हारको जिम्मेवारी कोचले मात्र बेहोर्ने भन्ने हुँदैनः कप्तान किरण

नेपालभ्युज

हारको जिम्मेवारी कोचले मात्र बेहोर्ने भन्ने हुँदैनः कप्तान किरण

काठमाडौं। नेपालको राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मौरिससँग दुई ओटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ। जसको पहिलो खेल शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ४ः४५ बजे शुरु हुनेछ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरीले यो खेलमा जितको श्रेय खेलाडीलाई जाने तर हारेको खण्डमा आफू मात्र जिम्मेवारी हुने प्रतिक्रिया दिएका थिए।

तर नेपालका कप्तान किरण चेम्जोङ भन्छन्, “हारको जिम्मेवारी कोचले मात्र बेहोर्ने भन्ने हुँदैन। जितसँगै हारमा हामी पनि जिम्मेवार हुन्छौं, यसमा सबै टिम नै जिम्मेवार हुन्छ।”

“कुनै पनि खेल हार्छु भनेर कसैले पनि खेल्दैन। जित्न कै लागि खेल्ने हो, तयारि पनि राम्रै छ, मानसिक र शारीरिक रुपमा सबै जना फिट नै छन्। हामी लामोे ग्यापपछि खेल्दै पनि छैनौं, निश्चय नै जितका लागि खेल्छौं।” शुक्रबार खेल अगाडिको पत्रकार भेटघाटमा उनले भने।

नेपालको प्रतिद्वन्द्वी मौरिसस एक अफ्रिकी राष्ट्र हो। नेपालले कुनै पनि अफ्रिकी देशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलो अवसर हो।

किरण भन्छन्,“पहिलो पटक हामी अफ्रिकन टिमसँग खेल्न गइरहेका छौं। जुन हाम्रो लागि फरक अनुभव हुनेछ। म टिमसँग जोडिएको दुई दिन मात्र भयो तर अन्य खेलाडीहरू लगातार लिगबाट खेलेर राष्ट्रिय टिममा आउनुभएको छ, तयारी राम्रो छ।”

नेपाल फिफा वरीयतामा मौरिससभन्दा तीन स्थानमाथि रहेको छ। मौरिसस १७२ औं स्थानमा छ भने नेपाल १६९ औ स्थानमा छ। वरीयतामा नेपालभन्दा पछि भए पनि अफ्रिकी देशका खेलाडीहरू नेपालीभन्दा फिजी खेलाडी केही बलिया हुने गर्छन्।

प्रशिक्षक अलमुताइरी आएपछि नेपाली टिमको खेलमा धेरै सुधार आएको छ। शारीरिक रूपमा टक्कर दिन नसके पनि टेक्निकल हिसाबले नेपालले राम्रो खेल देखाउन थालेको छ। हुन त यो मैत्रीपूर्ण खेल हो। यो खेल हार वा जितका लागि भन्दा पनि आसन्न ठूला प्रतियोगिताहरूको अभ्यासका लागि भएको प्रशिक्षक अलमुताइरीले बताइसकेका छन्। यी दुई खेलमा उनले नेपाली टिममा नयाँ रणनीतिको प्रयोग गर्नेछन्।

नेपाली टिमको हालको प्रमुख लक्ष्य भनेको एशिया कप छनोट प्रतियोगिता हो। आउँदो जुनमा हुने प्रतियोगिता तयारीस्वरुप नेपालले विश्व फुटबल महासंघ (फिफा) को वार्षिक क्यालेण्डरअनुसार ‘इन्टरनेशनल म्याच डे’ मा यो दुई मैत्रीपूर्ण खेल सञ्चालन गर्न लागेका हो।

यो म्याचका लागि पहिलो चरणमा छानिएका ३४ खेलाडी नै अन्तिम टिमसम्म रहेका छन्। यी सबै खेलाडीलाई प्रयोग गरेर अल्मुताइरीले दुई खेलका लागि दुई छुट्टाछुट्टै स्काड बनाएका छन्। जसको प्रमुख लक्ष्य नेपाली फुटबलमा नयाँ प्रतिभाको खोजी हो।

एशिया कप तयारीका लागि भनेर नै टिमले नयाँ खेलाडी पाउने र भविष्यमा राष्ट्रिय फुटबल टिम बलियो बन्ने आशामा उनले यो प्रयोग गरेका हुन्।

अलमुताइरी नेपालको प्रशिक्षक भएर आएदेखि नै युवा खेलाडीहरूलाई मौका दिइरहेका छन्। जसकारण धेरै खेलाडीहरूले राष्ट्रिय टिमबाट डेब्यू गर्न पनि पाएका छन्। यो पटकको मैत्रीपूर्ण खेलमा पनि युवा खेलाडीहरूले क्षमता देखाउने राम्रो अवसर पाउने उनको भनाइ छ।

अलमुताइरीका अनुसार मौरिसससँगको खेल जित र हारको नतिजाभन्दा पनि नयाँ र युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेल खेल्ने अवसरका रूपमा रहने छ। जसले भविष्यको खेलका तयारीका लागि खेलाडीहरूलाई बढी अनुभव प्रदान गर्नेछ।

जसलाई कप्तान पनि स्विकार्छन्, “हुन त यो मैत्रीपूर्ण म्याच हो। तर मैत्रीपूर्ण म्याच भन्दैमा जे पनि गर्ने कुरा हुँदैन। निश्चय नै हामीले राम्रो नतिजाको आसा राखेका छौं। त्यस्तै यो खेलबाट केही कुराहरू सिक्ने र अनुुभव बटुल्ने अवसर पाउँछौंजस्तो लागेको छ।”

नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा खेलेको पछिल्लो खेल भनेका गत सेप्टेम्बर २ र ५ तारिखमा भारतसँगको खेल हो। पहिलो खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भने २–१ ले पराजित भएको थियो।

नेपाली राष्ट्रिय टिमको अन्तिम खेल भने गत अक्टोबर १६ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलको फाइनल थियो। जसमा पनि नेपाल भारतसँग ३-० ले पराजित हुँदै साफको उपविजेता बनेको थियो।

नेपालले अन्तर्राष्ट्रिय म्याच नखेलेको करिब साढे तीन महिना भयो।

यी खेलका लागि एन्फाले सरकारले तोकेबमोजिम सबै स्वास्थ्य मापदण्ड पूरा गरेर एक तिहाई दर्शक राख्न पाउने अनुमती पाएको छ। जसअनुसार करिब पाँच हजार दर्शकलाई खेल हेर्न दिइने एन्फाले जनाएको छ।

खेलका लागि भीआईपी प्याराफिटतर्फ १ हजार रुपैयाँ र साधारणतर्फ ५०० रुपैया टिकट मूल्य तोकिएको छ। खेल हेर्न जाने दर्शकले अनिवार्य रूपमा कोभिड भ्याक्सिनको कार्ड साथमा लिएर जानुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved