काठमाडौं उपत्यकाका अस्पतालमा घट्न थाले कोभिडका बिरामी

राजधानीका प्रमुख कोभिड अस्पतालहरू-वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी, टेकु र बलम्बुको सशस्त्र प्रहरी अस्पताल आउने बिरामीको घटेका ती अस्पतालहरूले जनाएका छन्।

काठमाडौं उपत्यकाका अस्पतालमा घट्न थाले कोभिडका बिरामी

काठमाडौं। कोरोना संक्रमितको संख्या घट्न थालेपछि राजधानीका अस्पतालहरूमा भर्ना हुने कोभिड बिरामी पनि घटेका छन्।

राजधानीका प्रमुख कोभिड अस्पतालहरू- वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामति कर्मचारी, टेकु र बलम्बुको सशस्त्र प्रहरी अस्पताल आउने बिरामीको घटेका ती अस्पतालहरूले जनाएका छन्।

सशस्त्र प्रहरी अस्पताल : घट्न थाले बिरामी

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. प्रवीण नेपालले दुई-तीन दिनयता उपचार गराउन आउने संक्रमितको संख्या घटेको जानकारी दिए। प्रहरी उपरीक्षक (एसपी) समेत रहेका डा. नेपालका अनुसार, अहिले अस्पतालमा ४४ जना संक्रमित उपचाररत छन्। एक साताअघि १० माघमा अस्पतालमा एक सयभन्दा बढी संक्रमित उपचाररत रहेकोमा अहिले घटेको उनले बताए।

“तीन दिनयता अस्पताल भर्ना हुन आउने पनि घटेका छन्” उनले भने, “अहिले डिस्चार्ज हुनेको संख्या बढेको छ। नयाँ बिरामीको संख्यामा कमी आएको छ।”

डा. नेपालका अनुसार, आकस्मिक कक्षमा उपचारका लागि धेरै आउँछन् तर सामान्य समस्या भएका धेरै हुन्छन्। उनले सास फेर्न असहज हुने र अन्य जटिल समस्या भएकालाई मात्र भर्ना गर्ने गरेको पनि जानकारी दिए।

वीर : गत साताभन्दा १० मात्र कम

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा पनि संक्रमितको संख्या घटेको छ। अहिले अस्पतालमा एक सय ६७ जना संक्रमित उपचाररत रहेको अस्पतालका उपनिर्देशक प्रज्ज्वल श्रेष्ठले जानकारी दिए। उनले भने, “अस्पतालमा भर्ना भएकामध्ये आठ जनालाई भण्टिलेटरमा राखेर उपचार गरिँदै छ। ३७ जना आईसीयूमा छन्।”

वीरमा भने अझै पनि दैनिक डिस्चार्ज हुनेभन्दा भर्ना हुने संक्रमित संख्या नै बढी छ। डा. श्रेष्ठका अनुसार, दैनिकजसो २० जनासम्म भर्ना हुनुपर्ने अवस्थाका संक्रमित अस्पताल आइपुग्छन्। दैनिक १० देखि १५ जना संक्रमित डिस्चार्ज भइरहेका छन्। उनले भने, “पहिलाको तुलनामा अस्पतालमा आउने बिरामीको संख्या केही घटेको त हो तर उल्लेख्य रुपमा कमी आएको भनेर भनिहाल्न मिल्दैन।”

उनका अनुसार एक साताअघि १० माघमा एक सय ७७ जना संक्रमित उपचार थिए। अहिले गत साताभन्दा १० जना मात्र बिरामी अस्पतालमा घटेको उनी बताउँछन्।

निजामती कर्मचारी अस्पतालमा पनि उपचाररत संक्रमितको संख्यामा केहि कमी आएको कोभिड १९ फोकल पर्सन डा विदेश विष्टले जानकारी दिए।

डा. विष्टका अनुसार, अहिले अस्पतालमा ४१ जना बिरामी उपचाररत छन्। कोभिड उपचारका लागि भन्दा पनि अन्य समस्या लिएर आएका बिरामीमा कोभिड संक्रमण देखिएको उनी बताउँछन्। उनले भने, “दैनिक २० जनाभन्दा बढि संक्रमित अस्पताल आइपुग्छन् तर अक्सिजन चाहिने बिरामीलाई मात्र भर्ना गर्छौं।”

हिजो आज भर्ना गर्नुपर्ने अवस्थाका दैनिक चार जना बिरामी आइपुग्ने उनले जानकारी दिए। गम्भीर बिरामीको संख्या भने घटेको उनले बताए।

पाटन : भर्ना र डिस्चार्ज उस्ता उस्तै

पाटन अस्पतालमा पनि उपचाररत संक्रमित संख्या घटेको छ। अहिले अस्पतालमा ९६ जना संक्रमित रहेको कोभिड-१९ फोकल पर्सन डा. रवि शाक्यले जानकारी दिए।

उनका अनुसार, एक साताअघि १० माघमा एक सय २६ जना उपचाररत थिए। अहिले अस्पताल भर्ना हुने र डिस्चार्ज हुनेको सख्या उस्ता उस्तै रहेको उनी बताउँछन्।

टेकु : बिरामी संख्या जस्ताको तस्तै

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले पनि आफ्नो अस्पतालमा भर्ना हुने संक्रमितको संख्या घटबढ नभएको जानकारी दिए। “तेस्रो लहरमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या १७÷१८ जनाबाट घटबढ भएको छैन” उनले भने, “अस्पतालमा उपचारका लागि दैनिकजसो ओपीडीमा २० जना र आकस्मिक कक्षमा ४ जनासम्म आइपुग्छन्, सबै बिरामीलाई भर्ना गर्नुपर्दैन।”

अस्पताल आएकामध्ये ७० वर्ष उमेर नाघेका व्यक्तिलाई भर्ना गर्नुपर्ने उनी बताउँछन्। युवा अवस्थाका संक्रमित अस्पताल आइपुगे पनि भर्ना गर्न नपर्ने उनले जानकारी दिए।

शिक्षण अस्पताल : बिरामीको संख्या स्थिर

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि सरुवा रोग अस्पतालको जस्तै भर्ना हुने संक्रमितको संख्या उस्ता उस्तै रहेको कोभिड १९ फोकल पर्सन डा. निरज बमले जानकारी दिए।

उनका अनुसार, अहिले अस्पतालमा एक सय ३८ जना संक्रमित उपचाररत छन्। उपचारका लागि अस्पताल आउने संक्रमितको संख्या घटबढ भइरहने उनी बताउँछन्। कहिलेकाहीँ आकस्मिक कक्षमा ४३ जनासम्म संक्रमित आइपुगेको पनि उनले जानकारी दिए।

उनका अनुसार, १६ माघमा २० जना अस्पताल आइपुगेका थिए। तीमध्ये ११ जना भर्ना भएका छन्। अस्पतालमा तेस्रो लहर शुरु भएदेखि नै भर्ना हुने संख्या १० देखि १५ जना आएको उनले जानकारी दिए।

अस्पतालमा भर्ना हुने बिरामी संख्या र डिस्चार्ज हुने उत्ति नै हुने उनी बताउँछन्। उनले भने, “निजी अस्पतालमा उपचार गराइरहेका बिरामीका बेड पाइन्छ कि भनेर बुझ्न आउने धेरै छन्। उनीहरु धेरैजसो आईसीयूको मनिटरिङ बेड खोज्ने गर्छन्।”

पछिल्लो समय तथ्यांकमा संक्रमित संख्या कमी आए पनि अस्पतालमा भर्ना हुने संख्या उस्ता उस्तै रहेको उनको निष्कर्ष छ। अस्पतालमा तेस्रो लहर शुरु भएयता १४ माघमा सबैभन्दा कम सात जना संक्रमित भर्ना भएका थिए।

एकसाता अघि काठमाडौका १२ अस्पतालमा ८८२ जना जना संक्रमित उपचाररत थिए। जेनेरल वार्डमा ३४१, एचडियुमा ४२७, आइसीयुमा ८८, भेन्टिलेटरमा २६ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले ८१९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार जेनेरल वार्डमा २४०, एचडियुमा ४२५, आइसीयुमा १२३, भेन्टिलेटरमा ३१ जना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved