स्वास्थ्यकर्मी संक्रमित भएपछि भर्ना नगरी टिचिङ अस्पतालबाट फर्काइए कोभिड बिरामी

डा. नीरज बम भन्छन्, “अझै थप संक्रमित हुनसक्ने अवस्था छ, स्वास्थ्यकर्मीको अभावमा के–के सेवा बन्द गर्दै जानुपर्ने हो थाहा छैन।”

स्वास्थ्यकर्मी संक्रमित भएपछि भर्ना नगरी टिचिङ अस्पतालबाट फर्काइए कोभिड बिरामी
फाइल तस्वीर।

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि बिरामी भर्ना नगरी फर्काउनुपर्ने अवस्था आएको छ। २ माघसम्म अस्पतालका एक सय ५० जना स्वास्थ्यकर्मी संक्रमित बनेपछि उपचार सेवामासमस्या परेको छाती रोग विशेषज्ञ तथा अस्पतालका कोभिड फोकल पर्सन डा.नीरज बमले बताए।

“अहिले त्रिवि अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्,” उनले भने, “बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित बनेपछि अब यो भन्दा बढी बिरामी संक्रमित बिरामी भर्ना गर्न सक्ने अवस्था छैन।” अस्पतालले कोभिडकै लागि भनेर ५६ जनरल बेड, ३६ वटा एचडियू र आइसी बेड, आपतकालीन अवस्थाका लागि पाँच बेड र होल्डिङ सेन्टर भनेर १० वटा बेड छुट्टाइएको उनले जानकारी दिए।

बेडहरू पर्याप्त मात्रामा भए पनि उपचार गर्ने स्वास्थ्यकर्मी नै नभएपछि ३६ जना संक्रमितमध्ये केहि डिस्चार्ज भएपछि मात्र त्यहि संख्यामा अरू बिरामी भर्ना लिन सक्ने उनले बताए। अस्पतालमा १५ जना जति संक्रमित दैनिक आउने गरेको उनले जानकारी दिए। भर्ना गर्नैपर्ने संक्रमित भए अन्य अस्पतालमा पठाउने गरेको विशेषगरी वीर अस्पतालमा पठाइरहेको डा. बमले बताए। उनी भन्छन्, “सेतो एप्रोन लगाएर आज पनि धेरै स्वास्थ्यकर्मीहरूले पीसीआर गरेको देखेको थिएँ।अझै थप संक्रमित हुन सक्ने अवस्था छ, स्वास्थ्यकर्मीको अभावमै के–के सेवा बन्द गर्दै जानुपर्ने हो थाहा छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved