीकार गर्दै सरकारको विगत वर्षको भन्दा चालु आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशतभन्दा बढी नै गर्ने सरकारको लक्ष्य रहेको बताए। त्यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवले नेपाली काङ्ग्रेसको महाधिवेशनमा व्यस्त हुनु परेको हुँदा लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसकिएको बताए।

मन्त्री यादवले अब सरकारले विस्तारै बजेट खर्च गर्ने गति बढाउदै लगेको बताए। उनले पनि कर्मचारी अभाव र छिटो छिटो कर्मचारीको सरुवाले गर्दा पनि बजेट खर्च समयमा हुन नसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved